सन्तोष गौतम/विकल्प
म्याग्दी, पुष २ गते ।
म्याग्दीमा दुर्घटना न्युनीकरणका लागि प्रहरीले सवारी चालकहरुलाई ट्राफिक कक्षा सुरु गरेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीले जिल्लामा सञ्चालन हुने सार्वजनीक सवारी साधनका चालकहरुलाई दुर्घटना न्युननीकरण र सवारी नियम पालनाका लागि चनचेतना अभिवृद्धी गर्ने उद्देश्यले कक्षा सञ्चालन गरेको हो ।
अभियानको पहिलो दिन बिहीबार म्याग्दी ट्याक्सी ब्यवसायी समिति अन्तरगतका चालकहरुलाई ट्राफिक नियम पालना र दुर्घटना न्युनीकरण सम्बन्धि प्रशिक्षण दिइएको छ । उक्त कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी प्रमुख चन्द्रबहादुर क्षेत्रीले चालकको लापरबाहीले दुर्घटना बढेकाले सावधानी अपनाउन आग्रह गर्नुभएको थियो ।
उहाँले सवारीका पाटपुर्जाको नियमित परिक्षण गराउन, क्षमत्ता भन्दा बढी यात्रु नबोक्न, यात्रुलाई सभ्य ब्यवहार गर्न, तिब्र गतिमा सवारी नचलाउन चालकहरुलाई अनुरोध गर्नुभयो । कार्यक्रममा म्याग्दीमा दुर्घटनाको अवस्था र न्युनीकरणका लागि अपनाउनुपर्ने साबधानीको उपायका बारेमा छलफल समेत भएको थियो ।
प्रशिक्षणमा सहभागी सवारी चालकहरुले बेनी बजारभित्र पैदलयात्रीले सडक नियम पालना नगरी बिच बाटोबाट हिड्दा जोखिम बढेको गुनासो गरेका थिए । म्याग्दी ट्याक्सी ब्यवसायी समितिका उपाध्यक्ष टिका पुर्जाको अध्यक्षता, महासचिव भोजबहादुर थापाको सञ्चालन र सल्लाहकार बुद्धी गुरुङको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो । यस्तो कार्यक्रम अन्य समिति अन्तरगतका सवारी चालकहरुका लागि पनि गरिने ट्राफिक प्रहरीले जनाएको छ ।