योजना कार्यान्वयनमा जुट्यो रघुगङ्गा गाउँपालिका
ठाकुरप्रसाद आचार्य
म्याग्दी,साउन १४ गते । म्याग्दीको रघुगङ्गा गाउँपालिका चालु आर्थिक वर्ष २०८३\०८४ मा विनियोजन भएका योजना तथा कार्यक्रमहरु कार्यान्वयनमा जुटेको छ । समयमै योजना तथा कार्यक्रमहरु सम्पन्न गर्ने उद्देश्यले पालिका योजना कार्यान्वयनमा जुटेको हो ।
उपभोक्ता समिति मार्फत सञ्चालन हुने गाउँपालिका तथा वडा अन्तर्गतका योजनाहरु आगमी असोज मसान्त भित्र सम्झौता गरिसक्ने गरी प्रक्रिया अगाडी बढाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलराज पौडेलले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो,‘‘योजनाको उपभोक्ता समिति गठन,अभिमुखिकरण र योजना सम्झौता असोज मसान्त भित्रमा सम्पन्न गरी पालिकाले योजना कार्यान्वयनको प्रक्रिया बढाएको छ । योजना कार्यान्वयनमा हुने ढिलासुस्तीलाई अन्त्य गरी समयमै गुणस्तरीय र प्रभावकारी रुपमा योजना सम्पन्न गर्न पालिकाले यसपाली विशेष जोड दिएको छ ।’’ योजनाको उपभोक्ता समिति गठनका लागि जनप्रतिनिधिहरुलाई सहजीकरण गरिदिन अनुरोध गरिएको उहाँको भनाई छ ।
ठेक्का मार्फत सञ्चालन हुने योजनाहरुका हकमा साउन महिनाभित्रमा सर्वे, नापजाँच सहित लागत स्टिमेट तयार गरी ठेक्का आह्वान गर्ने प्रक्रिया थाल्ने गरी प्राविधिकहरुलाई काममा परिचालन गरिएको प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताउनुभयो ।
पालिकाबाट विनियोजन भएका योजना तथा कार्यक्रमहरु आगमी फागुन मसान्त भित्र सम्पन्न गर्ने गरी योजना कार्यान्वयनमा जुटेको उहाँको भनाई छ । गत असारमा सम्पन्न भएको गाउँसभाले विभिन्न ८९ वटा योजना तथा कार्यक्रमहरु छनौंट गरेको थियो ।
पालिकाबाट विनियोजन भएका योजना तथा कार्यक्रमहरु समयमै सम्पन्न गर्ने उद्देश्य अनुसार पालिकाले कर्मचारी,प्राविधिक र जनप्रतिनिधिहरुलाई परिचालन गरिएको गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्