मल्लाजको बगरफाँटका बासिन्दा सडक मर्मतका लागि श्रमदानमा जुटे

सन्तोष गौतम/विकल्प
म्याग्दी,मङ्सिर २६ गते ।
सात महिनादेखि सडक सुबिधाबाट बञ्चित म्याग्दी सदरमुकाम बेनीको कालीपुलसंग सिमाना जोडिएको पर्वतको मल्लाज बगरफाँटका बासिन्दाहरु श्रमदान गरेर अवरुद्ध सडक खुलाउन जुटेका छन् ।

कालीगण्डकीमा आएको बाढीले पर्वत बेनी हुदै बगरफाँट जोड्ने सडक कटान गरेपछि माझफाँट गाविसको ७ र ८ नम्बर वडामा पर्ने बगरफाँटका दुई सय घरधुरी सडक सुबिधाबाट बञ्चित भएका छन् ।

Road Marmat Bhayana

२०७२ जेठ १० गते बैसरीमा पहिरोले थुनिएको कालीगण्डकी खुल्ने क्रममा आएको बाढीले कालीपुल पारी करिब तिस मिटर सडक कटान गरेर बगाएको थियो । पहराको फेदीमा तटबन्द र पर्खाल लगाएर बनाइएको सडक कटान भएपछि सवारी साधन आवत जावत बन्द भएको छ ।

सरकारी निकायबाट सहयोग पाउन नसकेपछि बगरफाँटबासी आफै श्रमदानमा जुटेका स्थानीय मुकुन्द बैरागीले बताउनुभयो । प्रत्येक घरका एक जनाको दरले तिन दिन श्रमदान गरिसकेका छन् । थप श्रमदान गर्ने उनिहरुको योजना छ ।

सडक मर्मतमा ढिलाई हुँदा बिरामीलाई अस्पताल लैजान, निर्माण र दैनिक उपभोग्य सामाग्री ढुवानी तथा आवत जावत गर्न कठिनाई भएको बगरफाँटका बासिन्दा हिराबहादुर बरुवालले बताउनुभयो । बाँसखर्कका कृषकलाई सवारी साधान मार्फत ढुवानी गरेर सुन्तला बजारमा पु¥याउन पनि समस्या भएको छ ।