प्रताप बानियाँ/विकल्प
म्याग्दी, मंसीर २१ गते । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा अवस्थित प्रमुख तथा प्रसिद्ध धार्मिक तीर्थस्थल गलेश्वरधाम परिसरमा स्थापना गरिएका मूर्तिहरुको सोमबार अनावरण भएको छ । गलेश्वर शिवालय क्षेत्र विकास कोषको आयोजनामा एक औपचारिक कार्यक्रमको आयोजना गरी मूर्तिहरुको अनावरण गरिएको हो ।
गलेश्वरको मूल मन्दिरभित्र स्थापना गरिएको शङ्कर भगवानको परिवार, दुर्गामाता, मृगसहितको राजा भरत र गलेश्वर बाबाको मूर्तिको अनावरण गरिएको क्षेत्र विकास कोषले जनाएको छ । विभिन्न भगवानका मूर्तिहरुको म्याग्दीका स्थानीय विकास अधिकारी चिरञ्जीवी पौडेल, प्रहरी नायव उपरीक्षक हिराबहादुर गिरी, माईआमा भद्रा गिरी र कोषका अध्यक्ष रुद्रबहादुर केसीले अनावरण गरेका थिए ।
जडभरत राजर्षि रहुगण र राजा भरतको मूर्ति गलेश्वरधाम वृद्धाश्रममा बस्दै आएकी माईआमा भद्रागिरीको आर्थिक सहयोगमा स्थापना गरिएको हो । यसैगरी दुर्गाभवानी र गलेश्वरबाबाको मूर्ति पोखरा उपमहानगरपालिका–६ बैदामका रक्तबहादुर पुन, कोमल पुन, वृन्दा, डम्बर र काममायाको सहयोग निर्माण गरिएको बताइएको छ ।
मन्दिरमा मूर्ति स्थापनाका लागि दानादाता र कोषबाट कुल ७ लाख रुपैयाँ खर्च भएको कोषका अध्यक्ष केसीले जानकारी दिएका छन् । मूर्तिको अनावरण गर्दै स्थानीय विकास अधिकारी पौडेलले गलेश्वर मन्दिरलाई धार्मिक पर्यटनको क्षेत्रका रुपमा विकास गर्नुपर्ने बताएका थिए ।
कार्यक्रमको अवसरमा मूर्ति स्थापना गरी सहयोग पु¥याएको भन्दै क्षेत्र विकास कोषद्वारा दानदाता भद्रा गिरी, कमल पुन, काममाया पुन र मूर्तिकारलाई दोसल्लाले सम्मान गरिएको थियो । नेपाली काँग्रेस म्याग्दीका सचिव माधवप्रसाद रेग्मी र अन्नदान क्षेत्रका अध्यक्ष पण्डित भीमनाथ पराजुलीले मन्तव्य राखेको कार्यक्रमको कोषका अध्यक्ष केसीको अध्यक्षता, सचिव गुमानसिं कार्कीको सञ्चालन र कोषाध्यक्ष बमबहादुर पुनको स्वागतमा सम्पन्न भएको थियो ।