यसकारण बन्द भए मेरीबास्सै, जिरे खुर्सानी र भद्रगोल

२४ मंसिर, काठमाडौं । नेपाल टेलिभिजनबाट चर्चित कमेडी सिरियलहरु सञ्चालन गर्दै आएको मिडिया हब आर्थिक संकटमा परेको छ । मिडिया हबले नेपाल टेलिभिजनलाई पैसा तिर्न नसकेपछि उसले चलाएका सबै सिरियलहरु बन्द भएका छन् ।

भूकम्पका कारण थला परेका सिरियलहरुलाई नाकाबन्दीले झन् ठूलो झट्का दिएको छ । सबैभन्दा पुरानो तीतोसत्य सधैंका लागि बन्द भएको घोषणा निर्माता दीपकराज गिरीले गरिसकेका छन् भने जिरे खुर्सानी र मेरी बास्सैको पनि लामो समयदेखि नयाँ एपिसोड प्रसारण हुन सकेको छैन । दुई साता अघिसम्म नयाँ श्रृंखला प्रशारण हुँदै आएका भद्रगोल र हाकाहाक्की समेत अहिले रोकिएका छन् ।

लगातार एकपछि अर्को संकट आइपरेको अवस्थामा पनि नेपाल टेलिभिजनले आफूहरुलाई कुनै सहुलियत नदिएको गूनासो मिडिया हवको छ । मिडिया हबका सोम धितालले नेपाल टेलिभिजनसित लामो सम्वन्धका बाबजुद समस्या परेको बेला कहिल्यै सहुलियत नपाएको गुनासो गरे ।

meri-bassai

‘भूकम्पको बेलादेखि नै हाम्रो बजार डामाडोल बनेको छ,’ धिताल भन्छन्, ‘विज्ञापनको अनुपात ८० प्रतिशतले घटेको अवस्थामा हामीले केहि रकम नेपाल टेलिभिजनलाई बुझाउन बाँकी हुनु स्वभाविक हो ।’ बाँकी रहेको करिब ३०-४० लाख रुपैयाँ तिर्न तयार रहे तापनि टेलिभिजनले कार्यक्रमको रेटमा अलिकति सम्झौता गरोस् भन्ने चाहेको उनले बताए ।

नेपाल टेलिभिजनसित समय किनेर पाँचवटा हास्य कार्यक्रम चलाइरहेको मिडिया हबले हप्तैपिच्छे पैसा बुझाउनुपर्छ । सम्झौता अनुसार तितो सत्य, मेरी बास्सै र जिरे खुर्सानीको २ लाख २९ हजार, भद्रगोलको एक लाख ९७ हजार र हाकाहाक्कीको एक लाख १५ हजार रुपैयाँ एनटीभीले पाउँथ्यो । यो भ्याट बाहेकको रकम हो ।

 

सिरियलमा संलग्न कलाकारको टिमलाई तिर्नुपर्ने पैसा फरक-फरक छ । तितोसत्यलाई एक लाख ४५ हजार, जिरे खुर्सानीलाई एक लाख २५ हजार, मेरी बास्सैलाई करिब दुई लाख, भद्रगोललाई करिब ६५ हजार, हाकाहाक्कीलाई ५५ हजार रुपैयाँ मिडिया हबले दिनुपर्छ । भद्रगोल र हाकाहाक्कीको रेट सस्तो भएकाले यी दुई सिरियल दुई हप्ता अघिसम्म नयाँ निर्माण भएका थिए । कलाकारहरुलाई तिनुपर्ने पैसा पनि थुप्रै बाँकी छ ।

आधा घन्टाका टेलीश्रृंखलामा मिडिया हबले ८ मिनेट विज्ञापन बजाउन पाउँछ । त्योभन्दा बढी विज्ञापन भएमा अलग्गै पैसा तिर्नुपर्ने सम्झौता छ । धितालका अनुसार भुकम्पयताका श्रृंखलाहरुमा विज्ञापन सुकेको छ । पछिल्लो एपिसोडमा एक-देखि दुई मिनेट मात्रै विज्ञापन बज्थे ।

‘८ मिनेटको विज्ञापन संकलन भयो भने हामी धान्न सक्छौं, त्योभन्दा कम हुँदा घाटा खानुपर्छ,’ धिताल भन्छन्, ‘भुकम्पयता मात्रै हामीलाई करिब अढाई करोड घाटा लागेको छ ।’ मिडिया हबले कलाकारहरुलाई तिर्नुपर्ने रकम पनि केहि बाँकी छ तर कलाकारहरुले अहिले यसलाई इस्यू नबनाएको उनले बताए ।

केही दिनमा समाधान हुन्छः एनटीभी

मिडिया हबसहितका एजेन्सीहरुले सहुलियतका लागि नेपाल टेलिभिजनमा संयुक्त निवेदन दिएका छन् । यो विषय अहिले विचाराधिन रहेको टेलिभिजनले जनाएको छ ।

नेपाल टेलिभिजनका महाप्रवन्धक लक्ष्मण हुमागाईले सहुलियतको माग ६ वटै एजन्सीहरुबाट आएको र सबैका हकमा एउटै निर्णय लागू हुने बताए । ‘मिडिया हवलाई मात्रै छुट गर्ने कुरा आउँदैन,’ उनले भने, ‘अरु एजेन्सीले जे सुविधा पाउँछन् त्यो मिडिया हवले पनि पाउँछ ।’ हुमागाईले मिडिया हबले नयाँ कार्यक्रम बनाउन नसकेर लामो समयदेखि पुरानै दोहोर्‍याइरहेको अवस्थामा टेलिभिजनले बाध्य भएर कार्यक्रम रोक्नुपरेको बताए । मिडिया हबसित अहिले छलफल चलिरहेको र एक साताभित्रमा समस्या सल्टिने उनले आशा व्यक्त गरे ।

‘हामीले कहिल्यै सहुलियत दिएनौं भन्ने कुरा गलत हो,’ हुमागाई भन्छन्, ‘भूकम्पका बेला सिंगो एक महिना हामीले कुनै पनि एजेन्सीबाट एक पैसा लिएनौं ।’

हास्य श्रृंखला मेरीबास्सैका निर्माता तथा कलाकार सीताराम कट्टेल धुर्मुसले कलाकारको कारण कार्यक्रम प्रशारण नरोकिएको बताए । ‘मिडिया हब र नेपाल टेलिभिजनबीच कुरा मिल्नासाथ हामी नयाँ एपिसोड बनाएर दिन तयार छौं,’ उनले भने ।