सन्तोष गौतम/विकल्प
म्याग्दी, मंसीर २९ गते ।
म्याद नाघेका औषधि नष्ट गर्दा गलत प्रक्रिया अपनाएको जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीले गल्ती स्वीकार गर्दै आगामी दिनमा कमजोरी नदोहोराउने प्रतिवद्धता जनाएपछि औषधि जलाउँदा भएको लापरबाही प्रकरण टुङ्गीएको छ ।
मंसिर १४ गते जिल्ला अस्पताल परिसरमा स्वास्थ्य कार्यालयले औषधि जलाउँदा निस्कीएको मुस्लोले बजारबासीको स्वास्थ्यमा असर परेको भन्दै दोषीलाई कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा परेको उजुरीको सम्बन्धमा मंगलबार दुवै पक्षबीच छलफल भएको थियो ।
प्रमुख जिल्ला अधिकारी सागरमणी पाठकको कार्यकक्षमा भएको छलफलका क्रममा स्वास्थ्य कार्यालयले आगामी दिनमा यस्तो गल्ती नदोहोराउने र औषधि नष्ट गर्दा सावधानी अपनाउने प्रतिवद्धता जनाएपछि दुवै पक्षबीच सहमती भएको सहायक प्रजिअ यामबहादुर चोखालले बताउनुभयो ।
छलफलमा जिल्ला स्वास्थ्य प्रमुख रोशन न्यौपानेले आगामी दिनमा औषधि नष्ट गर्दा साबधानी अपनाउने प्रतिवद्धता जनाउनुभएको थियो । उहाँले औषधी जलाएको विषयमा बजारबासीले स्वास्थ्यका कर्मचारीहरुलाई दुब्र्यवहार भएको घटनाप्रति दुख पनि व्यक्त गर्नुभएको थियो ।
जिल्लाका आम सर्वसाधारणको स्वास्थ्य सेवाको हित गर्नुपर्ने संस्थाले तिनै नागरीकहरुको स्वास्थ्यमा प्रतिकुल असर पर्नेगरी लापरबाही गरेको भन्दै बेनीका हिक्मत श्रेष्ठ, अमर खत्री र गणेश छन्त्यालले प्रशासनमा मंसिर १५ गते उजुरी दर्ता गराउनुभएको थियो ।