पीडामा मलम लगाउँदै बैसरीवासी

सन्तोष गौतम/विकल्प
म्याग्दी,पुस १२ गते । म्याग्दीको बैसरीका पहिरो पीडितहरु सात महिनापछि पुरानै ठाउँमा फर्कन थालेका छन् ।

DSC06355

पिप्ले गाविस ४ राहुपारेको अस्थाई टहरामा बस्दै आएका पीडितहरुले पहिरोले पुरीएर खण्डहर बनेको पुरानै ठाउँमा नयाँ टहरा बनाएर ब्यापार ब्यवसाय सुरु गरेका हुन् । गत जेठ १० गते राती राम्चे ९ काफलडाँडाको पहाडबाट खसेको पहिरोले भगवती २ र राम्चे ९ मा पर्ने २७ घर रहेको बैसरी बजार पुरीएको थियो ।

पहिरोले घरबास गुमाएर विस्थापित भएका पीडितहरुले राहत वापत प्राप्त गरेको नगद र जिन्सी सामाग्री तथा ऋण, धन गरेर पहिरो माथि टहरा बनाउन थालेका छन् । चार परिवारले पुरानै ठाउँमा अस्थाई टहरा बनाएर त्यही बसोबास गर्न थालेका छन् भने अरु पनि सर्ने तयारीमा छन् ।

DSC06353

जसमाया पुन, भिमसेन केसी, भिमबहादुर कार्की र मनबहादुर पुर्जाका परिवार पुरानै ठाउँमा फर्कीएका हुन् । पुर्नवासका लागि उपयुक्त ठाउँ नभेटिएको र अस्थाई टहरामा काम नगरीकन बस्दा दैनिकी पत्यारलाग्दो भएपछि पुरानै ठाउँमा टहरा बनाएर ब्यवसाय सुरु गरेको पीडित भिमसेन केसीले बताए ।

‘सरकारी सहयोगको प्रतिक्षा र दाताको आश गरेर बस्नुभन्दा आफ्नै पौरखले केही गरौ भनेर पुरानै ठाउँ र ब्यवसायमा फर्कीएका हौ’ केसीले भने ‘सरकारले भुकम्प पीडित सरहको राहत र ऋणको ब्यवस्था गरिदिए सजिलो हुन्थ्यो ।’

उनिहरुले बेनी–जोमसोम सडक खण्डको छेउमा टिन र पालले छाएको टहरा बनाएर चिया, खाजा, केरा र किराना सामानको ब्यापार सुरु गरेका छन् । बेनी–जोमसोम सडक अन्तरगत पर्ने बैसरी राम्चे, भगवती र हिस्तान गाविसको केन्द्र हो ।

 

पहिरोपछि विस्थापित बनेका बैसरी बासीलाई अस्थाई बसोबासका लागि राखीएको राहुपारेको टहरामा अहिले ६ परिवार मात्रै बस्दै आएका छन् । पहिरो पीडितहरु अस्थाई टहरो छाडेर सदरमुकाम बेनी र नजिकका गाउँमा गएर बस्न थालेपछि अस्थाई टहरो रित्तीन थालेको पीडित जसमाया पुनले बताए ।

बैसरीका पहिरो पीडितहरुलाई जिल्लाबासी तथा बिदेशमा रहेका प्रवासीहरुबाट करिब ५० लाख रुपैयाँ बराबरको नगद तथा जिन्सी सहयोग प्राप्त भएको छ । सोही सहयोग, पुरानो कमाई र ऋण खोजेर जिविकोपार्जनका लागि ब्यापार ब्यवसाय सुरु गरेको पहिरो पिडित भिमबहादुर कार्कीले बताए ।

उनिहरुले सरकारी निकायबाट रु. दशहजार नगद बाहेक अन्य सहयोग पाएका छैनन् । सात महिनाअघि बैसरीका पहिरो पिडितका लागि भनेर ल्याइएको खाद्यान्न सामाग्री पनि बिहीबार मात्रै वितरण गरिएको थियो ।