बेनी बजारमा ध्वनि प्रदूषण गर्ने १० मोटरसाइकल नियन्त्रणमा
ठाकुरप्रसाद आचार्य
म्याग्दी,चैत २८ गते ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीले बेनी बजार क्षेत्रमा शान्ति सुरक्षा खलल पार्ने गरी चर्को आवाज निकाल्ने तथा स्वरुप परिवर्तन गरी चलाइएका १० वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार बजार क्षेत्रमा अनावश्यक रुपमा चर्को आवाज निकाल्ने, तीव्र गतिमा सवारी चलाउने, लापरबाहीपूर्वक सवारी सञ्चालन गर्ने तथा स्वरुप परिवर्तन गरी मोटरसाइकल चलाउने गतिविधि बढेपछि विशेष निगरानी गर्दा ति सवारीसाधन नियन्त्रणमा लिइएको सूचना अधिकारी तथा प्रहरी निरीक्षक सागर तिमिल्सिनाले जानकारी दिनुभयो । प्रहरीले नियन्त्रणमा लिएका मोटरसाइकलमाथि आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको उहाँले बताउनुभयो । नियन्त्रणमा लिएका मोटरसाइकलहरुको धनी भने प्रहरीले सार्वजनिक गरेको छैन ।
साथै, यस्ता गतिविधिले बजार क्षेत्रमा शान्ति सुरक्षा र सर्वसाधारणको आवागमनमा समस्या हुने भएकाले स्वरुप परिवर्तन गरी सवारी चलाउने,चर्को आवाज निकाल्ने तथा लापरबाहीपूर्वक सवारी सञ्चालन नगर्न सम्बन्धित सबैलाई प्रहरीले अनुरोध गरेको छ ।
प्रहरीले नियम उल्ङ्घन गर्ने सवारीधनी तथा संलग्न व्यक्तिलाई कानून बमोजिम कारबाही गर्ने प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीले सुरक्षित र व्यवस्थित यातायातका लागि ट्राफिक नियम पालना गर्न सबै सवारी चालकलाई आग्रह समेत गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्