धौलागिरीमा ३२ हजार लिटर पेट्रोल भित्रीयो,कालोबजारीहरु निराश

सन्तोष गौतम/विकल्प
म्याग्दी,पुस २ गते ।
धौलागिरीका तिन जिल्लाको लागि एक महिनापछि ३२ हजार लिटर पेट्रोल भित्रीएको छ । पेट्रोल भित्रिएपछि अवैध तरिकाले जिल्लामा इन्धन ल्याई कालोबजारी गरेर पैसा कुम्लाउने कालोबजारीहरुमा भने निराशा छाएको छ ।

म्याग्दी, बागलुङ र पर्वत जिल्लाका ट्याक्सी, कार र मोटरसाईकलका लागि ठूलो मात्रामा पेट्रोल भित्रीएपछि राहत मिल्ने अपेक्षा गरिएको छ । गत कात्तिकको अन्तिम सातादेखि यस क्षेत्रमा डिजेल र पेट्रोल आयात नहुँदा सर्वसाधारणले कालोबजारीको महँगो ईन्धन किन्नुपर्ने बाध्यता थियो ।

पर्याप्त मात्रामा डिजेल, पेट्रोल भित्रीएकाले सर्वसाधारणलाई राहत मिल्ने पेट्रोल पम्प सञ्चालकहरुले बताएका छन् । म्याग्दीमा ९ हजार लिटर पेट्रोल र १८ हजार लिटर डिजेल भित्रीएपछि वितरणमा पनि सहज भएको मालीका आयल स्टोर्सका सञ्चालक सुर्यप्रसाद मर्सानीले बताउनुभयो ।

DSC05627

उहाँका अनुसार स्थानीय प्रशासनसंग समन्वय गरेर कालीपुलको कालीगण्डकी आयल स्टोर्सबाट जोर र मालीका आयल स्टोर्सबाट बिजोर नम्बर भएका मोटर साईकललाई बिहीबार पाँच सय रुपैया बराबरको ४.७ लिटर पेट्रोल वितरण गरिएको छ ।

पम्पमा पेट्रोल नसकीदासम्म नियमित रुपमा वितरण गरिने मर्सानीले बताउनुभयो । बेनी नगरपालीका कार्यालयले जारी गरेको उपभोक्ता परिचयपत्रको आधारमा उपभोक्ताको अभिलेख राखेर सुरक्षा निकायको निगरानीमा पेट्रोल वितरण गर्ने व्यस्था मिलाइएको छ । म्याग्दीमा तिन, पर्वतमा चार र बागलुङ जिल्लामा तिन वटा पेट्रोल पम्प सञ्चालनमा रहेका छन् ।
हिमाली जिल्ला मुस्ताङका सवारी धनीहरुले पहिलेनै जगेडा राखेकाले ईन्धन अभावको प्रभाव परेको छैन् । सिमा नाकामा गत असोजदेखिको नाकाबन्दी र अवरोध खुकुलो हुदै गएपछि ईन्धन आपूर्ती सहज बन्न थालेको छ । यसैबीच म्याग्दीमा थप पाँच सय सिलीण्डर खाना पकाउने ग्याँस ल्याउने तयारी भएको छ ।