बेनी–दरवाङ–मुना सडक पुनर्निर्माणमा आठ–नौ करोड लाग्ने
ठाकुरप्रसाद आचाय
असोज २६ गते।
पश्चिम म्याग्दीका तीनवटा स्थानीय तहलाई सदरमुकाम बेनीसँग जोड्ने लाइफलाइन मानिएको बेनी–दरबाङ–मुना सडक बाढीपहिरो र नदी कटानले क्षतविक्षत बनेको छ । क्षतिग्रस्त सडक पुनर्निर्माणका लागि ८ देखि ९ करोड रुपियाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ ।
यही असोज ८ गते देखि ११ गते सम्म परेको अविरल वर्षासँगै आएको बाढीपहिरो र म्याग्दी नदी कटानका कारण ४२ मिटर दूरी रहेको बेनी देखि धवलागिरी गाउँपालिकाको केन्द्र मुना सम्म करिब २२ स्थानमा सडक संरचनामा ठूलो क्षति पुगेको छ ।
बेनी देखि मंगला गाउँपालिका २ पानामाबगर सम्म १५ स्थानमा साना तथा ठूला पहिरो खसेर सडक संरचनामा क्षति पुगेको छ । नदी कटानले दुई स्थानमा सडक भत्किएको छ । बाढीपहिरो र कटानले सडकको विभिन्न स्थानहरुमा निर्माण गरिएको ग्यावियन झाली,टेवा पर्खाल र सडकको सतह भासिएर सडक पूर्वाधारमा करिब तीन देखि चार करोड रुपियाँ बराबरको क्षति पुगेको पूर्वाधार विकास कार्यालय म्याग्दीका इन्जिनियर मोहन रुवालीले जानकारी दिनुभयो ।
उहाँका अनुसार मालिका गाउँपालिका ६ स्थित बलौटेमा करिब एकसय मिटर कालोपत्रे सडक म्याग्दी नदी कटानले बगाएर क्षतविक्षत बनाएको छ । पानामाबगर देखि दरबाङ सम्म ४ ठाउँमा पहिरो खसेर क्षति पु¥याएको इन्जिनियर रुवालीले जानकारी दिनुभयो । उहाँका अनुसार दरबाङ देखि मुना खण्डको धारापानीमा १५० मिटर ढलान गरेको सडक भासिएर क्षति पुगेको छ । थापाचौरमा पहिरो खसेर सडक संरचनालाई नोक्सान पुगेको छ ।
सडक संरचनामा क्षति पुगेपछि बेनी–देखि मुना सम्म सिधा यातायात सञ्चालन प्रभावित भएको छ । बलौटे देखि तोलाबाङ सम्म सडक संरचनामा ठूलो क्षति पुगेकाले मंगला र मालिका गाउँपालिकाको सिमानामा रहेको दुखु खोला पुल देखि दुखुबेसी हुँदै तोलबाङ जोड्ने बैकल्पिक सडक प्रयोग गरेर यातायात सञ्चालन गरिएको छ ।
साँघुरो,कच्ची अवस्थाको ग्रेड नमिलेको वैकल्पिक सडकमा ठूला सवारीसाधन आवतजावतमा समस्या हुने गरेको छ । पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख सिनियर डिभिजनल इन्जिनियर राजेश उलकले १०० मिटर दूरीमा कालोपत्र सडक डिलदेखि कुनासम्मै पूरै भाग नदी कटानले भत्किएका कारण तत्काललाई सडक सञ्चालनमा ल्याउन समस्या भएको जानकारी दिनुभयो । सडक भत्किएको ठाउँमा पैदलयात्रा गर्न पनि जोखिम छ । खोलाको किनारदेखि पक्की पर्खाल उठाएर सडकलाई पुनर्निमाण गर्नुपर्ने उहाँले बताउनुभयो ।
बेनी–दरवाङ सडकको पछिल्लोपटक चुनौती बनेको बालौटे खण्डको सडक पुनर्निर्माणको काम अघि बढाउन म्याग्दीबाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशम जुग्जाली, गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका सचिव नवराज शर्मा, मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजा, मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर डा महेन्द्र बानियाँ सहितको प्राविधिक टोलीले मंगलबार स्थलगत रुपमा निरीक्षण गरेको थियो । तत्काल बस्तीलाई असर नपुग्ने गरी सडक पुनर्निर्माण गरी दसैँअघि सडक सञ्चालन गर्ने र आगामी बर्खाअघि नै नदी नियन्त्रण गर्नुपर्ने गण्डकी प्रदेश सभा सदस्य जुग्जालीले बताउनुभयो । मन्त्रालयले प्रदेश सरकार मातहतका गण्डकीका अन्य जिल्लाका विपद्बाट क्षतिग्रस्त सडक आयोजनालाई पनि तत्काल मर्मत गरी सञ्चालनका लागि बजेटको अभाव हुन नदिने मन्त्रालयका सचिव शर्माले बताउनुभयो ।
बेनीदेखि दरबाङ सम्म २३ किलोमिटर दूरीको सडक मध्य १६ किलोमिटर ४०० मिटर सडक कालोपत्रे भएको छ । मालिका गाउँपालिकाको केन्द्र दरबाङ देखि मुना सम्म १८ किलोमिटर दूरीको सडक मध्य आठसय मिटर कालोपत्रे र दुईकिलोमिटर ढलान गरिएको छ । बाँकी सडक अहिले निर्माणधिन चरणमा रहेको छ ।
आवश्यक बजेट प्राप्त भएमा एकवर्ष भित्रमा सडक पुनर्निर्माण गर्नसकिने कार्यालयका इन्जिनिर रुवालीले बताउनुभयो । सडकमा खसेको पहिरो पन्छाएर अहिले बेनी देखि दुखुखोला पुल सम्म र त्यहाँबाट वैकल्पिक सडक दुखुवेसीं गाउँ हुँदै मुख्य मार्ग तोलाबाङ देखि दरबाङ हुँदै धवलागिरी गाउँपालिका केन्द्र मुना सम्म एकतर्फ रुपमा यातायात सञ्चालन गरिएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।
मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प र म्याग्दीको मंगला, मालिका र धवलागिरी गाउँपालिकाको ‘लाइफलाइन’ मानिएको बेनी–दरवाङ–मुना–जलजला– ढोरपाटन हुँदै पूर्वीरुकुम जोड्ने छोटो दुरीको सडक हो । धवलागिरी गाउँपालिकाको केन्द्रमुना–खोरीया–मरेनी –जलजला–गुर्जाघाट हुदै ढोरपाटन उपत्यका जोड्ने सडकको मार्ग गत पुसमा खुलेको थियो । यस खण्डमा बाढीपहिरोले पु¥याएको क्षतिको अनुगमन गरिएको छैन ।

प्रतिक्रिया राख्नुहोस्