‘घर पनि रहेन, गुजारा चलाउने आरन पनि रहेन’
विकल्प न्यूज\बेनी
असोज २६ गते ।
जिल्लाको मंगला गाउँपालिका–२ आम्बोटमा असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढीपहिरोले चार घरसहित गोठ, आरन र धानखेतमा ठूलो क्षति पु¥याएको छ । गाउँमाथिबाट लेदोमाटोसहित खसेको पहिरोले घरबस्ती र खेतीयोग्य जमिनमा क्षति पु¥याउनुका साथै स्थानीयको जीविकोपार्जनको आधारसमेत खोसिएको छ ।
असोज १० गते बिहान गाउँमाथिबाट एक्कासी पहिरो खसेपछि आम्बोटका स्थानीयवासी भागेर ज्यान जोगाउन सफल भएका थिए । पहिरोले मनबुजा विक, डम्मरबहादुर विक, मनकुमारी सुनार र लालबहादुर विश्वकर्माको घरमा क्षति पु¥याएको छ । पहिरोका कारण ७२ वर्षीय डम्मरबहादुर विकको घर बस्नै नमिल्ने अवस्थामा पुगेको छ । वर्षौदेखि परिवारको जीविकोपार्जनको आधार बनेको उहाँको आरनसमेत पहिरोले पूर्ण रुपमा पुरेर क्षतिग्रस्त भएको छ । घरसँगै गुजारा चलाउने आरनसमेत गुमेपछि डम्मरबहादुरको परिवार थप समस्यामा परेको छ ।
आरनसँगै गोठ पुरिँदा त्यहाँ बाँधिएको एउटा दुहुनो भैंसीसमेत पहिरोमा परेर मरेको छ । घर र जीविकोपार्जनको मुख्य आधार आरन दुवै गुमेपछि डम्मरबहादुरको परिवारको दैनिकी प्रभावित बनेको छ । ‘घर पनि रहेन, गुजारा चलाउने आरन पनि रहेन,’ उहाँले भन्नुभयो ।
पहिरोबाट भागेर ज्यान जोगाउनुभएका लालबहादुर विश्वकर्माको घरमा भने आंशिक क्षति पुगेको छ । पहिरोले घरको किचन, शौचालय, बाथरुम र खानेपानीको मिटरबक्समा क्षति पु¥याउनुका साथै तीनवटा ड्रमलगायतका सामग्री बगाएको उहाँले बताउनुभयो । बाढीपहिरोले उहाँको करिब आठ रोपनी धानखेतसमेत पूर्ण रूपमा क्षति गरेको छ । खेतमा लगाएको धान नष्ट भएपछि घरायसी खाद्यान्नको जोहोमा समेत समस्या थपिएको उहाँको भनाइ छ ।
घरसँगै आम्बोटका विभिन्न व्यक्तिको धानखेतमा समेत ठूलो क्षति पुगेको छ । नारायण पुरी, चन्द्रकुमारी विक, उमा विक, पार्वती गोतामे लगायतको धानखेत पहिरोले पुरिदिएको छ । स्थानीयका अनुसार आम्बोट गाउँमा यसअघि यस्तो पहिरो आएको थिएन । यसपटक भने गाउँमाथिको लरेनी गाउँमुनिबाट लेदोमाटोसहितको पहिरो खसेपछि बस्ती तथा खेतबारीमा क्षति पुगेको हो । बाढीपहिरोका कारण घरको पाली भत्किएको र घरको छेउबाट लेदोसहितको खोला बगेकाले बस्न नमिल्ने अवस्था भएको डम्मरबहादुरले बताउनुभयो । पहिरो पीडितका लागि स्थानीय तहले लगायत सरकारी निकायबाट तत्काल सुरक्षित बसोबास र गासको व्यवस्था गर्नुपर्ने बताउनुभयो । पहिरो प्रभावित परिवारलाई तत्काल राहतको व्यवस्था गर्नुका साथै क्षतिको विवरण संकलन गरी दीर्घकालीन व्यवस्थापनको योजना अघि बढाइने मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले जानकारी दिनुभयो ।
बाढीपहिरोबाट घर, गोठ, आरन र खेतीयोग्य जमिनमा क्षति पुगेपछि आम्बोटका प्रभावित परिवारलाई तत्काल राहतसँगै सुरक्षित आवास तथा पुनस्र्थापनाको व्यवस्थाका लागि क्षतिको विवरण संकलन भइरहेको गाउँपालिकाका अध्यक्ष रोकाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्