‘बोलेर होइन, काम गरेर देखाउँछु’ भन्दै महावीर पुन मतदातामाझ
फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै स्वतन्त्र उम्मेदवार डा। महावीर पुन यतिबेला गाउँ–गाउँमा पुगेर मतदातासँग प्रत्यक्ष संवादमा जुट्नुभएको छ । मालिका गाउँपालिकाका विभिन्न वस्तीमा आयोजित भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले झुटा आश्वासन नभई काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । शिक्षा सुधारलाई मुख्य एजेन्डा बनाउँदै अनुसन्धान, नवप्रवद्र्धन, रोजगारी र आर्थिक विकासमार्फत समग्र देशको रूपान्तरण गर्ने उद्देश्यसहित आफू चुनावी मैदानमा उत्रिएको पुनको भनाइ छ ।
चुनावी भेटघाटको क्रममा उम्मेदवार पुनले झुटो आश्वासन दिएर भोट नमाग्ने बताउँदै आफ्नो उम्मेदवारी कुनै व्यक्ति, पार्टीप्रति लक्षित नभएकाले म्याग्दीवासीको हकहितमा काम गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘बोलेर होइन काम गरेर देखाउँछु, मेरो काम सबैले देख्नुभएकै छ ।’ शुक्रवार बिहानैदेखि चुनावी भेटघाटका लागि विभिन्न वस्तीमा पुगेर मतदातालाई भेटघाट गरेको अभियानमा सहभागी यूवा विनोद बुढाथोकीले जानकारी दिनुभयो ।
उम्मेदवार पुनले यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा शिक्षा क्षेत्रको सुधारलाई पहिलो चुनावी मुद्दा बनाएको बताउनुभएको छ । आफ्ना सहयोगी र शुभेच्छुकहरुको साथमा मतदाताहरुलाई भेटेर उम्मेद वार पुनले शिक्षा, अनुसन्धान, नवप्रवद्र्धन, रोजगारी, अर्थतन्त्र र विकासका साथै युवाहरुसँग सहकार्य गर्ने आफूले योजना बनाएको उहाँको भनाइ छ । उहाँले रोजगार र उद्यमसँग जोडेर देशको अर्थतन्त्र सुधार गरी विकासका कामहरु गर्ने प्रतिबद्धता समेत जनाउनुभयो ।
राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष समेत रहनुभएका पुनले जीवनी बेचेर कारखाना चलाउने गरेकाले अहिलेसम्म एक रुपैयाँ पनि भ्रष्टाचार नगरेको र भ्रष्टाचार गर्नेहरुसँग सङ्गत पनि नगर्ने बताउँदै राजनीति नभई सेवाका लागि भएकाले आफू उम्मेदवार बनेको बताउनुभयो । उहाँले आफ्नो उम्मेदवारी समग्र देश विकासका लागि भएकाले त्रिभूज चिह्नमा मतदान गर्न आग्रह गर्नुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्