ठाकुरप्रसाद आचार्य /विकल्प
म्याग्दी, मंसीर २९ गते । म्याग्दीमा केही वर्षअघिसम्म नामै नसुनेको फल भुईंस्याउ (ग्राउण्ड एप्पल) को किसानले खेती गर्न थालेका छन् । खास गरी जिल्लाका पर्यटकीय क्षेत्रहरुमा विदेशी पर्यटकहरुले मनपार्ने भएकाले भुईस्याउको खेती तर्फ किसानहरु आकर्षीत भएका हुन ।
झट्ट हेर्दा सखरखण्ड जस्तै देखिने ग्राउण्ड एप्पलले विशेष गरी मधुमेहका रोगीहरुलाई फाइदाजनक हुने, रगत सफा गर्ने तथा कब्जियत हटाउने, शरिरमा पानीको मात्रा बढाउनुका साथै मिर्गौला र कलेजो समेत सफा राख्ने काम गर्ने बताइन्छ ।
एउटै झ्याङ्मा १५ किलोग्रामसम्म फल्ने र एउटै बोटबाट सयौं विरूवा उत्पादन गर्न सकिने हिस्तान ४ टिकोटका किसान धनवहादुर तिलिजाले बताउनुभयो । ग्राउन्ड एप्पलको फाइदावारे धेरैलाई जानकारी नहुँदा बजार पाउन मुश्किल भएको तिलिजाले बताउनुभयो । यो फल उपभोक्ताहरुमा अझै परिचित हुन सकेको छैन,उहाँले भन्नुभयो,विदेशी पर्यटकले खोजी खोजी खान्छन् ।’ गाउँमा प्रतिकेजी पचास रुपियाँमा विक्रि हुने गरेको छ,‘तिलिजाले भन्नुभयो‘बजार व्यवस्थापन गर्न सकेमा किसानले राम्रो फाइदा लिन सक्छन् ।’ पोखरा र काठमाण्डौका ठूला ठूला होटलहरुमा राम्रो विक्रि हुने सुनेको छु ,किसान तिलिजाले भन्नुभयो तर त्यहाँ पु¥याउन नसक्दा मूल्य पाउन सकिएको छैन ।’
जिल्लाको राम्चे,शिख र हिस्तान,दरवाङ, गाविसका किसानहरुले भुई स्याउको खेति गर्न थालेको जिल्ला कृषि विकास कार्यालय म्याग्दीका प्रमुख श्याम प्रसाद रिजालले बताउनुभयो । जिल्लाका केही भेगहरुमा खेती गर्न थालेपनि उत्पादित वस्तुले बजार पाउँन नसक्दा किसानहरुले व्यवसायिक रुपमा खेती गर्न नसकेको प्रमुख रिजालले बताउनुभयो ।
करीब एक हजार दुई सय उचाईभन्दा माथि भुईंस्याउको खेति राम्रो हुने प्रमुख रिजालले बताउनुभयो । म्याग्दीमा दुइचार वर्ष अघि देखि भुइस्याउँको खेति गर्न थालीएको भएपनि व्यवसायिक हुन नसकेको उहाँले बताउनुभयो । चिसो ठाउँमा यसको उत्पादन राम्रो हुन्छ । यसको स्वाद स्याउको जस्तो हुने र माटोमुनि फल्ने भएकाले यसलाई ग्राउण्ड एप्पल भनिएको हो । फागुन चैतमा लगाएर मंसीरमा खान उपयुक्त हुने यो फलमा ८० प्रतिशत पानीको मात्रा हुन्छ ।
किसानहरुले उत्पादन गरेपनि उपभोक्तामा खाने वानिको विकास नभएकाले यसले बजार पाउन सकेको छैन् प्रमुख रिजालले भन्नुभयो, उत्पादीत वस्तुले बजार नपाउँदा किसानहरुले यो फलबाट जुस, वाइन बनाउने गरेका छन् ।’ यो फल खनिसकेर केही दिन ओइलाउँदा बैजनी रङको हुने र त्यसपछि खाँदा स्वादिष्ट हुन्छ । यसलाई काँचै बोक्रा ताछेर खाने गरिन्छ । यो फलमा चिनीको मात्रा कम हुने भएकाले विशेष गरी मधुमेहका रोगी र तौल कम गर्न चाहनेका लागि लाभदायक मानिएको स्वास्थ्यकर्मीहरु बताउँछन् ।