मतदानको दिन ः प्रतिनिधि छान्ने ऐतिहासिक अवसर
ठाकुरप्रसाद आचार्य
गत भदौं २३ र २४ गतेको जेनजी आन्दोलनका कारण २०७९ को निर्वाचनले चुनेको प्रतिनिधिसभा विघटन भएसँगै आज फागुन २१ गते बिहीबारका दिन देशभर प्रतिनिधिसभा सदस्यको निर्वाचन हुँदै छ ।
निर्वाचनले मुलुकमा देखिएको बर्तमान समस्यालाई समाधान तर्फ लैजाने नागरिकको अपेक्षा छ । निर्वाचन पछि गठन हुने सरकारले जेनजी आन्दोलनका क्रममा भएको बलिदानीलाई सम्मान गर्दै सहिदका सपनाहरु पूरा हुने मतदाताहरुको अपेक्षा छ ।
अहिलेको निर्वाचन पहिलाको जस्तो नियमित निर्वाचन होइन । यो निर्वाचन जेनजी आन्दोलनबाट सिर्जित हो । जेनजी आन्दोलनमा उठेका माग र मुद्दाहरुलाई अब गठन हुने प्रतिनिधिसभाले सम्बोधन गर्नुपर्दछ । त्यसैले यो निर्वाचन सफल पार्ने दायित्व सबै नेपालीहरुको हो ।
नागरिकले आÏनो मताधिकार प्रयोग गर्दै आगामी पाँच वर्षका लागि संघीय संसदमा प्रतिनिधित्व गर्ने व्यक्ति छनोट गर्ने दिनको रुपमा आजलाई ऐतिहासिक अवसरका रुपमा लिन सकिन्छ । निर्वाचन आयोगका अनुसार मतदान बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ । निर्वाचनलाई लिएर सरकारले देशभर सुरक्षा व्यवस्थालाई मजवुत् पारेको छ ।
म्याग्दीमा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन सुरक्षा व्यवस्था कडा पारिएको छ । मतदान केन्द्रहरुमा नेपाली सेना सहित नेपाल प्रहरी, सशस्त्र प्रहरी र निर्वाचन प्रहरी परिचालन गरिएको छ । आइतबार जिल्ला निर्वाचन कार्यालय र मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट निर्वाचन सामग्री बुझेर कर्मचारीहरु मतदानस्थलमा पुगे ।
निर्वाचनमा सहभागी राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले आ–आफ्नो एजेण्डा प्रस्तुत गर्दै मतदातालाई आकर्षित गर्न घरदैलो अभियान संचालन गरे । सोमबार राती १२ बजे देखि निर्वाचन प्रचारप्रसारको काम गर्न पाइने छैन । प्रचारप्रसारको अवधिमा राजनीतिक दल र उम्मेदवारहरुले घरदैलो,सभा, सामाजिक सञ्जाल तथा विभिन्न माध्यमबाट प्रचारप्रसार गरे । जिल्लाको ग्रामिण भेग सम्म उम्मेदवारहरु पुगे । उम्मेदवारहरुले नागरिकका समस्या,गुनासो र सुझाव संकलन गरे ।
मतदानका लागि मतदाता परिचयपत्र वा निर्वाचन आयोगले तोकेको परिचय खुल्ने कागजात अनिवार्य साथमा ल्याउनुपर्ने हुन्छ । मतदान केन्द्रमा प्रवेश गर्दा सुरक्षाकर्मीले जाँच गर्नेछन् भने मतदाताले पालो अनुसार शान्तिपूर्ण रूपमा मतदान गर्नुपर्नेछ । मतपत्रमा आफ्नो रोजाइको उम्मेदवारको चुनाव चिन्हमा स्वस्तिक छाप लगाएर मतपेटिकामा खसाल्नु पर्दछ ।
लोकतान्त्रिक व्यवस्थामा निर्वाचनलाई जनताको सर्वोच्च अधिकार प्रयोग गर्ने अवसर मानिन्छ । नागरिकको एक मतले नीतिनिर्माण, विकासको दिशा र शासन सञ्चालनमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले मतदानमा व्यापक सहभागिताको अपेक्षा गरिएको छ । विगतका निर्वाचनमा जस्तै यसपटक पनि उत्साहजनक सहभागिता रहने विश्वास गरिएको छ ।
जिल्लाका दुर्गम क्षेत्रहरूमा समेत मतदान केन्द्र स्थापना गरिएका छन् । ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा गर्भवती महिलालाई प्राथमिकताका साथ मतदान गराउने व्यवस्था मिलाइएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । कतिपय स्थानमा स्वयंसेवकहरू परिचालन गरी मतदातालाई सहजीकरण गरिनेछ ।
निर्वाचन परिणाम मतदान सम्पन्न भई मतगणना सुरु भएपछि क्रमशः सार्वजनिक गरिनेछ । मतगणना केन्द्रमा सुरक्षाको विशेष व्यवस्था मिलाइएको छ भने उम्मेदवारका प्रतिनिधिलाई पनि उपस्थित हुने व्यवस्था गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्ला समन्वय समितिको सभाहलमा मतगणनास्थल तोकेको छ । मतगणनास्थलमा आवश्यक पर्ने उपकरण जडान,तारजाली लगाएर मतगणनास्थललाई सुरक्षित गरिएको छ ।
जिल्ला प्रहरी कार्यालयले सबै मतदानस्थलमा प्रहरी टोली परिचालन गरेको छ । मतदाताहरुलाई निर्धक्क भएर मतदानमा सहभागी हुन अनुरोध गरेको छ । फागुन २१ को मतदान केवल प्रतिनिधि छनोट गर्ने प्रक्रिया मात्र नभई लोकतन्त्रप्रतिको प्रतिबद्धता अभिव्यक्त गर्ने महत्वपूर्ण क्षण हो ।
संविधानले दिएको सार्वभौम अधिकार प्रयोग गर्दै योग्य, सक्षम र जनउत्तरदायी नेतृत्व चयन गर्नु प्रत्येक मतदाताको दायित्व हो। त्यसैले सबै मतदातालाई उत्साहपूर्वक, शान्तिपूर्ण र जिम्मेवार ढंगले मतदानमा सहभागी हुन जिल्ला निर्वाचन कार्यालयले आग्रह गरेको छ ।
लोकतन्त्रको सुदृढीकरण र समृद्ध म्याग्दीको भविष्यको आधार निर्माणका लागि फागुन २१ को दिनलाई जिम्मेवारीपूर्वक उपयोग गर्नु आजको आवश्यकता हो । मतदाताको सजग निर्णयले नै देशको राजनीतिक दिशा तय गर्ने भएकाले त्यस दिनलाई जनमतको ऐतिहासिक अवसरका रूपमा लिइएको छ ।
म्याग्दीमा पूर्व शिक्षा,विज्ञान तथा प्रवधि मन्त्री महावीर पुन स्वतन्त्र उम्मेदवार, एमालेबाट हरिकृष्ण श्रेष्ठ,नेपाली कांग्रेसका कर्णबहादुर भण्डारी(केबी),नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का अर्जुन थापा,राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट युवराज रोका, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट डम्बरबहादुर सुवेदी, नेकपा (माओवादी) बाट क्षेत्रबहादुर घिमिरे,प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट देबेन्दद्र कामी, मंगोल नेशनल अर्गनाइजेसनबाट भिमबहादुर लामा, श्रम संस्कृति पार्टीबाट बिनोद लामा, राष्ट्रिय जनमोर्चाबाट क्षेमबहादुर विक, नेशलनल रिपब्लिक नेपालबाट तुलप्रसाद गर्बुजा चुनावी मैदानमा हुनुहुन्छ ।
रास्वपाका उम्मेदवार रोकाले भने आफ्नो उम्मेदवारी फिर्ता लिएर स्वतन्त्र उम्मेदवार पुनलाई समर्थन गर्ने घोषणा गर्नुभएको छ । ११ उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेपनि मुख्य गरी स्वतन्त्र उम्मेदवार पुन,नेपाली कांग्रेस,नेकपा एमाले र नेकपा बीच नै मुख्य प्रतिस्पर्धा हुने आकलन गरिएको छ ।
राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक समेत रहनुभएका निवर्तमान मन्त्री डा. पुनको उम्मेदवारीपछि जिल्लामा निर्वाचन पेचिलो भएको छ । यो निर्वाचनमा कसले बाजी मार्ला त्यो हेर्न त फागुनको २३ गते सम्म नै पर्खिनुपर्ने छ ।

प्रतिक्रिया राख्नुहोस्