विकल्प /म्याग्दी
पुस ११ गते ।
नेपाली काँग्रेसका शिख र घारका कार्यकर्ताले संविधानको दिगो कार्यान्वयनमा लाग्न नेतृत्वलाई सुझाब दिएका छन् ।
पार्टीको नेतृत्वमा जारी भएको संविधानले सबै वर्ग, समुदाय र क्षेत्रलाई समान तरिकाले अधिकार सुनिश्चित गरेको भन्दै त्यसको कार्यान्वयन बिना अधिकारको उपभोग संभव नभएको उनीहरुको बुझाई छ ।
नेपाली काँग्रेस म्याग्दीले संविधान बुझाउन सुरु गरेको जनताको आगनमा काँग्रेस अभियान अन्र्तगत शिखमा आयोजित कार्यक्रममा सहभागिहरुले यस्तो सुझाब दिएका हुन् ।
शिख गाउँ ईकाई सभापति तिर्थ पूर्जाको सभापतित्वमा भएको कार्यक्रममा बोल्दै नेपाली काँग्रेस जिल्ला कार्य समितिका सल्लाहकार क्या डमबहादुर गर्बुजाले काँग्रेसको नेतृत्वमा उत्कृष्ट संविधान बनेको बताउनुभयो ।
व्यक्तिगत रुपमा इमान्दार भए संविधान र कानुन केहि पनि नचाहिने भन्दै समाजसेवी समेत रहनुभएका गर्बुजाले देशको विकास र संकट समाधान काँग्रेसले मात्रै गर्नसक्ने बताउनुभयो ।
त्यस्तै, कार्यक्रममा नेपाली काँग्रेस म्याग्दीका जिल्ला कार्य समितिका सदस्य कृष्णबहादुर बरुवालले संविधानका अन्तरबस्तुका विषयमा जानकारी गराउँदै संविधान नबुझेर तराई क्षेत्रमा आन्दोलन भएको बताउनुभयो ।
स्थानीय दिनेश तिलिजाले स्वागत गर्नुभएको कार्यक्रममा नेपाली काँग्रेसका घार गाउँ इकाई सभापति रामबहादुर खड्का, दानाका सभापति बेलबहादुर पुर्जा, भुरुङतातोपानीका सभापति अनिल हिराचन, नेपाली काँग्रेसका नेताहरु गणेश गिरि, क्या. रविन्द्र गर्बुजा। मिनबहादुर बुदुजा, क्या बमबहादुर तिलिजा लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । सो अवसरमा महिला संघमा आबद्ध कलाकारहरुले विविध नृत्यहरु पनि प्रस्तुत गरेका थिए । कार्यक्रमको अवसरमा शिख र घार क्षेत्रबाट ५० भन्दा बढी युवाहरु काँग्रेसमा प्रवेश गरेको काँग्रेसले जनाएको छ । गोपाल छन्त्याल