सन्तोष गौतम/विकल्प
म्याग्दी,पुस २१ गते ।
पशु विकास राज्य मन्त्री नरदेवी पुनले कृषिको विकासका लागि वास्तवीक कृषकसम्म राज्यको सेवा सुबिधा पुग्न जरुरी रहेको बताउनुभएको छ ।
म्याग्दी उद्योग वाणिज्य संघले मंगलबार बेनीमा आयोजना गरेको स्वागत कार्यक्रममा राज्यमन्त्री पुनले वास्तवीक किसानले सरकारले उपलब्ध गराउने सेवा सुबिधा पाउन नसकेको प्रति दुख व्यक्त गर्नुभयो ।
उहाँले किसानलाई सरकारले दिने सुबिधा लुट्ने गैरकिसान पहिचान गरि कारबाही गर्ने चेतावनी दिनुभयो । सहज र सर्वसुलभ रुपमा सरकारले उपलब्ध गराउने सेवा सुबिधा उपभोग गर्न कृषक सचेत बन्नुपर्ने राज्यमन्त्री पुनले बताउनुभयो ।
राज्यमन्त्री पुनले कृषि र पशुजन्य बस्तुमा आत्मनिर्भर नभएसम्म देशको आर्थिक विकास सम्भव नहुने बताउनुभयो । उहाँले बिदेशीने युवायुवतीलाई ब्यवसायीक पशुपालनमा आकर्षित गराउन सके रोजगारी सृजना र आर्थिक विकास गर्न सकिने प्रशस्त सम्भावना रहेको बताउनुभयो ।
सरकारले कृषकले ६ प्रतिशत ब्याजदरको सहुलियतमा ऋण उपलब्ध गराउन निर्देशन दिएपनि बैंकहरुले आनकानी गरेको भन्दै उक्त व्यवस्था कार्यान्वयन गराउने प्रतिवद्धता जनाउनुभयो ।
स्वागत कार्यक्रममा सांसद नवराज शर्माले म्याग्दीका विकासका लागि कृषि, पर्यटन र जलस्रोतलाई प्राथमिकता दिइएको बताउनुभयो । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य प्रमोद श्रेष्ठले पशुपालनलाई ब्यवस्थीत र ब्यवसायीक बनाउन आवश्यक रहेको बताउनुभयो ।
उहाँले म्याग्दीको जलविद्युत विकासका लागि ट्रान्समिसन लाईन र सबस्टेशन निर्माणका लागि पहल गरिदीन राज्यमन्त्री पुनसंग आग्रह गर्नुभयो । म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष जिवनबहादुर विश्वकर्माको अध्यक्षता तथा स्वागत, महासचिव राजेश शाक्यले सञ्चालन गर्नुभएको कार्यक्रमको बरिष्ठ उपाध्यक्ष उत्तम कर्माचार्यको समापन गर्नुभएको थियो ।
यसैबीच पशुविकास राज्यमन्त्री पुनले मंगलबार जिल्ला पशु सेवा कार्यालयको निरिक्षण गरि कार्यालय र मातहतका सेवा केन्द्रहरुबाट प्रवाह हुने सेवा, योजना तथा कार्यक्रमहरुको बारेमा जानकारी लिनुभयो ।
राज्यमन्त्री पुनलाई कार्यालय प्रमुख बरिष्ठ पशु चिकित्कस दयाराम चापागाईले कार्यालयका गतिबिधिका साथै पशुपालन क्षेत्रको समस्या र सम्भावनाका विषयमा जानकारी गराउनुभएको थियो । राज्यमन्त्री पुनले मंगलबारनै म्याग्दीका कार्यालय प्रमुखहरुलाई सेवा प्रवाहमा ढिलासुस्ती नगर्न र सर्वसाधारणलाई दुख नदिन कडा निर्देशन दिनुभएको छ ।