दुर्गम बस्ती प्राथमिकतामा पर्ने उम्मेदवार श्रेष्ठको घोषणा
नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै धवलागिरि गाउँपालिकाको लुलाङ, मुदी र खिबाङमा चुनावी आमसभा तथा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ ।
‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ भन्ने नारासहित आयोजित कार्यक्रममा प्रतिनिधि सभा सदस्यका उम्मेदवार हरिकृष्ण श्रेष्ठ र समानुपातिक उम्मेदवार नरदेवी पुनले घोषणापत्रअनुसार म्याग्दीको समग्र विकासमा केन्द्रित हुने प्रतिबद्धता जनाएका छन् । दुर्गम बस्तीलाई प्राथमिकतामा राखेर सडक, खानेपानी, शिक्षा र स्वास्थ्यलगायत पूर्वाधार विकासलाई तीव्रता दिने उनीहरुको भनाइ छ ।
लुलाङमा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै प्रतिनिधि सभामा एमाले म्याग्दीका उम्मेदवार हरिकृष्ण श्रेष्ठले घोषणापत्र अनुसार म्याग्दी जिल्लाको विकासमा पार्टी र आफू लाग्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले जिल्लामा पिछडिएका क्षेत्र, गाउँवस्ती र टोलको विकासमा विशेष ध्यान दिने बताउँदै आफू निर्वाचन हार्दा पनि म्याग्देली जनताको साथमै रहेर जिल्लाको सामाजिक तथा हरेक क्षेत्रको विकास र प्रवद्र्धनमा जोड दिएको बताउनुभयो ।
नेकपा एमालेको केन्द्रीय सदस्य समेत रहनुभएका एमाले उम्मेदवार श्रेष्ठले भन्नुभयो, ‘मैले जिल्लामा रहेर सामाजिक संघसंस्थाको नेतृत्व गर्दा पनि दुर्गम क्षेत्रका लागि काम गरेको थिएँ । हिजो जिल्लाको राजनीतिक संयन्त्रमा रहँदा समेत विकट वस्तीमा सडक विस्तार, खानेपानी र पुल निर्माणलगायत विकासमा पहल गरेको हो । अहिले म पुनः उम्मेदवार बनेर निर्वाचनको मैदानमा आएको छु । यहाँहरुले थप काम गर्नका लागि पक्कै पनि मलाई र एमाले पार्टीलाई विश्वास गरेर भोट दिनुहुनेछ । मैले जिते भने अझ बढी दुर्गम क्षेत्रलाई प्राथमिकता दिएर काम गर्नेछु ।’
सोही कार्यक्रममा एमालेको तर्फबाट समानुपातिक उम्मेदवार तथा पूर्वमन्त्री नरदेवी पुनले बोल्दै विगतको समयदेखि नै एमालेले म्याग्दीमा विकासका धेरै कामहरु गरेकाले अबको निर्वाचनमा पनि एमालेलाई जिताएर विकास निर्माणका थप कामहरु गर्ने वातावरण बनाउने जिम्मा आम मतदाताहरुको रहेको बताउनुभयो । उहाँले आफू सांसद र मन्त्री रहुन्जेल निष्ठापूर्वक र इमान्दारिताका साथ देश विकास तथा जनताको पक्षमा काम गरेको बताउँदै जिल्लामा सडक विस्तार, शिक्षाको विकास, पक्की पुल निर्माण, स्वास्थ्यलगायत विभिन्न योजनाहरु ल्याएको बताउनुभयो । अबको निर्वाचनमा पनि सूर्यध्वजावाहक एमालेका उम्मेदवारलाई म्याग्देली जनताले जिताउने उहाँको भनाइ छ ।
कार्यक्रम अनुसार एमालेले लुलाङमा चुनावी आमसभाको साथमा घरदैलो तथा मतदाता भेटघाट गरेको थियो भने उम्मेदवारसहितको टोलीलाई स्थानीयले बाजागाजासहित भव्य स्वागत गरेका थिए । यसैगरी मुदी र खिबाङमा समेत एमालेले चुनावी सभा तथा मतदाता भेटघाट र घरदैलो कार्यक्रम सम्पन्न गरेको जनाएको छ । निर्वाचनलक्षित कार्यक्रममा एमाले जिल्ला सचिव थमसरा पुन, राष्ट्रिय यूवा संघ म्याग्दीका अध्यक्ष विजय घर्तीसहित स्थानीय नेता, कार्यकर्ता लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्