‘जिर्ण सडक सुधार पहिलो काम’ – अन्नपूर्णमा अर्जुन थापाको घोषणा
बेनी/ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा नेकपाले अन्नपूर्ण गाउँपालिकामा चुनावी अभियान तीव्र पारेको छ । उम्मेदवार अर्जुन थापाले हिमाली जिल्लाको मान्यता व्यवहारमा उतार्दै विकासको पहुँच नपुगेका बस्तीलाई प्राथमिकतामा राखेर पूर्वाधार निर्माण, सडक स्तरोन्नति र आधारभूत सेवाको विस्तारमा विशेष पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
उम्मेदवार थापाले कालीगण्डकी कारिडोरले समेटिएको यस गाउँपालिकाको पालिका र वडा कार्यालय जोड्ने मुख्य सडकहरु नै जिर्ण रहेकाले आफु निर्वाचित भएमा पहिलो प्राथमिकता दिने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य कृष्णकुमार विश्वकर्मा र रेशम जुग्जालीले म्याग्दीमा जनतामा रहेको विकासप्रतिको चाहनलाई नेकपाले मात्रै पुरा गर्ने बताउँदै अर्जुन थापालाई बिजयी गराउन आह्वान गर्नुभयो ।
गण्डकी प्रदेश सकारका पुर्वमन्त्री समेत रहनुभएका जुग्जालीले पर्यटकीय स्थल घोरेपानी जोड्ने सडकलाई आफुहरुकै पहलमा स्तरोन्नती योजना सञ्चालन भएको बताउँदै अन्नपूर्णको महभिर, दोसल्ले हुँदै राम्चे नाँगी जोड्ने सडकलाई स्तरोन्नती गर्नका लागि नेकपाका उम्मेदवारलाई मतदान गर्न आग्रह गर्नुभयो । उहाँले सबै नयाँ राम्रा र सबै पुराना नराम्रा नहुने बताउँदै उम्मेदवारका योजना र प्राथमिकता हेरेर मतदान गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य हरिबहादुर भण्डारीले गाउँ बस्तीमा रहेका सडक, खानेपानी, शिक्षा, स्वास्थ्यका समस्यालाई हल गर्न र कृषि, पर्यटन र जलविद्यूत क्षेत्रबाट समुदायको जीविकोपार्जनमा सुधार ल्याउनका लागि नेकपाले भूमिका खेल्ने बताउनुभयो ।
कार्यक्रममा नेकपाका नेता विनोद केसी, जिल्ला संयोजक शेरबहादुर केसी लगायतका नेताहरुले नयाँ पुस्ताको भावना र म्याग्देली जनताको विकासप्रतिको चाहनलाई सम्बोधन गर्न नेकपाका उम्मेदवार युवा नेता थापा सक्षम रहेकोमो जोड दिनुभयो । चुनाबी अभियानमा नेकपाका नेता बागबीर पाईजा,पूर्ण पाईजा लगायतका नेताहरुको समेत सहभागीता रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्