मन्त्री पुनको गृहपालिका अन्नपूर्णमा चुनावी चर्चा सुरु
म्याग्दी,मंसिर ५ गते । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति तय गर्ने विषयमा छलफल अघि बढाएसँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा चुनावी चर्चापरिर्चा सुरु भएको छ ।
वर्तमान सरकारका विज्ञान,प्रविधि तथा नवप्रवर्तनमन्त्री डा.महावीर पुनको गाउँपालिका भएकाले अन्नपूर्णलाई यसपटकको निर्वाचनलाई चासोका साथ हेरिएको छ । मन्त्री पुनका निकट सहयोगी चित्र तिलिजा पुन र पूर्व प्रधानाध्यापक रमन पुनले गाउँपालिका अध्यक्ष बन्ने आकांक्षा सार्वजनिक गरेसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रै उम्मेदवार छनोटलाई लिएर प्रतिस्पर्धा सुरु भएको हो ।
मन्त्री पुनका निकट सहयोगीका रूपमा लामो समयदेखि काम गर्दै आउनुभएका तिलिजा पुन र शिक्षण पेसाबाट हालै अवकाश लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्नुभएका पुनले गाउँपालिका अध्यक्षको उम्मेदवार बन्ने आकांक्षा व्यक्त गर्नुभएको छ । दुबैजना मध्य मन्त्री पुनले कस्लाई समर्थन गर्नुहुन्छ भन्ने विषयले अहिले म्याग्दीमा चर्चा पाएको छ । मन्त्री पुनको समर्थन प्राप्त गर्ने उम्मेदवारको जित्ने आधार बलियो हुने रास्वपाका स्थानीय कार्यकर्ताहरूको बुझाइ छ ।
गत फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा मन्त्री पुन भने रास्वपाको समर्थनमा ‘स्वतन्त्र’ उम्मेदवार बनेर विजयी हुनुभएको थियो । उहाँ पार्टीमा स्पष्ट रुपमा नखुलेपनि उहाँका समर्थक एमव् शुभचिन्तकहरु रास्वपामा प्रवेश गरी चुनावको तयारीमा जुटेका छन् । मन्त्री पुनको राजनीतिक सक्रियताका कारण जिल्लामा स्थानीय तहको निर्वाचनको नतिजा फरक आउने सक्ने आकलन गर्न थालिएको छ । जिल्लाका अन्य पालिका भन्दा अन्नपूर्णको उम्मेदवार बन्ने चाहना राखेका उहाँका दुई विश्वास पात्रहरु मध्य उहाँले कस्लाई समर्थन गर्नुहुन्छ भन्ने आम चासोको विषय बनेको छ ।
मन्त्री पुनका निकट विश्वास पात्र राम्चेका तिलिजाले गाउँपालिका अध्यक्ष उम्मेदवार बन्न रास्वपाको क्यान्डिडेट क्लवमा सूचिकृत गरी चाहना सार्वजनिक गरेकै वेला नांगीका पूर्व प्रधानाध्यापक पुन रास्वपा प्रवेश गरी गाउँपालिका अध्यक्ष पदको उम्मेदवार हुनसक्ने चर्चा भएसँगै रास्वपा कार्यकर्ताहरु तिलिजा र पुन तिर विभाजित भएका छन् ।
रमन पुन ०५४ सालमा एमालेबाट साविक राम्चे गाविसको अध्यक्ष निर्वाचित भई ५ वर्षे कार्यकाल पूरा गरेपछि आफ्नै गाउँ नागीस्थित हिमाञ्चल माविमा लामो समय प्रधानाध्यापक रही हालै शिक्षण सेवा निवृत्त लगत्तै रास्वपा प्रवेश गरेपछी अन्नपूर्णमा चुनावी चर्चा सुरु भएको छ । पुनले सेवा निवृत्त हुनुभन्दा एक वर्षअघिदेखि नै अन्नपूर्ण गाउँपालिकाको अध्यक्ष बन्ने धोको सहकर्मीहरूमाझ राख्दै आउनुभएको थियो । अहिले मन्त्री पुनको समर्थन पाएपछि जित सुनिश्चित हुने देखेर उहाँ एमाले छाडेर रास्वपा प्रवेश गरेको स्थानीयहरु बताउँछन् ।
मन्त्री पुन र पूर्व प्रधानाध्यापक पुन दुवै जना अन्नपूर्ण गाउँपालिका–८, नांगी र मन्त्री पुनका सहयोगी तिलिजा सोही वडाकै राम्चेका स्थायी बासिन्दा हुनुहुन्छ । पूर्व प्रधानाध्यापक पुन रास्वपा प्रवेश गर्नुभन्दा अघि नै पालिका अध्यक्षको उम्मेदवारका लागि ‘क्यान्डिडेट क्लब’मा आवद्ध भई पार्टीको गतिविधिमा सक्रिय हुनुहुन्थयो । हालै प्रवेश गर्नुभएका पूर्व प्रधानाध्यापक पुन र तिलिजा बीच उम्मेदवारका लागि कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) म्याग्दीका सभापति युवराज रोकाले उम्मेदवार बन्न चाहनेले पार्टीको ‘क्यान्डिडेट क्लब’ मा आबद्ध हुनुपर्ने व्यवस्था रहेको बताउँदै क्लबमा आवेदन दिन नयाँ सदस्य बनेको कम्तीमा ४५ दिन र अन्य पार्टी परित्याग गरी रास्वपामा प्रवेश गरेकाको हकमा ९० दिन पूरा भएको हुनुपर्ने प्रावधान रहेको बताउनुभयो । यही नियमलाई आधार मानेर आगमी स्थानीय तहको निर्वाचनमा उम्मेदवार चयन गरिने उहाँको भनाई छ । उहाँले भन्नुभयो,‘‘भर्खर स्थानीय तहको निर्वाचनको चर्चा सुरु हुनलागेको छ ।
सरकारले निर्वाचनको मिति तोकिसकेको छैन । पार्टीले उम्मेदवार बन्नका लागि स्पष्ट रुपमा योग्यता,मापदण्ड निर्धारण गरिसकेको छ । योग्यता पुगेका पार्टीका सदस्यहरुले अध्यक्षको उम्मेदवार हुनका लागि क्यान्डिडेट क्लबमा आफ्नो नाम समावेश गराउनुपर्दछ ।’’ रास्वपाबाट उम्मेदवार बन्न इच्छुक व्यक्तिले यो प्रक्रियामा सहभागी भई उत्तीर्ण हुनुपर्ने व्यवस्था गरिएको उहाँको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्