गाउँगाउँमा एमालेको सक्रियता : मतदातासँग प्रत्यक्ष संवादमा श्रेष्ठ
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा नेकपा एमाले म्याग्दीले जिल्लाभर आफ्नो चुनावी अभियानलाई आक्रामक बनाएको छ ।
एमालेले ‘घरदैलो र मतदाता भेटघाट’ अभियान अन्तर्गत म्याग्दीका विभिन्न गाउँवस्ती र टोलमा पुगेर मत माग्न थालेको हो । यसैक्रममा मंगलबार बेनी नगरपालिका ५, पुलाचौर र गाजनेमा आयोजित कार्यक्रममा मतदाताको उत्साहजनक सहभागिता रहेको छ ।
गाजनेस्थित ऐतिहासिक जगन्नाथ मन्दिरमा पूजाअर्चना गरी घरदैलो सुरु गरेका एमाले उम्मेदवार हरिकृष्ण श्रेष्ठले यस क्षेत्रको विकासका लागि स्पष्ट खाका प्रस्तुत गरे ।
उनले भने, “जगन्नाथ मन्दिर, ढोलठान, डढकोट दरबार र पौलस्त्य पुलहाश्रमलाई एउटै सर्किटमा जोडेर धार्मिक पर्यटकीय गन्तव्य बनाउने मेरो प्राथमिकता हो । यसअघि एमालेकै पहलमा रावणपार्क निर्माण सुरु भएको छ, अब यसलाई पूर्णता दिई पूर्वाधार विकासमा लाग्नेछु ।”
स्थानीयको मागलाई सम्बोधन गर्दै उम्मेदवार श्रेष्ठले पुलाचौरसम्म कालोपत्रे भइसकेको सडकलाई अब नयाँगाउँ–गाजने खण्डमा समेत स्तरोन्नति गर्ने र अर्थुङ्गे–भीरमुनि–पुलाचौर सडकलाई उच्च प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाए ।
अभियानकै क्रममा सेमबार एमाले टोलीले रघुगंगा कुइने, ठाडाखानी, पाखापानी र कोटगाउँमा पुगेर उम्मेदवार श्रेष्ठले त्यहाँका स्थानीयबासीसँग भौगोलिक रूपमा कठिन यी क्षेत्रमा सडकको दिगो पहुँच र शिक्षा–स्वास्थ्यको गुणस्तर सुधार्न प्रतिवद्धता जनाएका थिए । त्यसैविच, मंगलवार दिउँसे मंगला गाउँपालिकाको बरंजामा आयोजित सभामा बोल्दै श्रेष्ठले एमाले जस्तोसुकै परिस्थितिमा पनि जनताको सुखदुःखमा साथ रहने पार्टी भएको बताए ।


प्रतिक्रिया राख्नुहोस्