निर्माणधिन डाँडाखेत–राहुघाट प्रसारण लाइनको प्रगति ७४ प्रतिशत
ठाकुरप्रसाद आचार्य \बेनी
म्याग्दीमा निर्माणधिन एकसय ३२ केभी क्षमताको डाँडाखेत–राहुघाट प्रशारण लाइन आयोजनाको हाल सम्म ७४ प्रतिशत भौतिक र ७२.६० प्रतिशत वित्तिय प्रगति हासिल भएको छ । नेपाल विद्युत् प्राधिकरणले एशियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा साढे चारवर्ष अघि ठेक्का मार्फत उक्त आयोजना निर्माण अगाडी बढाएको थियो ।
आर्थिक वर्ष २०७३\०७४ देखि सुरु भएको आयोजनाको प्रारम्भिक सर्वे,डिजाइन,वातावरणीय प्रभाव मुल्याङ्कन सम्पन्न गरेर आयोजनाले ३० महिना भित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित २०७८ फागुन १६ गते तीन अर्ब ५७ करोडमा भारतीय कम्पनी लार्सन एण्ड टर्बो लिमिटेड सँग ठेक्का सम्झौता गरेको थियो । तर भौगोलिक कठिनाई,वन क्षेत्रमा रुख कटानमा ढिलाई र निर्माण कम्पनीको ढिलासुस्तीका कारण ठेक्कामा दुईपटक म्याद थप गरिएको आयोजनाले जनाएको छ ।
म्याग्दी र रघुगंगा नदीमा सञ्चालित विभिन्न जलविद्युत् आयोजनाहरुबाट उत्पादित विद्युत केन्द्रीय प्रशारण ग्रीडमा जोड्नका लागि नेपाल विद्युत प्राधिकरणले एडिबीको ऋण र नेपाल सरकारको बजेटबाट आयोजना निर्माण सुरु गरेको हो ।
आयोजना निर्माणका लागि एडिबीको तीन अर्ब ५७ करोड ३२ लाख ७० हजार ऋण सहयोग र नेपाल सरकारको एक अर्ब १४ करोड नौ लाख ७२ हजार रुपियाँ गरी आयोजनाको समग्र कुल लागत चार अर्ब ७२ करोड २० लाख ९ हजार रुपियाँ रहेको आयोजनाका सहायक प्रबन्धक इन्जिनियर सुरज गुरुङले जानकारी दिनुभयो । आयोजनामा एकसय ३२ केभी प्रशारण लाइन र दुवै स्थानमा सबस्टेशन निर्माण हुनेछन् ।
उहाँका अनुसार मालिका गाउँपालिका ७ म्याग्दी नदी किनार स्थित डाँडाखेतमा १३२÷३३ केभीको ३० एमभिए क्षमताको एआइएस प्रविधिको सबस्टेशन निर्माण भएको छ । उहाँका अनुसार डाँडाखेत सबस्टेशनमा सिभिल तर्फको काम सम्पन्न गरी विद्युतीय उपकरण जडान गरी परिक्षणको काम भइरहेको छ । अहिले यो सबस्टेशनको ९७ प्रतिशत भौतिक प्रगति हासिल भएको छ । आयोजनाले दिएको जानकारी अनुुसार रघुगंगा गाउँपालिका ३ अम्बाङ स्थित कालिगगण्डकी कोरिडोरको छेउमा निर्माणधिन राहुघाट सबस्टेशनको ७५ प्रतिशत भौतिक प्रगति हासिल भएको छ ।
निर्माणधिन राहुघाट सबस्टेशन २२०÷१३२÷३३ केभी, २०० एमभिए क्षमताको जिआइएस प्रविधिको निर्माणधिन सबस्टेशनमा भौतिक पूर्वाधार निर्माण सम्पन्न गरी विद्युतीय उपकरण जडानको काम सुरु भएको छ । चारवटा युनिट गरेर २०० एमभिए क्षमताको ट्रान्सफर्मर जडान भइसकेको छ । यसैगरी ३० एमभिए क्षमताको अर्को एउटा ट्रन्सफर्मर जडान गरिएको आयोजनाका सहायक प्रबन्धक गुरुङले दिनुभयो ।
प्रशारण लाइन तर्फ ८२ वटा टावर मध्य ८० वटाको फाउन्डेशन जग निर्माण भई ७४ वटा टावर निर्माण सम्पन्न भएको आयोजनाका प्रबन्धक गुरुङले जानकारी दिनुभयो । यसैगरी उहाँका अनुसार २५ किलोमिटर प्रशारण लाइन मध्य १२.१ किलोमिटरमा तार तान्ने काम सम्पन्न भएको छ ।
आयोजनाको दोस्रोपटक म्याद थपिएको म्याद साउन ३१ गते सम्म रहेको र तीन देखि चार महिना सम्म पुनःम्याद थपको तयारी गरी आयोजना सम्पन्न गर्न निर्माण कम्पनी र आयोजना कार्यालय परिचालन भएको उहाँले बताउनुभयो । चालु आर्थिक वर्ष २०८३÷०८४ भित्र आयोजनाको सम्पूर्ण काम सम्पन्न गरी नेपाल विद्युत प्राधिकरणलाई हस्तान्तरण गर्ने लक्ष्य रहेको उहाँको भनाई छ ।
डाँडाखेतमा सबस्टेशन बनाउन ६० रोपनी र राहुघाटको अम्बाङमा करिब ९० रोपनी जग्गा अधिग्रहण गरेर पूर्वाधार निर्माण गरिएको छ । भूमिगत पानी र पहिरोका कारण राहुघाटमा सबस्टेशनको डिजाइनमा समस्या भएकाले ठेक्का सम्झौताको २७ महिनापछि मात्र निर्माण कम्पनीले काम थालेका कारण तोकिएको समयमा आयोजना सम्पन्न गर्न नसकिएको आयोजनाका सहायक प्रबन्धक गुरुङले बताउनुभयो ।
आयोजना समयमै सम्पन्न गर्न भौगोलिक कठिनाई,पहिरोको जोखिम,सडक पहुँच नहुनु,वन क्षेत्र उपभोगमा कानूनी तथा प्रक्रियागत झन्झट,कामदारको अभाव र ठेकेदार कम्पनीको ढिलासुस्ती मुख्य कारणहरु रहेको उहाँले बताउनुभयो ।
चालु आर्थिक वर्षमा दुबै सबस्टेशन निर्माण सम्पन्न गर्ने,प्रशारण लाइन निर्माण गरी चार्ज गर्ने,मंगला गाउँपालिका अन्तर्गत प्रशारण लाइनको मापदण्ड मुनी जग्गा पर्नेहरुको क्षतिपूर्ति निर्धारण गराउने र वितरण गर्ने, लाइन मुनी पर्ने रुखहरु कटान गर्ने लगायतका सम्पूर्ण कामहरु सम्पन्न गर्ने लक्ष्य रहेको आयोजनाले जनाएको छ ।
म्याग्दी नदी र रघुगङ्गा नदीमा निर्माण भएका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राहुघाट सबस्टेशन मार्फत दाना–खुर्कोट प्रसारण लाइनमार्फत केन्द्रीय प्रसारण ग्रीडमा जोडिनेछ । प्रसारण लाइन निर्माण चरणमा पुगे लगत्तै म्याग्दी र राहुघाट नदीमा निर्माणाधीन जलविद्युत् आयोजनाहरुले निर्माणको कामलाई तिव्रता दिएका छन् ।
प्रतिक्रिया राख्नुहोस्