विकल्प न्यूज/बेनी
माघ ४ गते । एउटै खुटले नृत्य गरेर सवैलाई चकित पार्ने रोमा न्यौपाने म्याग्दी महोत्सवमा आइपुगेकी छिन् । महोत्सवको छैटौं दिन उनको प्रस्तुती हुने छ । साथमा नेपाल आइडलका टप १० एवम् राष्ट्रिय कलाकार उल्सन श्रेष्ठ पनि बेनी आइपुगेका छन् ।
को हुन रोमा ?
एउटा खुट्टाले नृत्य गरेर आफ्नो परिचय स्थापित गरेको एउटा नाम हो रोमा न्यौपाने । पछिल्लो समय देश विदेशका कार्यक्रममा एउटा खुट्टाले नृत्य गरेर सबैलाई आश्चर्यचकित पार्ने रोमालाई सानै उमेरमा स्कुल जाँदै गर्दा गाडीले ठक्कर दिएको थियो र उनले एउटा खुट्टा गुमाउनु परेको थियो । सुनसरी जिल्लाको इटहरीमा जन्मिएकी रोमा हाल निकै व्यस्त कलाकारको सूचीमा पर्छिन् ।
उनले आज विहिवार म्याग्देली दर्शकहरुलाई भरपुर मनोरन्जन दिने छिन । उनी नेपालका नपुगेका कमै जिल्ला छन् भने विदेशमा दुई दर्जनभन्दा बढी देश पुगेकी छन् । उनी जहाँ जति देश पुगेर दर्शक नचाएकी छन्, त्यो एक प्रस्तुती नै दर्शकका लागि काफी हुने गरेको छ । अहिले जताततै वाहवाही पाएकी रोमा त्यत्तिकै यहाँसम्म भने आएकी होइनन् ।
आमा सामान्य गृहिणी र ड्राइभर बुवाका ६ सन्तानमध्ये रोमा चौथो सन्तान हुन् । उनका ५ दिदीबहिनी र १ भाइ छन् । बुबा पनि ड्राइभिङ पेशामा भएका कारण र आफ्नो आर्थिक अवस्था कमजोर भएका कारण उनीहरूले दुर्घटनालाई सामान्य रूपमै लिए । आर्थिक अवस्था राम्रो भएको भए र उपचारका लागि भारतको राम्रो अस्पतालमा पुग्न सकेको भए खुट्टा ठीक हुन्थ्यो कि जस्तो रोमालाई लाग्दछ । तर पनि उनलाई अहिलेको आफ्नो अवस्थाबारे कुनै गुनासो छैन ।
रोमाले खुट्टा गुमाएपछि एक वर्ष ओच्छ्यानमै रहनुप¥यो । खुट्टा गुमाएर अपाङ्ग बन्दा पनि उनले परिवारमा नराम्रो वातावरण कहिल्यै सहनुपरेन । खुट्टा गुमाएपछि बाबाआमाले थप माया गरे र पढ्नका लागि थप हौसला प्रदान गरे । घरमा राम्रो वातावरण भए पनि रोमाका लागि स्कुलमा कहिल्यै राम्रो वातावरण बनेन् । साथीहरूले जहिल्यै जिस्काउने, बैशाखी खोसेर लडाइदिने र हाँसी मजाकको पात्र बनाउने गरे । आफूले त्यसलाई चुनौतीका रूपमा लिएको भन्दै रोमा भन्छिन्, ‘त्यसबाट म कहिल्यै विचलित भइन् । त्यसलाई चुनौती सोंचेर थप मेहेनेत गर्दै गएँ । त्यही मेहनतले नै मलाई आज यो ठाउँमा ल्याइपु¥याएको हो ।’
उनलाई हिजो त्यसो गर्ने साथीहरूको स्वभाव अहिले बदलिएको छ । अहिले साथीहरू आफै नजिक हुन खोज्दछन् । उनका कार्यक्रम, नृत्य टिभीमा हेरेर उनलाई फोन, एसएमएस गर्दछन् र भेटन पाए हुन्यो भन्ने सन्देश दिइरहन्छन् । कति साथी त उनी घरमा जाँदा घरमै भेट्न पनि आउँछन् । पहिले नबोल्ने, आँखा तर्ने साथीहरू पनि अहिले आफै बोलाउँदै आउँदा उनलाई आनन्द लाग्दछ ।
गाडी दुर्घटना भएर घरमा बसेको समयमा उनको मनमा विभिन्न कुराहरू खेल्दथे । फिल्म खेल्न पाए हुन्थ्यो, नृत्य गर्न पाए हुन्थ्यो भन्ने लाग्दथ्यो । उनले बारम्बार आफूले फिल्म खेलेको, नृत्य गरेको कल्पना गर्थिन् । त्यसका लागि उनले घरबाटै प्रयास थालिन् । दुर्घटनाको एक वर्षसम्म ‘बेड रेस्ट’ मा बसेकी रोमाले त्यो बेला घर कुरुवाजस्ती थिइन् । उनले बाबाआमा काममा र दिदीबहिनी र भाइ स्कुल गएको समयमा घरमै नृत्य गर्ने प्रयास गर्न थालिन् । सुरुसुरुमा उनलाई निकै गा¥हो पनि भयो । कति पटक लडिन् त्यसको कुनै लेखाजोखा छैन । तर पनि उनले हिम्मत हारिनन् र निरन्तर प्रयास गर्दै गइन् । विद्यालयमा हुने कार्यक्रमहरूबाट उनले सार्वजनिक नृत्ययात्राको सुरुवात गरेकी हुन् ।
उहिले उनको नृत्ययात्रा स्वदेशमा मात्रै नभएर विदेशका स्टेजमासमेत पुगिसकेको छ । अहिले आफूले नृत्यका क्षेत्रमा राम्रो सफलता पाएको र फिल्म खेल्ने सपना आफ्नै प्रयास र लगनशीलतामा पूरा गरेको बताउने रोमा भन्दछिन्, ‘सानोमा जुन सपना देख्थेँ, जुन कल्पना गर्दथेँ त्यो अहिले आएर पूरा भएको छ । यो सपना पूरा गर्नु पनि मेरो लागि ठूलो सफलता हो ।’
रोमाले केही सिरियलहरूमा पनि अभिनय गरेकी छिन् । २०६० बाट विभिन्न कार्यक्रममा नृत्य गर्न थालेकी उनले अहिलेसम्म कतार, मलेसिया, दुबई, अस्टे«लियालगायत विश्वका १६ वटा देशमा पुगेर रोमाले आफ्नो नृत्यकला देखाइसकेकी छन् ।
देशमा पनि हुने विभिन्न महोत्सवदेखि लिएर स्कुलको वार्षिकोत्सवसम्मका कार्यक्रममा उनलाई नृत्यका लागि निम्तो आउने गरेको छ । विदेशका कार्यक्रमका लागि निश्चित रकम माग्ने गरे पनि स्वदेशमा हुने कार्यक्रमका लागि भने आयोजकले जति दिन्छन् त्यतिमा चित्त बुझाउने रोमा बताउँछिन् । उनले भनिन्, –‘‘पैसा मात्रै ठूलो कुरा होइन । कार्यक्रमहरूमा मैले आफ्नो कला देखाउने अवसर पनि पाएकी छु, त्यसैले यति पारिश्रमिक दिनुपर्छ भनेर कुनै बार्गेनिङ गर्दिन ।’
शारीरिक रूपले अपाङ्ग भए पनि आफ्नो कलाले आत्मनिर्भर बनेकी रोमाले जीवनसाथी पनि छन् । उनले प्रेम विवाह गरेकी हुन् । प्रेमप्रसंगको करा आउँदा उनी आफूले थुप्रै पार्कमा डेटिङ गएको र ‘भ्यालेन्टाइन डे’ को विशेष सम्झना आउने बताइन् । ‘पहिले मिल्ने साथी थियौं, बिस्तारै प्रेम हुँदै गयो र विवाह गरेर श्रीमानश्रीमती बन्यौं’, उनले भनिन् । श्रीमानले आफ्नो काममा पूर्ण रूपमा सहयोग गरेको उनी बताउँछिन् ।
सपाङ्ग नै भएको भए आफू अहिले कुनै बिजनेस लाइनमा हुन्थे भन्ने उनलाई लाग्दछ । उनको रूचीको क्षेत्र पनि बिजनेस नै हो । अहिले पनि उनी यही क्षेत्रमा काम गर्ने सोंच बनाउँदैछिन् । नृत्य आफ्नो कर्म भए पनि उनी यसबाट जीविका चलाउन सकिन्छ भन्ने नलागेको बताउँछिन् ।
‘रहरले यो क्षेत्रमा आए अहिले यसैमा आफ्नो परिचय बनेको छ’ उनले भनिन्, ‘अझै केही समय यही क्षेत्रमा लाग्दछु ।’ नृत्यका अलवा फिल्म, टेलफिल्म र म्युजिक भिडियोमा आफ्नो कला प्रस्तुत गरिसकेकी छन् । उनले ठूलो पर्दाको फिल्म ‘मैदान’, सानो पर्दाको मदनबहादुर हरिबहादुरलगायतका फिल्मका साथमा करिब आधा दर्जनजति म्युजिक भिडियो खेलेकी छन् । केही सिरियलहरूमा पनि अभिनय गरिसकेकी छन् ।
हरेक व्यक्तिभित्र फरक क्षमता हुन्छ भन्दै अपाङ्गता भएका व्यक्तिलाई पनि परिवारले, समाजले उचित किसिमको वातावरण प्रदान गर्ने हो भने उनीहरूले पनि केही गर्न सक्दछन भन्ने उनलाई लाग्दछ । अपाङ्गता भएका व्यक्ति पनि आफू अपाङ्ग भए भनेर खुम्चिएर नबसी आफूमा भएको प्रतिभालाई निकाल्नु पर्ने सन्देश उनको छ ।
उनले आयोजकहरूले जसरी आफ्नो प्रस्तुती देखेर बोलाउँछन्, त्यसैगरी व्यवहार र बानी पनि लागू गर्न आग्रह गरेकी छन् । मिहेनत र संघर्ष गर्ने हो भने असफल के छ र रु, उनले प्रश्न गर्दै आफ्ना संघर्षका वेदना थप सुनाउन खोजिन् र भनिन्, –‘मलाई त यस्तो लाग्छ असम्भव यो संसारमा केही छ जस्तो लागेन, तर निरन्तरको मिहेनत र लगाव भने चाहिन्छ नै ।’ दैनिक पत्र अनलाइनको सहयोगमा