सन्तोष गौतम/विकल्प
म्याग्दी,पुस १२ गते ।
अपाङ्गता सम्बन्धि जिल्ला स्तरीय रणनीती योजना तर्जुमा कार्यक्रम आईतबार बेनीमा सम्पन्न भएको छ ।
पलान ईन्टरनेशनल नेपालको सहयोगमा अपाङ्ग संघ म्याग्दीको आयोजनामा भएको कार्यक्रममा म्याग्दीका अपाङ्गता भएका नागरीकहरुको अवस्था र उनिहरुको उत्थानका लागि गर्न सकिने कामहरुको विषयमा छलफल भएको थियो ।
सरोकारवाला सरकारी तथा गैरसरकारी निकाय र राजनितिक दलका प्रतिनिधिहरुको सहभागिता रहेको कार्यक्रममा अपाङ्ग संघ म्याग्दीका कार्यक्रम संयोजक नारायण शर्माले संघले २०६६ देखि गरेका गतिबिधिहरुको बारेमा जानकारी गराउनु भएको थियो ।
उहाँले पछिल्लो समय अपाङ्गता भएका नागरीकको शिक्षा, स्वास्थ्य, सरकारी सेवा सुबिधामा पहुँच स्थापित हुनु तथा अपाङ्गता सम्बन्धि ऐन नियम बन्नु सकारात्मक बताउनुभएको थियो । उहाँका अनुसार सबै अपाङ्गता भएका नागरीकहरुले परिचयपत्र पाउन नसक्नु, सरोकारवालाहरुबीच सहकार्यको कमी तथा लक्षीत वर्गका लागि बिनियोजन हुने बजेट र ऐन नियम कार्यान्वयन हुन नसक्नु चुनौतीको रुपमा देखिएको बताउनुभयो ।
कार्यक्रममा बोल्दै म्याग्दीका प्रमुख जिल्ला अधिकारी सागरमणी पाठकले सरकारी सेवा सुबिधामा अपाङ्गता भएका नागरीकको पहुँच स्थापीत गराउन र सार्वजनीक यातायातमा भाडा छुटको व्यवस्था कार्यान्वयन गर्ने प्रतिवद्धता जनाउनुभयो ।
महिला तथा बालबालीका कार्यालय म्याग्दीका प्रमुख निर्मला शर्माले अपाङ्गता भएका नागरीकहरुलाई दुई किसीमको मात्रै परिचयपत्रको ब्यवस्था हुनुपर्नेमा जोड दिदै सबैले परिचयपत्र पाउने अवस्थाको सृजना गर्न तथा बहिरा स्रोत कक्षा विस्तारको आवश्यकता देखिएको बताउनुभयो ।
अपाङ्ग संघ म्याग्दीका निवर्तमान अध्यक्ष तिर्थकुमारी श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागि राजनितिक दल र संघ संस्थाका प्रतिनिधिहरुले आफ्ना सुझाव व्यक्त गर्नुभएको थियो । उहाँहरुले अपाङ्गता भएका नागरीकको शिक्षा, स्वास्थ्य, आयआर्जन र चेतनामा पहुँच वृद्धी गर्ने किसीमको कार्यक्रम आवश्यक रहेको बताउनुभयो ।