अन्नपूर्ण आधार शिविरमा सञ्चार–विद्युत् योजना सर्वेक्षणमै सिमित
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा सञ्चार र विद्युत् सुविधा विस्तार गर्ने योजना सर्वेक्षणमै सीमित भएको छ । विद्युत् र सञ्चार नहुँदा आधार शिविर पुगेका पर्यटकलाई सास्ती हुने गरेको छ ।
गत माघमा नेपाल टेलिकम र विद्युत प्राधिकरणसहितको टोलीले सम्भाव्यता अध्ययन गरे पनि अहिलेसम्म कुनै ठोस योजना अघि नबढ्दा आधार शिविर पुग्ने पर्यटकहरु सञ्चारविहीन अवस्थाको समस्या झेल्न बाध्य भएका छन् ।
नेपाल टेलिकम,नेपाल विद्युत प्राधिकरणका प्राविधिक,गाउँपालिका र स्थानीय पर्यटनकर्मीको सहभागितामा चार हजार ५० मिटर उचाईमा रहेको आधार शिविरमा सञ्चार र विद्युत सेवा पु¥याउनका लागि सर्वेक्षण गरिएको थियो ।
अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कपिल पाण्डेको नेतृत्वमा नेपाल टेलिकम र विद्युत् प्राधिकरणका प्राविधिक तथा स्थानीय पर्यटनकर्मीहरुको टोलीले माघको पहिलो हप्ता आधार शिविरमा पुगेर सम्भाव्यताको अध्ययन सहित सर्वेक्षण गरेर फर्किएको थियो । सर्वेक्षण गरेपनि विद्युत र सञ्चार सेवा विस्तारका लागि सरकारी निकायबाट कुनै बजेट विनियोजन गरिएको छैन ।
नयाँ पर्यटकीय गन्तव्यका रुपमा विकास भएको आधार शिविरमा विद्युत र सञ्चार सुविधा पु¥याउनका लागि धेरै प्रयासपछि बल्ल सम्भाव्यता अध्ययन सहित सर्वेक्षण गरिएको थियो गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पाण्डेले भन्नुभयो,‘‘नेपाल टेलिकम र विद्युत प्राधिकरणबाट सम्भाव्यताको अध्ययन र सर्वेक्षण गरेपछि अहिले सम्म कुनै योजना आएको छैन । सर्वेक्षण गर्दा गाउँपालिकाको पचास हजार रुपियाँ खर्च पनि भएको छ । तर अहिले सम्म सम्बन्धीत निकायबाट कुनै ठोस योजना आएको छैन । चुनाव पछि सरकार परिवर्तनको असर पनि होला ।’’
सञ्चार र विद्युत् सुविधा विस्तारका लागि अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनको नेतृत्वमा म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठ, अन्नपूर्ण आधार शिविर जोड्ने मौरिस हर्जोग पदमार्गका अभियन्ता तथा स्थानीय पर्यटनकर्मी तेज गुरुङ लगायतको टोलीले गत पुस महिनामा काठमाडौँमा सूचना तथा सञ्चार मन्त्री जगदीश खरेल र ऊर्जा मन्त्रालयलाई ज्ञापनपत्र बुझाएको थियो । तत्कालिन समयमा मन्त्री खरेलले आधार शिविरमा सञ्चार सुविधा पु¥याउने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।
आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण र आधार शिविरको पदयात्राका लागि वर्षेनी हजारौं पर्यटकहरु पुग्ने गर्दछन् । त्यहाँ पुगेका पर्यटकहरुलाई विद्युत र सञ्चार सुविधाको अभावमा समस्या हुने गरेको छ । पर्यटकले भोग्नुपरेको समस्यालाई अन्त्य गर्न विद्युत र फोरजी नेटवर्कसहितको सञ्चार सुविधा विस्तारका लागि पहल गरेपनि अहिले सम्म सफल हुननसकेको गाउँपालिका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो ।
आधार शिविरको पदयात्रामा पुगेका पर्यटक अलपत्र पर्दा सञ्चार सुविधा नहुँदा उद्धारमा समेत कठिनाइ गरेको उहाँले बताउनुभयो । मौरिस हर्जोग पदमार्ग सुरु हुने हुमखोलादेखि माथिल्लो क्षेत्रमा सञ्चार विच्छेदको अवस्था छ । आधार शिविरको पदयात्राका लागि पुगेका पर्यटकहरु आधार शिविर रहँदासम्म सञ्चार सुविधाबाट विच्छेद हुन्छन् ।
आधार शिविरमा सम्म विद्युत विस्तार गरेपछि मात्र सञ्चार सुविधाका लागि आवश्यक उपकरणहरु जडान गर्न सकिने नेपाल टेलिकमबाट जानकारी आएको गाउँपालिका अध्यक्ष पुनले बताउनुभयो । हुमखोला देखि आधार शिविर सम्म २२ किलोमिटर लामो दूरी भएकाले विद्युत सेवा विस्तारका लागि ठूलो रकमको आवश्यक पर्ने पालिका अध्यक्ष पुनले बताउनुभयो ।
उहाँले भन्नुभयो,‘‘विद्युत विस्तार दुईचरणमा गर्न सकिने गाउँपालिकाले बनाएको योजना कार्यान्वयनको पहल गरिदिन म्याग्दीबाट निर्वाचित सांसद महाविर पुनलाई बुझाएका छौं । ठूलो रकमको आवश्यक पर्ने भएकाले संघीय सरकारको भर पर्नुपर्ने अवस्था छ ।’’
हुमखोला देखि आधार शिविरसम्म विद्युतीकरणका लागि करिब पाँचकरोड रुपियाँ बराबरको लागत अनुमान निकालेर उर्जा मन्त्रालयमा योजना पेस गरेको मौरिस हर्जोग पदमार्गका अभियन्ता तथा स्थानीय पर्यटनकर्मी गुरुङले बताउनुभयो । नारच्याङदेखि कुल ४२ किलोमिटरको दूरीमा रहेको अन्नपूर्ण प्रथम हिमालको आधार शिविर पुग्नका लागि हुमखोलासम्मको २० किलोमिटर दूरीको बाटोमा सञ्चारको सुविधा भए पनि हुमखोलादेखि आधार शिविरसम्मको २२ किलोमिटर दूरीअन्तर्गत छोटेपा, हुमखोला, सन्धिखर्क, गुफाफाँट,भुसकेटमेला र आधार शिविरमा सञ्चारविहीन हुँदा पर्यटकलाई सास्ती हुनुका साथै त्यस क्षेत्रको प्रचारप्रसारमा समेत असर पुगेको छ ।
नारच्याङको बेंसी गाउँदेखि दुईघण्टा सवारी साधनको यात्रापछि पुगिने हुमखोलाबाट मौरिस हर्जोग पदमार्ग सुरु हुन्छ । हुमखोलाबाट दुईदिनमा सहजै आधार शिविर पुग्न सकिन्छ । छोटो दूरी र रोमाञ्चक यात्रा भएकाले आन्तरिक पर्यटको रोजाईँमा आधार शिविर बनेको छ ।
मिस्त्रीखोलाको किनारै किनार निर्माण गरिएको पदमार्गको यात्रा गर्दा झरना, मनमोहक हिमश्रृङ्खला अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै अन्नपूर्ण आधार शिविरमा पुग्न सकिन्छ । अन्नपूर्ण गाउँपालिकाले होटल तथा रेष्टुरेण्ट,आश्रयस्थल, सार्वजनिक शौचालय, खानेपानी निर्माण र पदमार्ग मर्मत सम्भार गरेर पदयात्रीका लागि सहज बनाएको छ । पदमार्गमा रहेको फुतफते झरना, आधार शिविरमा रहेको पञ्चकुण्ड ताल र हिमालको प्राकृतिक सुन्दरताले पर्यटकहरु आकर्षीत हुने गरेका छन् ।
प्रतिक्रिया राख्नुहोस्