कागवेनी–मुक्तिनाथ सडक खण्ड कालोपत्रे सुरु

पुस ४,

हिमालपारीको जिल्ला मुस्ताङको कागवेनी–मुक्तिनाथ सडक खण्डमा कालोपत्रेको कार्य सुरु भएको छ । मुस्ताङ जिल्लाकै पहिलो कालोपत्रे सडकको रुपमा कागवेनीदेखि मुक्तिनाथ जोडने सात किलोमिटरको सडक कालोपत्रे हुन लागेको हो ।

मुस्ताङ जिल्लामा सञ्चालित ग्रामीण पुर्ननिर्माण तथा पुनःस्थापना आयोजनाको सहयोगमा पहिलोपटक सडक कालोपत्रे हुन लागेको हो । जिल्ला प्राविधिक कार्यालयका प्रमुख जिल्ला इन्जिनियर रविन्द्र तिवारीका अनुसार आगामी २०७४ असार मसान्तसम्म सम्पन्न गर्ने गरी निर्माण अगाडि बढेको छ ।

जिल्ला प्राविधिक कार्यालय मुस्ताङले दिएको जानकारीअनुसार रु १० करोड ८६ लाखको लागतमा उक्त सडक खण्ड कालोपत्रे हुन लागेको हो । जिल्लामा झण्डै २५० किलोमिटर सडक सञ्जाल भएपनि हालसम्म कुनै पनि सडक खण्डमा कालोपत्रे भएको छैन ।

जिल्लाको सदरमुकाम जोडने वेनी जोमसोम सडक खण्डसमेत हालसम्म कालोपत्र भएको छैन । सडक खण्ड कालोपत्रे नहुँदा सडक मार्ग हुँदै मुक्तिनाथ जाने तीर्थयात्रुले झन्झट बेहोर्दै आएका छन् ।
मुक्तिनाथ दर्शन गर्नका लागि नेपालका अधिकांश जिल्लाका साथै भारतबाट समेत वर्षेनी हजारौँ भक्तजन आउने गरेका छन् । सडक कालोपत्रे भएपछि मुक्तिनाथ आउने धार्मिक पर्यटकको सङ्ख्यामा थप वृद्धि हुने तिवारीको भनाइ छ ।

चिसो मौसममा हिउँ पर्ने र वर्षातको समयमा म्याग्दी सडक खण्ड अवरुद्ध हुने भएका कारण कालोपत्रे हुन समय लाग्नेछ । सडक कालोपत्रे भएपछि मुक्तिनाथ जाने तीर्थालुको यात्रा भने सहज हुनेछ । रासस