म्याग्दीमा मतपेटिका संकलन सुुरु,भोली विहानदेखि मतगणना थालिने
ठाकुरप्रसाद आचार्य
म्याग्दी,फागुन २१ गते ।
म्याग्दीमा आज सम्पन्न भएको निर्वाचनको मतपेटिका संकलन सुरु भएको छ । जिल्लाभर शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ । म्याग्दीमा करिब ५४.२७ प्रतिशत मत खसेको छ ।
एक निर्वाचन क्षेत्र रहेको म्याग्दीमा ८६ हजार तीनसय ९७ मतदाता रहेकोमा ४६ हजार ८ सय ९३ मत खसेको छ जिल्ला निर्वाचन कार्यालयको प्रारम्भिक विवरणमा उल्लेख छ । अहिले सदरमु्काम बेनी देखि नजिक रहेका मतदान केन्द्रहरुबाट मतपेटिका आउने क्रम जारी छ । आएका मतपेटिकाहरु जिल्ला समन्वय समितिको कार्यालयमा राख्ने व्यवस्था मिलाइएको मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार बेनी नगरपालिकाका अन्तर्गत रहेका मतदान केन्द्रहरुबाट मतपेटिका आउन थालेका हुन ।
मुख्य निर्वाचन अधिकृत थापाले भन्नुभयो, ‘‘आज राती १२ बजे सम्म सबै मतदान केन्द्रबाट मतपेटिका आइपुग्ने छन् । भोली विहान ७ बजे सर्वदलीय,सर्वपक्षीय बैठक बसेपछि मतगणना सुरु गर्दछौं ।’’ मतगणनाका लागि जिसस सभाहलमा मतगणना स्थल निर्माण गरिएको छ ।
भौगोलिक रुपमा टाढा रहेको धवलागिरी गाउँपालिका वडा नम्बर १ गुर्जा र रघुगंगा गाउँपालिका ८ कुइने मंगलेको मतपेटिका आउन करिब ६ घण्टा लाग्छ ।
जिल्लामा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी १२ जना उम्मेदवार चुनावी मैदानमा छन् । म्याग्दीमा ८६ हजार तीन सय ९७ मतदाता छन् । ४२ हजार तीन सय ३२ जना पुरुष, ४४ हजार ६४ जना महिला र एक जनाअन्य मतदाता रहेका छन् । जिल्लामा ८२ वटा मतदानस्थल र १ सय २० वटा मतदान केन्द्र र दुईवटा अस्थायी मतदान केन्द्र कायम गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्