सेर्काकु तातोपानीमा पर्यटकीय पूर्वाधार तयार
ठाकुरप्रसाद आचार्य
साउन १३ गते ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका– १ दोबाको कालिगण्डकी नदी किनारमा रहेको सेर्काकु तातोपानी कुण्डमा पर्यटकीय पूर्वाधार निर्माण गरिएको छ । कुण्डमा सुविधासम्पन्न पर्यटकीय पूर्वाधार निर्माण भएपछि अन्नपूर्ण चक्रिय पदमार्ग र मुस्ताङ भ्रमणमा पुग्ने पर्यटक आकर्षित हुने अपेक्षा गरिएको छ ।
बेनी–जोमसोम–कोरला सडक अन्तर्गत तिप्ल्याङ–महभिर जोड्ने मोटरेबल पुलदेखि करिब पाँच सय मिटरको दूरीमा कालिगण्डकी नदी किनारमा प्राकृतिक तातोपानीको मुहान रहेको छ । तातोपानीको मुलबाट पाइपलाइन मार्फत केही तल पानी ल्याएर स्नान स्थल सहित पर्यटकीय पूर्वाधार निर्माण गरिएको पालिका उपाध्यक्ष दिवाकुमारी तिलिजाले पुनले बताउनुभयो ।
संघीय सरकारको विशेष अनुदान मार्फत प्राप्त भएको बजेटबाट गाउँपालिकाले स्नान गर्ने पानी संकलन पोखरी, आश्रयस्थल, सार्वजनिक शौचालय, कपडा फेर्न कोठा, टिकट काउन्टर र रेष्टुरेन्टका लागि आवश्यक पूर्वाधार निर्माण सम्पन्न भएको उहाँले जानकारी दिनुभयो ।
मुहानदेखि छ सय मिटर तल दुई इञ्चको युपिभिसी पाइपबाट तातोपानीको पानी ल्याएर स्नानका लागि ११ दशमलव २५ मिटर लम्बाइ र आठ मिटर चौडाइ भएको पोखरी निर्माण गरिएको छ ।
तातोपानी संकलनका लागि मुहानमा तीन वटा इन्टेक र पाइपलाइन जडान गरिएको छ । यहाँ ५० डिग्री सेल्सियस तापक्रमको प्राकृतिक तातोपानी निस्कने मुहान रहेको छ । तातोपानी संकलन गरिएको पोखरीमा स्नान गरेमा शारीरिक स्फूर्तिका साथै चोटपटक लागेको, चिसोका कारण हुने स्वास्थ्य समस्या निको हुने विश्वास छ ।
पालिका उपाध्यक्ष तिलिजा पुनले भन्नुभयो,‘‘कालिगण्डकी नदी किनारमा रहेको तातोपानी कुण्डमा पूर्वाधार निर्माण गरी पर्यटकीय स्थलका रुपमा विकास गर्ने उद्देश्य हो । म्याग्दी र मुस्ताङको भ्रमण गरेर फर्किएका पर्यटकहरुले आरम गर्ने,थकान मेटाउने स्थलका रुपमा विकास गर्ने पालिकाको योजना छ ।’’ साथै प्राकृतिक उपचार स्थलका रुपमा पनि कुण्डलाई विकास गर्ने उहाँको भनाई छ । चालु आर्थिक वर्षमा पालिकाले आय ठेक्कामा लगाएर कुण्ड सञ्चालन गर्ने तयारी गरिएको उहाँको भनाई छ ।
पूर्वाधार निर्माण गर्न गाउँपालिकाले २०८१ असार ६ गते कालीगण्डकी निर्माण सेवा प्रा.लि सँग २०८३ जेठ ३० गते सम्म निर्माण सम्पन्न गर्ने गरी एक करोड १७ लाख ६० हजार छ सय ८५ रुपियाँ मा ठेक्का सम्झौता गरेको थियो । निर्माण व्यवसायिले सम्झौता मिति भित्रनै योजना सम्पन्न गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कपिल पाण्डेले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो,‘‘कालिगण्डकी नदी किनारमा मुलबाट निस्केको प्राकृतिक तातोपानीलाई व्यवस्थित गरेर पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य अनुसार पूर्वाधार निर्माण गरिएको छ । कुण्डले पालिकाको अन्तरिक आम्दानीमा समेत वृद्धि गराउने अपेक्षा गरेका छौं ।’’
तिप्ल्याङ मोटरेबल पुल देखि कुण्ड सम्मको सडक स्तरोन्नति र कुण्डको पारी रहेको बेनी–जोमसोम सडकको महभिरबाट कुण्ड सम्म पुग्नका लागि कालिगण्डकी नदी माथि झोलुङ्गे पुल निर्माण गर्ने योजना रहेको पालिका उपाध्यक्ष तिलिजा पुनले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्