बेनी–जोमसोम सडकको भिरकाटे खण्डमा नयाँ पहिरोको जोखिम
ठाकुरप्रसाद आचार्य
साउन १३ गते । कालिगण्डकी कोरिडोरको बेनी–जोमसोम सडक खण्ड अन्तर्गत म्याग्दीको महभिर भिरकाटेमा सडक खण्डमा नयाँ पहिरोको जोखिम बढेको छ । अग्लो भिरको बीच भागबाट पहिरो खस्न थालेपछि बैंसरी पहिरोको नयाँ स्वरुप हुनसक्ने भन्दै चिन्ता बढ्न थालेको छ । यो पहिरोले सडकलाई मात्र जोखिम पारेको छैन ठूलो पहिरो खस्ने हो भने कालिगण्डकी नै थुनिन सक्ने चिन्ता पनि बढाएको छ । यहाँ सानो गल्छी छ ।
सडक देखि माथिको भिरबाट आजकल सुख्खा पहिरो खस्न थालेपछि यस खण्डमा यात्रा जोखिमपूर्ण भएको छ । अन्नपूर्ण गाउँपालिका ६ घारको भिरकाटे–टिम्मुरे खण्डमा सडक माथि रहेको अग्लो भिर पहराबाट सुख्खा पहिरो झर्न थालेका कारण यात्रा जोखिमपूर्ण भएकाले साबधानी अपनाएर मात्र सवारीसाधन आवतजावत गर्न अन्नपूर्ण गाउँपालिकाले अनुरोध गरेको छ ।
गाउँपालिका उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनले अग्लो भिरबाट सुख्खा पहिरो खसिरहेको र सम्भावित ठूलो पहिरोको जोखिम रहेकाले यात्रा गर्दा सतर्कता अपनाउन अनुरोध गर्नुभएको छ । उहाँले भन्नुभयो,‘‘बेनी–जोमसोम सडक खण्डमा यो नयाँ पहिरो देखियो । अग्लो भिरबाट पहिरो झरिरहेको देखिन्छ । जसले गर्दा सडकलाई जोखिमपूर्ण बनाएको छ । सावधानी अपनाएर मात्र आवतजावत गर्न अनुरोध गरेका छौं ।’’
स्थानीयवासीले उल्लेख गरे अनुसार घारको जुकेपानी हुँदै झर्ने टिम्मुरे झरना छेउको अग्लो पहाडको विचबाट निरन्तर पहिरो खस्न थालेकोले बेनी–जोमसोम सडक र कालीगण्डकी नदी पहिरोको उच्च जोखिममा परेको हो । स्थानीयवासी गुरुप्रसाद खत्रीले अहिले पहिरो खस्नथालेको भीरको माथी टुप्पोमा पर्ने खोपको तल्लोखण्डमा धेरै वर्षपहिला देखी ४–५ हात फाटेर बसेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो,‘‘खोपको तल्लो डिल, टिम्मुरे झरनाको माथिल्लो खण्डमा भिर धजाधजा परेको छ । करिव १ महिना अघि पनि त्यही ठाउँमा पुगेको थिएँ, थप पहिरोको संकेत थिएन, आजभोली वर्षाले पहिरो झर्न थालेछ ।’’ यसैगरी बेनी–जोमसोम सडक खण्डमा ९ वटा ठूला पहिराका कारण वर्षातका समयमा यात्रा जोखिमपूर्ण रहेको छ । बर्षातका समयमा सकभर रात्रीकालिन यात्रा नगर्न जिल्ला प्रशासन कार्यालय म्याग्दीले अनुरोध समेत गरेको छ ।
कालीगण्डकी नदी किनारै किनार निर्माण गरिएको कालीगण्डकी करिडोरको बेनी–जोमसोम सडकको गलेश्वर–घाँसासम्मको करिव ३० किलोमिटर सडक खण्डमा कम्तीमा ९ वटा ठूला र जोखिमयुक्त पहिरा पहिचान गरी संरक्षणको काम थालेपनि जोखिम कायम नै रहेको बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख तेजस्वी शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार बेनी–जोमसोमका विभिन्न पहिरो स्थलहरुमा अहिले संरक्षण र सडक निर्माणको काम भइरहेको छ ।
गत वर्ष कालीगण्डकी करिडोर आयोजनाले जियोलोजिष्ट समेत विभिन्न विषयका २० जना विज्ञ परिचालन गरी बेनी–घाँसासम्मको पहिराहरुको भुगर्भीक अध्ययन गरेको थियो । सोही विज्ञहरुको टोलीले ३० किलोमिटर सडक खण्डका वैसरी पहिरो, सिरुवारी पहिरो, गुईठेपहिरो र खामभित्ता पहिरो समेत ९ वटा पहिरोलाई ‘अति जोखिमपूर्ण’ पहिरा पहिचान गरेको थियो ।
बेनी–जोमसोम सडकका पहिरो अध्ययन टोलीले जोखिमयुक्त पहिरो नियन्त्रण गर्न होरिजेन्टल ड्रेन देखी रिटेनिङवाल, ब्रेष्टवाल, क्यास्केटिङवाल,रकएङ्करिङ, स्वायल नेल, वायोइन्जिनियरिङ समेत पहिरो रोकथाम विधी सुझाए अनुसार पहिरो रोकथामका काम सुरु गरिएको आयोजना प्रमुख शर्माले जानकारी दिनुभयो । आयोजनाले गत वर्ष बैसरी पहिरोमा रकएङ्करिङ र बायोइन्जिनियरिङ प्रविधिबाट पहिरो रोकथाम गरेको थियो । पहिरो रोकथाम भएको स्थानहरुमा अहिले आयोजनाले सडक ढलानको काम थालेको छ ।

प्रतिक्रिया राख्नुहोस्