बेनी झरे उम्मेदवार, अन्तिम घडीमा मत तान्ने दौड
ठाकुरप्रसाद आचार्य
म्याग्दी,फागुन १८ गते । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रचारप्रसार अन्तिम चरणमा पुगेसँगै ग्रामिण बस्तीमा घरदैलो अभियानमा व्यस्त रहेका उम्मेदवारहरु सदरमुकाम बेनी झरेका छन् ।
निर्वाचन आचारसंहिता अनुसार आज राति १२ बजेसम्म मात्र प्रचारप्रसार गर्न पाइने भएपछि उम्मेदवार तथा राजनीतिक दलका नेताहरु बजार क्षेत्रमा मतदाता भेटघाट र घरदैलोमा केन्द्रित भएका छन् । बेनी बजारमा उम्मेदवारहरुको सक्रियता बढेसँगै चुनावी माहोल थप तातेको छ । उम्मेदवारहरु घरघरमा मत माग्न पसेका छन् ।
गत माघ ६ गते मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गरेपछि ग्रामिण क्षेत्रमा चुनावी कार्यक्रम लिएर पुगेका उम्मेदवार र राजनीतिक दलका नेताहरु सदरमुकाम बेनीमा झरेर आइतबार देखि घरदैलो गर्न थालेका छन् ।
आज राती १२ बजे सम्म मात्र चुनाव प्रचारप्रसार गर्न पाइने भएकाले उम्मेदवारहरु आइतबार र सोमबार दिनभर बेनीमा मतदाताका घरदैलोमा पुगेर उम्मेदवारले मत माग्न व्यस्त छन् ।
नेकपा एमाले,नेपाली कांग्रेस र नेपाली कम्युनिष्ट पार्टी(नेकपा)को चुनाव प्रचार प्रसार टोली बेनी झरेर घरदैलो गर्न थालेका छन् । स्वतन्त्र उम्मेदवार निवर्तमान शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री डा. महावीर पुनले आज बेनीको खुल्लामञ्च खेलमैदानमा चुनावी आमसभाको आयोजना गर्नुभएको छ । आमसभामा उम्मेदवार पुनले म्याग्दीका मतदाताहरुले नयाँ अनुहार हेर्न चाहेकाले आफ्नो जित पक्का जस्तै भएको दाबी गर्नुभयो ।
नेपाली कांग्रेस म्याग्दीका उम्मेदवार कर्णबहादुर भण्डारी (केबी) सहित नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरु आइतबार बेनीबजारमा घरदैलो गरेका थिए । घरदैलो कार्यक्रमका क्रममा कांग्रेस उम्मेदवार भण्डारीले आफ्नो जित सुनिश्चित भएको दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो,‘‘म ग्रामिण क्षेत्रमा रहेका मतदाताको घरदैलोमा पुगेर बेनी फर्किएको छु । निर्वाचनप्रति मतदाताको उत्साह देखियो । जिल्लाको विकासका साथै मुलुकमा लोकतन्त्रको रक्षाका लागि कांग्रेसका उम्मेदवारलाई जिताउन मतदाताहरु मतदान गर्न आतुर छन् ।’’ यसैगरी नेकपा एमालेका उम्मेदवार हरिकृष्ण श्रेष्ठले पनि बेनी बजारमा घरदैलो गर्नुभएको छ । उहाँले आफ्नो जित सुनिश्चित भएको दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो,‘‘ग्रामिण क्षेत्रका मतदाताहरुले सडक स्तरोन्नति,खानेपानी,सिँचाई,पर्यटनको विकास,रोजगारी सिर्जना लगायतका मागहरु राख्नुभएको छ । मतदाताहरुले राजनीतिक स्थिरता सहितको विकास र समृद्धिका मुद्दाहरु उठाउनुभएको छ ।’’
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार अर्जुन थापाले पनि सोमबार बेनीमा घरदैलो गर्नुभएको छ । जिल्लाका सबै वडा र वस्तीहरुमा चुनावी कार्यक्रम सकेर बजार झरेको उम्मेदवार थापाले बताउनुभयो ।
उहाँले एकदर्जन भन्दा धेरै कम्युनिष्ट पार्टीहरु मिलेर बनेको नेकपाप्रति मतदाताको आशा र अपेक्षा धेरै भएको प्रतिक्रिया दिनुभयो । उहाँले मतदाताको रोजाई नेकपा भएको र आफूले जित्ने आशा व्यक्त गर्नुभयो । एक निर्वाचन क्षेत्र रहेको म्याग्दीमा एक स्वतन्त्र सहित १२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । अन्य साना दलका उम्मेदवारहरु पनि बजार झर्न थालेका छन् ।
जिल्लामा ८६ हजार तीन सय ९७ मतदाता छन् । ४२ हजार तीन सय ३२ जना पुरुष, ४४ हजार ६४ जना महिला र एक जनाअन्य मतदाता रहेका छन् ।
जिल्लामा ८२ वटा मतदानस्थल र १ सय २० वटा मतदान केन्द्र र दुईवटा अस्थायी मतदान केन्द्र कायम गरिएको छ । जिल्ला निर्वाचन सुरक्षा समितिले भौगोलिक अवस्था र सुरक्षाका हिसाबले १५ वटा अतिसंवेदनशील,५८ वटा संवेदनशील र ८ वटा मतदानस्थल लाई समान्य भनेर बर्गिकरण गरेको छ ।


प्रतिक्रिया राख्नुहोस्