बेनी नगरमा ३ करोड ९६ लाख राजस्व संकलन
ठाकुरप्रसाद आचार्य
म्याग्दी,असार १२ गते । म्याग्दीको बेनी नगरपालिकाले चालु आर्थिक वर्षको जेठ मसान्त सम्म तीन करोड ९६ लाख ६ हजार रुपियाँ राजश्व संकलन गरी आन्तरिक आम्दानी गरेको छ । चालु आर्थिक वर्षमा बेनी नगरले आन्तरिक आय ४ करोड ३३ लाख ५० हजार र मातपोत रजिष्ट्रेशन बाँडफाँडबाट ८५ लाख, विज्ञापन कर,मनोरञ्जन कर सहित नदीजन्य पर्दाथ ढुङ्गा,गिटी,बालुवा बिक्रीबाट ४७ लाख रुपियाँ गरी कुल आन्तरिक आम्दानी ५ करोड ६५ लाख ५० हजार रुपियाँ अनुमान गरेको थियो ।
जेठ मसान्त सम्म संकलन भएको राजश्व अनुसार नगरका दशवटा वडा कार्यालयबाट एक करोड ५३ लाख ८५ हजार रुपिायँ र नगर कार्यपालिकाको कार्यालयबाट एक करोड ७१ लाख २६ हजार रुपियाँ संकलन भएको बेनी नगरपालिका उपप्रमुख ज्याति लामिछानेले जानकारी दिनुभयो ।उहाँका अनुसार स्थानीय राजश्व बाँडफाँड घर जग्गा रजिष्ट्रेशन शुल्क ६१ लाख ७२ हजार रुपियाँ,ढुङ्गा,गिटी बालुवा बिक्री बाट ७ लाख १३ हजार रुपियाँ र विज्ञापन कर बापत दुई लाख १० हजार रुपियाँ संकलन भएको छ ।
मंगलबार सम्पन्न भएको १९ औं नगरसभामा प्रस्तुत भएको वडागत राजश्व संकलन अनुसार वडा नम्बर १ को कार्यालयबाट ९ लाख ८० हजार रुपियाँ, वडा नम्बर २ को कार्यालयबाट १० लाख २६ हजार रुपियाँ,वडा नम्बर ३ को कार्यालयबाट ६ लाख ६५ हजार रुपियाँ र वडा नम्बर ४ को कार्यालयबाट १४ लाख २६ हजार रुपियाँ संकलन भएको छ ।
यसैगरी वडा नम्बर ५ को कार्यालयबाट १३ लाख २ हजार रुपियाँ, वडा नम्बर ६ को कार्यालयबाट ६ लाख ८० हजार रुपियाँ,वडा नम्बर ७ को कार्यालयबाट २२ लाख ८ हजार रुपियाँ ,वडा नम्बर ८ को कार्यालयबाट ४७ लाख २७ हजार रुपियाँ,वडा नम्बर ९ को कार्यालयबाट १६ लाख ९९ हजार रुपियाँ र वडा नम्बर १० को कार्यालयबाट ६ लाख ७२ हजार रुपियाँ राजश्व संकलन भएको छ ।
चालु आर्थिक वर्षको असार मसान्त सम्म अनुमान गरेको आन्तरिक आयको करिब ९० प्रतिशत सम्म लक्ष्य हासिल गर्ने प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले जानकारी दिनुभयो । बेनी नगरपालिका भित्र रहेका नदी किनारका बगरको आय ठेक्का लगाएर संकलन हुने आन्तरिक आम्दानी संकलन सोचे अनुसार नहुने देखिएकाले अनुमानित आयमा केही कमी हुने उहाँले बताउनुभयो । आन्तरिक आम्दानी वृद्धिका लागि करको दायरा फराकिलो बनाउने,नगर क्षेत्र भित्र सञ्चालित व्यवसायहरुलाई करको दायरामा ल्याउने लगायतका कामहरु प्रभावकारी रुपमा सञ्चालन गरिने उहाँले बताउनुभयो ।
आगामी आर्थिक वर्षमा नगरपालिकाले नगर समृद्धिको आधारःआन्तरिक आयको विस्तार भन्ने नारा तय गरी लक्ष्य अनुसार आन्तरिक आय संकलन गर्न अभियानमुलक कार्यक्रमहरु सञ्चालन गर्ने नीति लिएको नगरप्रमुख सुरत केसीले जानकारी दिनुभयो । आन्तरिक आय संकलनका लागि आवश्यक पर्ने नीति,कानून र कार्यविधिहरु तर्जुमा गरी प्रभावकारी रुपमा कार्यान्वयन गरिने उहाँको भनाई छ ।
नदी क्षेत्र तथा व्यक्तिगत आवादीमा हुने निर्माण सामग्री उत्खनन् लगायतका कार्यबाट हुने प्राकृतिक स्रोत चुहावट नियन्त्रण गर्न तथा करको दायरामा ल्याउन नीतिगत,संस्थागत एवम् प्रक्रियागत सुधार गरिने नीति लिइने नगरप्रमुख केसीले बताउनुभयो । तोकिए बमोजिम करहरु नियमित बुझाउन करदाता प्रोत्साहित कार्यक्रमहरु सञ्चालन गर्ने,उत्कृष्ट करदतालाई सम्मान गर्ने र करको दायरा विस्तार गरी आन्तरिक आम्दानी वृद्धि गर्ने नीति अवलम्बन गरिने नगर प्रमुख केसीले बताउनुभयो ।
गत आर्थिक वर्षमा बेनी नगरपालिकाले चार करोड ९५ लाख २९ हजार आठसय रुपियाँ आन्तरिक आम्दानी गरेको थियो । ढुङ्गा,बालुवाको आम्दानी सहित नगरपालिकाले व्यवसायको सिफारिस दस्तुर,नक्सा पास,सरकारी सम्पत्तिको भाडा,घरवहाल कर,भूमी कर,व्यक्तिगत घटना दर्ता,व्यवसाय कर,नाता प्रमाणित,मालपोत कर,विज्ञापन कर लगायतका करहरु संकलन गरेर आन्तरिक आम्दानी गर्ने गरेको छ ।


प्रतिक्रिया राख्नुहोस्