सन्तोष गौतम/विकल्प
म्याग्दी,पुस ९ गते । म्याग्दीमा सात महिनादेखि थन्किएको राहत सामाग्री वितरण गर्न सुरु भएको छ ।
बैशाख १२ र २९ गतेको भुकम्प पीडित र बर्खा सिजनमा पहिरो पीडितहरुलाई वितरणका लागि रुपन्देहीको राहत भण्डारण गृहबाट गत जेठ महिनामा ल्याइएको राहत सामाग्री बिहीबारदेखि पीडितलाई वितरण गर्न थालीएको हो ।
समयमै वितरण हुन नसक्दा जिल्ला प्रशासन कार्यालय र जिविसको गोदाममा राखीएको राहतको चामल, दाल लगायतका खाद्य सामाग्री धुन, चिलेसा र किरा लागेर नष्ट हुन थालेको थियो । पीडितहरुलाई राहत सामाग्री वितरण गरि गोदाम खाली गराउन लागीएको प्रमुख जिल्ला अधिकारी सागरमणी पाठकले जानकारी दिनुभयो ।
उहाँका अनुसार बिहीबार बाबियाचौर र अर्मन गाविसका भुकम्प पीडित तथा बैसरीका पहिरो पीडितहरुलाई गोदामको राहत सामाग्री वितरण गरिएको छ । बैसरीमा प्रजिअ पाठक र सहायक प्रजिअ यामबहादुर चोखाल पुगेर राहत सामाग्री वितरण गर्नुभएको थियो ।
भुकम्प पिडित परिचयपत्र पाएका र पहिरो पिडितहरुलाई एक हप्ताभित्र राहत सामाग्री वितरण गरिसक्ने प्रजिअ पाठकले बताउनुभयो । पूर्ण क्षत्ती भएर घरबास गुमाएकाहरुलाई राहत सामाग्री वितरणमा प्राथमिकता दिइने उहाँले बताउनुभयो ।
बर्खा सिजनमा पहिरो पिडितका लागि जडेजा राखिएको राहत सामाग्री बर्खा सकिए लगत्तै सुरु भएको नाकाबन्दीले उत्पन्न ढुवानीको समस्या र भुकम्प पीडित परिचयपत्र वितरणमा भएको ढिलाईका कारण वितरण गर्न सकिएको थिएन् ।
गोदाममा रहेको ५८ बण्डल त्रिपाल, एक हजार ६९० थान बलाङकेट, एक सय ५० थान बेड कभर, ६ सय थान कम्बल, ५० केजीको १३ बोरा दाल, १०२ बोरा चामल, ७ बोरा नुल, ३९ थान डसना र २ बोरा चिनी पिडितलाई वितरण गरिने भएको छ ।
म्याग्दीमा भुकम्पबाट दुई सय घर पूर्ण रुपमा क्षत्ती भएको र एक हजार पाँच सयमा आंशिक क्षत्ती पुगेको तथ्याङ्क छन् । यसैगरी बैसरी, ओखरबोट, मुनाको दर, मुदी लगायतका ठाउँमा तिन सय बढी घरधुरी पहिरो पीडित छन् ।