नेपाली जनताको मानो खाएर भारतको गाना गाउनेलाई छाड्दैनौं – पहारी

IMG_0287

प्रताप बानियाँ /विकल्प
म्याग्दी, मंसिर २५ गते ।
युवा संघ नेपालका अध्यक्ष राजीव पहारीले नेपाली जनताले दिएको मानो खाएर भारतको गाना गाउनेहरुलाई त्यसै नछाड्ने चेतावनी दिएका छन् । युवा संघ म्याग्दीको १०औं जिल्ला सम्मेलनको बेनीमा उद्घाटन गर्दै उनले नेपालको विरुद्धमा षड्यन्त्र गर्नेलाई युवा संघले हिसाबकिताब गर्ने बताएका हुन् ।
उनले नेपालको कुर्सीमा बसेर भारतको चाप्लुसी गर्ने, नेपालीको भावनामाथि खेलवाड गर्नेका विरुद्ध युवा संघले कडा आन्दोलन गर्ने भन्दै लैनचौरको भारतीय दूतावासको भत्ता खाएर, भारतको एजेण्ट भएर नेपालको खेलो गर्ने कसैलाई अधिकार नभएको बताए । अध्यक्ष पहारीले नेपाल हिँजो पनि सार्वभौमसत्तासम्पन्न भएको, आज पनि भएको र भोली पनि सार्वभौम मूलुक हुने बताउँदै हस्तक्षेप गर्ने कसैलाई पनि अधिकार नभएको बताएका थिए ।

IMG_0258
युवा संघले अब तराई मधेशकेन्द्रीत कार्यक्रममार्फत जनतालाई संविधानको बारेमा बुझाउने जानकारी दिँदै उनले डेढ महिनाभित्र देश निर्माणको भिजन ल्याउने स्पष्ट पारेका छन् । उनले सबै नेपाली आत्मनिर्भर बन्नुपर्ने बताउँदै पेट्रोल र डिजेलको विकल्पमा सवारीसाधनमा सोलार इनर्जी जडान गर्नुपर्ने धारणा राखे । भारतीय नरेन्द्र मोदी कालीदास भएको संज्ञा दिँदै उनले नेपालमा भएका संस्थागत परिवर्तनको भारतले आत्मसाथ गर्न नसकेको बताए ।
नेता पहारीले बेरोजगार युवालाई भत्ताको व्यवस्था गर्नुपर्ने संवैधानिक ग्यारेण्टी युवा संघको पहलमा भएको बताएका छन् । उनले युवाहरुलाई मनोरञ्जन, स्वास्थ्यलगायतका क्षेत्रमा ५० प्रतिशत छुट दिनुपर्ने मागसहित युवा संघ प्रधानमन्त्री र खेलकुदमन्त्रीसमक्ष डेलिगेसन गएको हुँदा त्यो माग पुरा नभए आन्दोलन गर्ने बताए । उनले काँग्रेसप्रति लक्षित गर्दै समयमा आफ्नो जनवर्गीय संघसङ्गठनको अधिवेशन गर्न नसक्नेले जय नेपाल भन्दै प्रजातन्त्रको वकालत गर्ने गरेको आरोप समेत लगाएका छन् ।
सोही अधिवेशनलाई सम्बोधन गर्दै नेकपा एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले भारतले नाकाबन्दी गरेर नेपाली जनतालाई दुःख दिइरहेको र नेपाललाई खण्डित गर्न चाहेको बताए । उनले २ देशबीचको कूटनीतिक सम्बन्धलाई सुमधुर बनाउनुपर्नेमा भारतीय दूतावासले गलत काम गरिरहेको बताउँदै नाकाबन्दीको सर्वत्र विरोध गर्नुपर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा बोल्दै व्यवस्थापिका संसदका सांसदद्वय नवराज शर्मा र नरदेवी पुनले युवा संघलाई बिसाई फेर्ने र थकाई मारेर नयाँ उर्जा भर्ने चौतारीका रुपमा विकास गर्नुपर्नेमा जोड दिए । सांसदद्वयले युवा संघका युवाहरु असल युवा हुनुपर्ने बताउँदै सङ्गठनमा काम गरेका सक्षम र क्रियाशिल युवा नेतृत्व तहमा आउनुपर्ने बताएका थिए ।
युवा संघका केन्द्रीय सचिवद्वय माधव बाँस्तोला र बचन सिंहले युवा संघले नाकाबन्दीकाविरुद्ध राष्ट्रियताको पक्षमा अभियान चलाउने बताउँदै तराईमा आन्दोलन गरेर देश र नेपाली जनतालाई दुःख दिने राजेन्द्र महतो, उपेन्द्र यादव, महन्थ ठाकुरलगायतका मधेशका मसिहालाई राज्यविरुद्ध अपराधको मुद्दा लगाएर जेल हाल्नुपर्ने धारणा राखे ।
कार्यक्रममा युवा संघ नेपालका केन्द्रीय सचिवालय सदस्य एवं विदेश विभाग प्रमुख सन्तोष रावल, सचिवालय सदस्य कृष्णकुमार विश्वकर्मा, शिव पौडेल, धौलागिरि अञ्चल कमिटी अध्यक्ष नारायण जिसी, पर्वत जिल्ला अध्यक्ष बिमल लामिछाने र अनेरास्ववियु म्याग्दीका अध्यक्ष प्रकाश पौडेलले सङ्गठनमा क्रियाशिल र जुझारु युवालाई ल्याउनुपर्ने भन्दै जिल्ला कमिटी सर्वसम्मत चयन गर्नुपर्नेमा जोड दिएका थिए ।
सम्मेलन उद्घाटनसत्रको बिचबिचमा कलाकारहरुद्वारा विभिन्न सङ्गितमय नृत्य र हाँस्यव्यङ्ग्य प्रस्तुत गरिएको थियो । कार्यक्रम सम्मलेन आयोजक कमिटीका संयोजक दिनेश केसीको अध्यक्षता, सहसंयोजक लेखनाथ शर्माको स्वागत र सदस्य राजाराम बरुवालको सञ्चालनमा सम्पन्न भएको थियो । सम्मेलनको बन्दसत्रले नयाँ जिल्ला कमिटी चयन गर्ने बताइएको छ ।