मुठ्ठीदान अभियानबाट दृष्टिवीहीन र हिंसा पीडीतलाई सहयोग

सन्तोष गौतम/विकल्प
म्याग्दी मंसीर २४ गते । बेनीमा महिलाहरुले मुठ्ठीदान अभियानबाट खाद्यान्न संकलन गरेर बिहीबार दृष्टिवीहीन परिवार र हिंसा पीडीत महिलालाई सहयोग गरेका छन् ।

दिदीबहिनी बचत तथा ऋण सहकारी संस्थाको नेतृत्वमा संकलीत खाद्यान्न अन्तराष्ट्रिय मानव अधिकार दिवस तथा महिला हिंसा विरुद्धको १६ दिने अभियानको समापनको अवसरमा वितरण गरिएको हो ।

ताकम ५ की हिंसापीडित रिता थापा तथा बेनी नगरपालीका ४ बगरफाँटका लिलाकुमारी र चिजाकुमारी कार्कीलाई चामल, तेल, चिनी, नुन, दाल लगायतका खाद्यान्न उपलब्ध गराइएको छ ।

DSC05423(1)

२५ पाथी चामल, १० लिटर तेल, दुई प्याकेट चियापत्ति र दशदश केजी चिनी, नुन र दाल सहयोग गरिएको संस्थाका अध्यक्ष जमुना आचार्यले जानकारी दिनुभयो । कार्की दिदीबहिनीलाई दुई वटा ज्याकेट र खास्टो पनि सहयोग गरिएको छ ।

घरेलु हिंसामा परेकी थापा बेनीमा बसेर छोराछोरीलाई पढाउदै आउनुभएको छ भने दृष्टिविहीन रहेका तिन सदस्यीय कार्की परिवार मागेर जिविकोपार्जन गर्दै आएका छन् । संस्थाका सञ्चालक, कर्मचारी, सेयर सदस्य र बजारबासीहरुबाट मुठ्ठीदान अभियान मार्फत खाद्यान्न संकलन गरिएको थियो ।

महिलाहरुको मात्र संलग्नता र ब्यवस्थापनमा सञ्चालित दिदीबहीनी सहकारीले मुठ्ठीदान अभियान मार्फत असाहय, अशक्त, गरिब, प्राकृतिक प्रकोप पिडितहरुलाई सहयोग गर्दै आएको छ ।