रानीपौवाका बासिन्दाले विद्यालयका लागि साढे छ लाख जुटाए

सन्तोष गौतम/विकल्प
म्याग्दी,पुस ४ गते । म्याग्दीको पिप्ले गाविस ४ रानीपौवाका बासिन्दाले सामुदायीक विद्यालय सञ्चालनका लागि साढे छ लाख रुपैयाँ जुटाएका छन् ।

रानीपौवाको अमरसिङ प्रा.बिको शैक्षिक तथा भौतिक विकासका लागि तिहारमा देउसी भैलो तथा चन्दा संकलन गरेर छ लाख ४८ हजार २९६ रुपैया जुटाएको स्थानीय बासीन्दा सुमन पौडेलले जानकारी दिनुभयो ।

उक्त नगदबाट अक्षयकोष स्थापना गरि प्राप्त हुने ब्याजबाट शिक्षक थप गर्ने र पुर्वाधार विकासमा खर्च गर्ने लक्ष्य राखिएको छ । कक्षा ५ सम्मको पठनपाठन हुने उक्त विद्यालयमा तिन जना मात्रै शिक्षकहरु रहेकाले पठनपाठनमा समस्या भएको छ ।

संकलीत रकमको ब्याजबाट तलब खुवाउने गरि निजी शिक्षक राखेर पठनपाठनलाई सहज बनाउने योजना रहेको विद्यालयले जनाएको छ । यसैगरी अंग्रेजी माध्यमबाट पनि पढाउने योजना बनाइएको छ ।

तिहारको अवसरमा शिक्षक दुर्गादत्त शर्माको नेतृत्वमा प्रअ मोहदत्त सुवेदी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देव रानामगर, आमा समूहका अध्यक्ष देवी शाही लगायतको सक्रियतामा देउसीभैलो तथा चन्दा संकलन अभियान सञ्चालन भएको थियो ।

९० घरधुरी रहेको रानीपौवा स्थित अमरसिंह प्राबिमा हाल ४५ जना बालबालीका अध्ययनरत छन् । अधिकांश विद्यार्थी दलित तथा विपन्न समुदायका हुन् । सहयोग संकलन अभियानका क्रममा पिप्ले १ घुमाउने ताल निवासी रामबहादुर शाहीले एक लाख १ हजार १०१ रुपैया प्रदान गर्नुभएको छ ।

यसैगरी रानीपौवा घर भई हाल अमेरीका रहनुभएका ध्रुब र अर्जुन शाहीले ५१ ह्जार तथा स्थानीय बासीन्दा जगतबहादुर शाहीले ३० हजार १०५ रुपैयाँ सहयोग गर्नुभएको विद्यालयले जनाएको छ ।