सन्तोष गौतम
तस्विर प्रताप वानियाँ / विकल्प
बेनी, पुस १ गते ।
म्याग्दीको बेनीमा रहेको न्यु वेष्ट प्वाईन्ट आवाशिय उच्च माविको २३ औ वार्षिक उत्सव तथा अभिभावक दिवस बुधबार सम्पन्न भएको छ ।
विद्यालयले वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा खेलकुद, सम्मान, पुरस्कार वितरण र सांस्कृतीक कार्यक्रमका साथै औपचारीक समारोहको आयोजना गरेको थियो ।
उक्त समारोहमा मन्तव्य व्यक्त गर्दै प्रमुख जिल्ला अधिकारी सागरमणी पाठक र जिल्ला शिक्षा अधिकारी रामप्रसाद अधिकारीले विद्यार्थीको सिकाई उपलब्धिले शिक्षाको स्तर मापन गर्ने बताउनुभयो । उहाँहरुले विद्यार्थीले धेरै अंक प्राप्त गर्दैमा उत्कृष्ट शिक्षा नहुने भन्दै शैक्षिक गुणस्तर वृद्धीमा अभिभावकको पनि महत्वपूर्ण भुमिका रहने बताउनुभयो ।
कार्यक्रममा प्याबसन म्याग्दीका अध्यक्ष राजकुमार थापा, बेनी सामुदायीक उच्च माविका प्राचार्य दिपक श्रेष्ठ, शिक्षक अभिभावक संघका अध्यक्ष दिलकुमार श्रेष्ठ, अभिभावक नैना पुन, विद्यार्थी पबिता रोका, सुसिता तिलिजा र सिद्धान्त श्रेष्ठ लगायतले मन्तब्य व्यक्त गर्नुभएको थियो ।
न्यु वेष्ट प्वाईन्ट एजुकेशन फाउण्डेशनका अध्यक्ष सुवासकुमार श्रेष्ठको अध्यक्षता, शिक्षक कृष्ण जिसीको सञ्चालन र भ्वाईस प्रिन्सीपल सरोज लकान्द्रीको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा प्राचार्य गंगाप्रसाद खतिवडाले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रमको अवसरमा उत्कृष्ट राष्ट्रिय पुरस्कारबाट सम्मानित बेनी सामुदायिक उच्च माविका प्राचार्य दिपक श्रेष्ठ र अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने खेलाडी बिना घर्तीमगरलाई विशेष सम्मान गरिएको थियो ।
सोही कार्यक्रममा विद्यालयले दिर्घ सेवा गरेको भन्दै शिक्षकद्वय देवी जिसी, बिमला पुन र आया अमृता शाक्यलाई पनि सम्मान गरिएको थियो ।
यसैगरी विद्यालयको पूर्व प्राथमिक तहदेखि स्नातक तहसम्म विभिन्न विधामा उत्कृष्ट अवार्ड प्राप्त गर्ने, एसएलसी र वार्षिक परीक्षामा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थी, उनीहरुका अभिभावक र शिक्षकहरुलाई पुरस्कृत तथा अभिनन्दन गरिएको विद्यालयले जनाएको छ ।
विद्यालयका विद्यार्थीहरुले कार्यक्रममा गित तथा नृत्य पनि प्रस्तुत गरेका थिए ।