जलजलामा नेपाली सेनाद्धारा सञ्चालित वृहत स्वास्थ्य शिविरमा पाँचसय बढीले लिए सेवा
ठाकुरप्रसाद आचार्य
म्याग्दी,चैत १८ गते । बेनी सँग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिका ४ मल्लाजमा नेपाली सेनाको वृहत स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । शिविरमा पाँच सय ३१ जना सर्वसाधारणले स्वास्थ्य सेवा लिएको नेपाली सेनाले जनाएको छ । सेनाको नयाँ रणभीम गुल्म अन्तर्गत रहेको दुर्लुङ्गथुम ब्यारेक पर्वतको आयोजना र जलजला गाउँपालिका ४ नम्बर वडा कार्यालयको संयोजनमा फट्केढुङ्गा आधारभूत विद्यालय परिसरमा एकदिने निःशुल्क वृहत स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।
शिविरमा सैनिक अस्पताल पोखरा र प्रदेश अस्पताल बेनीबाट खटिएका चिकित्सकहरुले विरामीहरुको स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाइएको छ । शिविरमा नम्बर २३ फिल्ड एम्बुलेन्स गुल्म बागलुङ र क्लिनिक नेपाल भरतपुरको प्राविधिक सहयोग गरेको गुल्मपति सेनानी चिरञ्जीवी सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार शिविरमा स्त्री तथा प्रसुति,हड्डी तथा जोर्नी,दन्त,छाला सम्बन्धि रोग,उच्च रक्तचाप,मधुमेह,कान,नाक,घाँटी तथा आँखा र अन्य रोगको परीक्षण गरी निशुल्क औषधि वितरण गर्ने व्यवस्था मिलाइएको छ ।
उहाँले भन्नुभयो, ‘‘दुर्गम भेगमा बसोबास गर्ने गरिब तथा विपन्न परिवार,दलित समुदाय लगायतका नागरिकहरुलाई स्वास्थ्य परीक्षण सेवा उपलब्ध गराउन बृहत स्वास्थ्य शिविरको आयोजना गरेका हौं । शिविरले रोग लुकाएर बसेका सर्वसाधारणहरुको रोगको पहिचानमा पनि सहयोग पुग्ने आशा गरेका छौं । स्वास्थ्य परीक्षण गरी रोग अनुसारको औषधि पनि वितरण गरिएको छ ।’’
शिविरलाई सफल पार्नका लागि गाउँपालिका र वडाले आवश्यक सहयोग उपलब्ध गराएको जलजला गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष भरतबहादुर क्षेत्रीले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँमा विशेषज्ञ चिकित्सकबाट निःशुल्क सेवा पाएपछि बिरामी खुसी भएका छन् ।” शिविरमा माझफाँट,बासखर्क र लेखफाँटका वस्तीहरुबाट सर्वसाधरणहरु स्वास्थ्य परीक्षणका लागि आएका छन् ।
प्रतिक्रिया राख्नुहोस्