सन्तोष गौतम/विकल्प
म्याग्दी,पुस ९ गते ।
म्याग्दीको मराङलाई बिहीबार साक्षर गाविस घोषणा गरिएको छ । सोही अवसरमा विद्यालय उमेर समूहका सबै बालबालिका विद्यालयको पहुँचमा रहेको गाविस पनि घोषणा गरिएको छ ।
मराङमा रहेका १५ देखि ६० वर्ष उमेर समूहका ९६ प्रतिशत बासिन्दाले अंक, अक्षर चिन्न, पढ्न र लेख्न सक्ने भएपछि गाउँ शिक्षा समितिको आयोजनामा एक सामारोहका बीच साक्षर गाविस घोषणा गरिएको हो ।
लक्षित उमेर समूहका ९५ प्रतिशत बासिन्दा साक्षर बनेको अवस्थामा साक्षर घोषणा गर्न सकिने नितिगत ब्यवस्था रहेको छ । एक हजार ७५३ जनसंख्या रहेको मराङको १५–६० वर्ष उमेर समूहका ९६२ जना मध्य ९२५ जना साक्षर बनेको जनविकास माविका स्रोत व्यक्ति कृष्णलाल सापकोटाले जानकारी दिनुभयो ।
उहाँका अनुसार मराङमा रहेका ४८१ जना विद्यालय उमेर समूहका बालबालिकाहरु विद्यालयमा भर्ना भएकाले कुनै पनि बालबालीका विद्यालय बाहिर नरहेको गाविस पनि घोषणा गरिएको छ । ५ वटा विद्यालय रहेको मराङ एक नगरपालीका तथा ३५ गाविस रहेको म्याग्दीको दोस्रो साक्षर गाविस हो ।
असल छिमेकी नेपालद्धारा सञ्चालित म्याग्दी सामुदायीक विकास परियोजनाको सहयोगमा गाउँ शिक्षा समितिले जनविकास माविको परिसरमा आयोजना गरेको समारोहमा सांसद रेशमबहादुर बानियाले हाल निरक्षर रहेकाहरुलाई पनि साक्षर बनाउने र विद्यालय बाहिर कुनै पनि बालबालीकालाई रहन नदिने प्रतिवद्धता सहित घोषणा गर्नुभएको थियो ।
साक्षर गाविस घोषणा भएको खुसीयालीमा मराङका बासिन्दाहरुले विभिन्न झाँकी, बाजागाजा र नाचगान गरेर खुसीयाली मनाएका छन् । कार्यक्रममा बोल्दै सांसद बानिया लगायतका बत्ताहरुले घोषणालाई ब्यवहारमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।
सांसद बानियाले मराङको पुर्वाधार र सामाजिक विकासमा सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । कार्यक्रममा जिल्ला शिक्षा अधिकारी रामप्रसाद अधिकारीले म्याग्दीका थप २३ वटा गाविसका ९५ प्रतिशत बासिन्दा साक्षर बनेको तथ्याङ्क रहेकाले त्यसलाई अनुगमन गरि आगामी एक वर्षभित्र जिल्लालाई साक्षर घोषणा गर्ने तयारी भएको जानकारी गराउनुभयो ।
कार्यक्रममा नेपाली काँग्रेस म्याग्दीका सचिव मिनबहादुर कार्की, नेकपा एमालेका जिल्ला सचिव बालकृष्ण सुवेदी, एकिकृत नेकपा माओवादी म्याग्दीका अध्यक्ष चन्द्रबहादुर घिमीरे र असल छिमेकी नेपालका क्षेत्रीय संयोजक शंकर सुवेदीले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।
मराङ गाविसका सचिव वुद्धीप्रसाद शर्माको अध्यक्षता र जनविकास माविका प्रअ हरिप्रसाद लामिछानेले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन शिक्षक गोविन्दप्रसाद गौतमले गर्नुभएको थियो ।