ठाकुरप्रसाद आचार्य/विकल्प
म्याग्दी,पुस १५ गते ।
दैनिक जसो सेवाग्राहीको चाप हुने जिल्ला मालपोत कार्यालय म्याग्दीमा कर्मचारी नहुँदा सेवाग्राही मर्कामा परेका छन् । पछिल्लो एकवर्ष यता मालपोत कार्यालयमा दरबन्दी अनुसारका कर्मचारी नभएपछि सेवा प्रवाहमा समस्या उत्पन्न भएको हो । सिमित जनशक्तिका भरमा सेवाग्राहीको चापलाई थेग्नुपर्ने बाध्यता मालपोतलाई छ ।
कार्यालयका कर्मचारीहरु केही काजमा र सरुवा भई अन्यत्र जिल्लामा खटीगएकाले यतिखेर मालपोत कार्यालय कर्मचारी विहिन भएको जिल्ला मालपोत कार्यालयका प्रमुख अधिकृत अविनाश कुँबरले बताए । उनका अनुसार मालपोत कार्यालयमा छ जना सहयोगी सहित २१ जना कर्मचारीेको दरबन्दी भएकामा अहिले १० जना मात्र कार्यरत छन् । सिमित कर्मचारीका भरमा जिल्लाभरको मालपोत सम्बन्धी काम गर्नुपर्दा समयमै सेवाग्राहीलाई सेवा प्रदान गर्न मुश्किल पर्ने गरेको प्रमुख कुँबरले बताए । जग्गा रजिस्ट्रेशन,नामसारी,धितो रोक्का,कित्ताकाट र जग्गा घटबढ भएको मिलाउने लगायतका मालपोत सम्बन्धी अन्य कार्यहरु कर्मचारी अभावका कारण प्रभावित भएको प्रमुख कुबँरले बताए ।
कार्यालय सहयोगीलाई नायब सुब्बाले गर्ने काम लगाउनुपरेको छ । समयमै काम नहुँदा सेवाग्राहीले गुनासो गर्दछन् । मालपोत प्रमुख कुँबरले भने,‘कर्मचारी अभावमा सेवा प्रवाहमा निकै समस्या आएको छ ।’भूमिसुधार तथा व्यवस्थापन विभागमा पटक पटक कर्मचारी माग गर्दा कुनै सुनुवाई नभएको कुँबरले बताए ।
मालपोत कार्यालयमा यति बेला कार्यालय सहयोगी सहित १० जना कर्मचारी मात्र कार्यरत छन् । कार्यालयका कर्मचारी काज,सरुवा र केही कर्मचारी अनिवार्य अवकास भएपछि मालपोत कर्मचारी विहिन भएको हो । दैनिक जसो सेवाग्राहीको भीड लाग्ने मालपोत कार्यालयमा दरवन्दी अनुसारका कर्मचारी नहुँदा सेवाग्राहीहरुले एकदिनमा हुने काम दुइतिनदिन सम्म कुरेर सक्नुपर्ने बाध्यता भएको बेनी नगरपालिका बगरफाँटका सेवाग्राही सन्तोष बोगटीले बताए । कर्मचारीको अभावका कारण छिटोछरीतो सेवा पाउन सकेका छैनौं । सम्बन्धित निकायले छिट्ै कर्मचारीको पद् पूर्ति गरिदिन बोगटीले अनुरोध गरे ।
कार्यालयमा ६ जनाको नायव सुब्वा स्तरको दरवन्दी भएपनि अहिले एकजान मात्र कार्यरत छन् । छ जनाले गर्ने काम एकजनाले गर्नुपरेको नायव सुव्बा विष्णदत्त शर्माले बताए । ६ जनाले गर्ने काम एकजनाले गर्नुपरेको छ, सुवेदीले भने,‘कार्यालय सहयोगीका भरमा अड्डा चलाएका छौ ।’ समयमै सेवाग्राहीको काम नसके गुनासो आउँछ शर्माले भने,‘सिमित जनशक्तिका भरमा पुरै मालपोत कार्यालय चलाउनु पर्ने बाध्यता छ ।’
एकवर्ष अघि नायव सुब्बास्तरका दुइ कर्मचारी अनिवार्य अवकास भएका र अर्को सुब्वा नारायणमणि खनाल काठमाण्डौ कलङकी मालपोत कार्यालय र अर्को एकजना गोविन्द सुनार मालपोत कार्यालय मुस्ताङमा एकवर्ष अगावै काजमा विभागले पठाएको भएपनि अहिले सम्म नर्फिएको मालपोत प्रमुख कुँबरले बताए । उनका अनुसार अर्को एकजना कर्मचारी पनि एकवर्ष अगावै भैरहवा मालपोतमा काजमा गएको कार्यालयको भनाई छ । काजमा सरुवा भएका कर्मचारीहरु अहिले सम्म हाजिर हुन आएका छैनन ।
कार्यालय साउन महिनाबाट लेखापाल समेत विहिन भएको छ । साउनमा महालेखा परिक्षक कार्यालयले लेखापालको अञ्चल अस्पताल बागलुङमा काज सरुवा गरिदिएपछि मालपोत लेखापाल विहिन भएको हो । पुनरावेदन अदालत बागलुङका लेखापालको म्याग्दी मालपोत कार्यालयमा सरुवा भएपनि उनी पाँच महिना देखि हाजिर हुन यहाँ आएका छैनन् ।
त्यस्तै खरिदार प्रदिप पौडेल पनि चारवर्ष अगाडी शान्ति तथा पूननिर्माण मन्त्रालय काठमाण्डौमा काजमा खटिएपनि अहिले सम्म जिल्ला फर्किएका छैन । भने जिल्ला विकास समिति पर्वतबाट यहाँ सरुवा भएका त्रिलोचन अर्याल पनि अहिले सम्म मालपोत कार्यालयमा हाजिर हुनु आएका छैन प्रमुख कुँबरले भने,‘कर्मचारी सरुवा भएको चिठी आएको छ तर अहिले सम्म उहाँ हाजीर हुन आउनुभएको छैन ।’ साथै कार्यालयमा दुइजना कम्प्युटर अपरेटर,एकजना टाइपिष्ट कर्मचारीको दरवन्दी पनि रिक्त छ । भदौ महिनामा मालपोत कार्यालय बागलुङमा कार्यरत कम्प्युटर अपरेटरको म्याग्दी मालपोतमा सरुवा भएको चिठी अएपनि अहिले सम्म ति कर्मचारी कार्यालयमा हाजिर हुन नआएको प्रमुख कुँबरले बताए ।