भुरुङ–तातोपानीमा संबिधान सम्बन्धि अनुशिक्षण कार्यक्रम

विकल्प/म्याग्दी
पुस १० गते ।
उत्तरी म्याग्दीको भुरुङ–तातोपानीमा शुक्रबार नेपालको संबिधान २०७२ सम्बन्धि अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

नयाँ संबिधानको बिशेषताको बारेमा गाउँ स्तरमा जानकारी गराउने उद्देश्यले स्थानीय शान्ति समिति म्याग्दीले कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा संबिधानमा भएका नयाँ ब्यवस्थाका साथै संघिय संरचना, शाषकीय स्वरुप लगायतका विषयमा जानकारी गराइएको थियो ।

Bhurung Tatopani LPC (2)गाउँ तहसम्म नयाँ संबिधानको उपलब्धीका बारेमा सन्देश प्रवाह गराई कार्यान्वयनको वातावरण तयार गर्न सघाउ पुराउने उद्देश्यले यसअघि बेनी र दरवाङमा पनि कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा भुरुङ–तातोपानी, नारच्याङ, दाना, दोवा, शिख र घार गाविसमा गठीत शान्ति समितिका सदस्य, स्थानीय शिक्षक, समाजिक कार्यकर्ता, महिला, दलित समुदायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमको नेपाल बार एशोसियसन म्याग्दीका अध्यक्ष डाक्टर भुपेन्द्र खड्का, शान्ति समितिका संयोजक सुर्दशनकुमार श्रेष्ठ र बार एसोशियसनका ठाकुरप्रसाद आचार्यले सहजिकरण गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी सागरमणी पाठकले नयाँ संबिधानबाट जनताले प्राप्त गरेका उपलब्धिहरुको बारेमा घरघर सम्म सन्देश पुराउन जरुरी रहेको बताउनुभयो ।

स्थानीय शान्ति समिति म्याग्दीका संयोजक सुर्दशनकुमार श्रेष्ठको अध्यक्षता, सदस्य देवेन्द्र केसीको स्वागत र सुवास बिकको सञ्चालनमा सम्पन्न कार्यक्रममा पुर्व संयोजक नेत्रबहादुर महतले कार्यक्रमको उद्देश्यका बारेमा जानकारी गराउनुभएको थियो । सन्तोष गौतम