अन्नपूर्णमा लेकगाउँ स्वाँरा फाँट सिँचाइ योजना सुरु हुँदै
ठाकुरप्रसाद आचार्य
म्याग्दी,साउन १३ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङको लेक गाउँ स्थित स्वाँरा फाँटमा सिँचाइ योजना सुरु गरिएको छ । तीनहजार पाँचसय मिटर दूरी टाढा रहेको कालोखोलाबाट पाइपलाइन मार्फत पानी ल्याएर फाँटमा सिँचाई सुविधा विस्तार गर्नका लागि लेक गाउँ स्वाँरा फाँट सिँचाइ योजना सुरु भएको हो ।
नारच्याङको अन्न भण्डारका रुपमा रहेको समथर फाँटमा वर्षौ देखि सिँचाइको समस्या रहेकोमा योजना सुरु भएपछि यहाँका किसानहरु खुसी भएका छन् । गण्डकी प्रदेश सरकारको उर्जा,जलस्रोत तथा खानेपानी मन्त्रालयले सिँचाइ योजना अगाडि बढाउन गएको आर्थिक वर्ष २०८२÷०८३ मा स्रोत सुनिश्चित गरेपछि खानेपानी,जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय म्याग्दीले ठेक्का मार्फत योजना कार्यान्वयन थालेको छ ।
दुई करोड तीनलाख ४६ हजार नौसय ८० रुपियाँ लागत अनुमान गरिएको योजनाको आगामी २०८४ जेठ महिनाको २३ गते भित्र निर्माण सम्पन्न गर्ने गरी एक करोड ८५ लाख २९ हजार एकसय ६२ रुपियाँमा गत असारको ५ गते कार्यालयले कोन्डा कन्स्ट्रक्सन ललितपुरसँग ठेक्का सम्झौता गरेको कार्यालयका इन्जिनियर विश्वास कुमार वस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार योजना सम्पन्न भएपछि स्वाँरा फाँटको ३० हेक्टर क्षेत्रफलमा सिँचाई सुविधा विस्तार हुने छ । योजना अन्तर्गत मुहानमा इन्टेक, पाइपलाइनमा चारवटा विपिटी निर्माण गरी तीनहजार दुईसय १० मिटर एचडिपिइ पाइलाइन मार्फत स्वाँरा फाँटमा सिँचाइका लागि पानी ल्याइने कार्यालयका इन्जिनियर वस्नेतले जानकारी दिनुभयो ।
रेलेखोलामा ९२ मिटरको केबल क्रसिङ निर्माण गरेर ८० मिटरको जिआइ पाइपलाइन विस्तार गर्ने योजनामा उल्लेख गरिएको छ । एकवटा वितरण चेम्बर, वितरण प्रणालीमा एकहजार दुइसय ४५ मिटर नहर निर्माण र आरभिटी देखि वितरण चेम्बर सम्म तीनसय १२ मिटर पाइपलाइन विस्तार गरिने कार्यालयका इन्जिनियर वस्नेतले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो,‘‘योजना कार्यान्वयनका लागि निर्माण कम्पनीसँग ठेक्का सम्झौता भई मोविलाइजेशन बापतको १६ लाख १९ हजार रुपियाँ समेत भुक्तानी गरिसकेका छौं । बर्खा सकिएपछि निर्माण कम्पनी कार्यस्थलमा परिचालन हुने छ । सबै भन्दा ठूलो सिँचाइ योजना भएकाले तोकिएको समयमा सम्पन्न गर्न कार्यालयको तर्फबाट नियमित रुपमा अनुगमन, सुपरिवेक्षण र ठेकेदारलाई ताकेता गरिने छ ।’’
दुईहजार मिटर भन्दा बढी उचाईमा अवस्थित स्वाँराको समथर फाँटमा सिँचाइ सुविधाको समस्या भोग्दै आएका किसान र स्थानीय जनप्रतिनिधिहरुको माग आएपछि कार्यालयको तर्फबाट प्राथमिकतामा राखेर सिफारिस गरेपछि प्रदेश सरकारले बजेट विनियोजन गरेको कार्यालय प्रमुख सिनियर डिभिजनल इन्जिनियर झलक मोहन ओझाले बताउनुभयो । योजनालाई समयमै सम्पन्न गर्न कार्यालयका तर्फबाट कुनै कसर बाँकी नराखी प्राविधिकहरु कार्यस्थलमा परिचालन हुने उहाँको भनाई छ । अन्नपूर्ण गाउँपालिका ४ का वडा सदस्य श्याम पुर्जाले नारच्याङवासीको करिब दुईदशक देखिको सपना अहिले आएर पूरा हुन लागेकाले किसानहरुमा खुसीयाली छाएको बताउनुभयो ।
उहाँले भन्नुभयो,‘‘यो समथर फाँट समग्र नारच्याङवासीको अन्न भण्डार हो । यहाँ आलु,मकै,कोदो,गहुँ,जौ खेती हुन्छ । विगत दुईदशक देखि यता सिँचाई योजना माग गर्दै आएपछि पूरा भएको थिएन । सिँचाइ अभावमा किसानहरुले खेती गर्न छाडिसकेका थिए । अहिले प्रदेश सरकारको बजेटमा सिँचाइ योजना सुरु हुनलागेपछि किसानहरु खुसी भएका छन् । योजना सम्पन्न भएपछि किसानहरुले व्यवसायिक कृषि खेती गरेर आय आर्जन गर्नेछन् ।’’
करिब ६०० सय रोपनी क्षेत्रफलमा फैलिएको फाँटमा कोदो,फापर,जौ,आलु,गैया,प्याज र मकै खेती राम्रो हुन्छ । खेतीयोग्य फाँट भए पनि सिँचाई नहुँदा पर्याप्त मात्रामा उत्पादन लिन नसकिएको स्थानीय किसान तथा वडा सदस्य पुर्जाले बताउनुभयो । समयमै सिँचाइ योजना सम्पन्न गर्न कार्यालय,जनप्रतिनिधि र किसानहरुले सहयोग गर्नुपर्ने उहाँको भनाई छ ।
प्रतिक्रिया राख्नुहोस्