म्याग्दीमा एकहजार ७१ कर्मचारी परिचालन हुने
ठाकुरप्रसाद आचार्य
यही फागुन २१ गते हुनगइरहेको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा म्याग्दीमा एकहजार ७१ जना कर्मचारी परिचालन गर्ने तयारी भएको छ । निर्वाचन मिति नजिकिँदै गर्दा परिचालन गर्ने कर्मचारीको विवरण संकलन गर्न थालिएको हो ।
निर्वाचनमा तीनवटै तहमा रहेका स्थायी कर्मचारीहरुलाई परिचालन गरिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । ७ सय २० जना सरकारी कर्मचारी र ३ सय ५१ जना स्वयंसेवक कर्मचारी परिचालन हुने छन् । जिल्ला निर्वाचन अधिकारी बिमलप्रसाद गौतमका अनुसार निर्वाचनमा संघ,प्रदेश, स्थानीय तहका कर्मचारी र शिक्षकहरु खटाइने भएको हो । स्थायी कर्मचारी अपुग भएमा अस्थायी तथा करारका कर्मचारी समेत निर्वाचनमा खटाइने भएको छ ।
निर्वाचनमा खटाइने कर्मचारीको विवरण संकलन गरिएको र अन्तिमरुप दिने काम भइरहेको जिल्ला निर्वाचन अधिकारी गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार एकवटा मतदान केन्द्रमा ६ जना सरकारी कर्मचारी र ३ जना स्वयंसवेक कर्मचारी गरी ९ जना परिचालन गरिने भएको छ ।
एकसय २० मतदान अधिकृत, एकसय २० सहायक मतदान अधिकृतसँगै एउटा मतदान केन्द्रमा सहायक कर्मचारी र स्वयमसेवक तीन, तीन जना र एक जना कार्यालय सहयोगी गरी नौ जना कर्मचारी खटाइने तयारी गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मतदान स्थलको पहिलो घेरा र मतपेटिकाको सुरक्षामा नेपाल प्रहरी खटिने भए पनि बाहिरी घेरामा आवश्यकताका आधारमा सशस्त्र प्रहरी र नेपाली सेनासमेत खटाउने गरी तयारी गरिएको छ ।
एक निर्वाचन क्षेत्र रहेको म्याग्दी बेनी नगरपालिकामा २२,५७८,मंगलामा १३,४४६,मालिकामा १३,३५५,रघुगङ्गामा १४,१५८,अन्नपूर्णमा १२,०२९ र धवलागिरीमा १०,८३१ गरेर ८६ हजार तीन सय ९७ मतदाता छन् । ४२ हजार तीन सय ३२ जना पुरुष, ४४ हजार ६४ जना महिला र एक जना यौनिक तथा लङ्ैगिक अल्पसङ्ख्यक समुदायका मतदाता रहेका छन् ।
जिल्लाभर ८२ वटा मतदानस्थल र १ सय २० वटा मतदान केन्द्र कायम गरिएको छ । जिल्ला निर्वाचन सुरक्षा समितिले भौगोलिक अवस्था र सुरक्षाका हिसाबले १५ वटा अतिसंवेदनशील,५८ वटा संवेदनशील र ८ वटा मतदानस्थल लाई समान्य भनेर बर्गिकरण गरेको छ ।
प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यको नेतृत्वमा रहेको निर्वाचन सुरक्षा समितिले अहिले सम्म जिल्लाका ७८ भन्दा बढी मतदानस्थलको स्थलगत रुपमा अनुगमन गरिसकेको छ । निर्वाचनमा एक स्वतन्त्र सहित १२ जना उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन् ।
प्रतिक्रिया राख्नुहोस्