म्याग्दीमा चुनावी दौडधूप ः आशीर्वाद लिँदै उम्मेदवार,जवाफ खोज्दै मतदाता
ठाकुरप्रसाद आचार्य
बेनी,फागुन ५ गते ।
यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा म्याग्दीमा चुनावी माहोल तातिएको छ । उम्मेदवारहरु घरदैलो अभियानमा व्यस्त छन् । ज्येष्ठ नागरिकलाई ढोग्दै, आशीर्वाद लिँदै र मतदातासँग दुःखसुख साट्दै मत मागिरहेका छन् । मतदाताले यसपाली भने विकास निर्माण, सुशासन, राजनीतिक स्थिरता र भ्रष्टाचार नियन्त्रणबारे उम्मेदवार सँग स्पष्ट जवाफ माग्दै घरआँगनमै कडा प्रश्न गरेका छन् ।
घर आँगनमा आएका उम्मेदवारहरु समक्ष मतदाताहरुले विकास निर्माण,सुशासन कायम,राजनीतिक स्थिरता र भ्रष्टाचार नियन्त्रण कसरी हुन्छ भन्ने जस्ता प्रश्नहरु गरेका छन् । मतदाताहरुले २०८४ मा हुने निर्वाचन किन दुई वर्ष अगावै गर्नुपरेको जस्ता प्रश्नहरु उम्मेदवार र दलका नेताहरु समक्ष तेस्राएका छन् ।
नेपाली कांग्रेसका उम्मेदवार कर्णबहादुर भण्डारी,नेकपा एमालेका उम्मेदवार हरिकृष्ण श्रेष्ठ,नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार अर्जुन थापा,राष्ट्रिय प्रजातन्त्र पार्टीराप्रपा) का उम्मेदवार डम्बर सुवेदी,नेकपा माओवादीका उम्मेदवार क्षेत्रबहादुर घिमिरे र स्वतन्त्र उम्मेदवार डा. महावीर पुनले घरदैलो अभियानलाई तिव्रता दिएका छन् । मतदाताहरुको घरघरमा पुगेका उम्मेदवारहरुले मतदातालाई फकाउन विभिन्न उपयाहरु गरेका छन् ।
उम्मेदवार बिहानदेखि राति अबेरसम्म टोलटोलमा गई चुनावी प्रचारप्रसारमा व्यस्त देखिन्छन् । विशेषगरी घरदैलो कार्यक्रमलाई उम्मेदवारले तीव्रता दिएका छन् । जसरी भए पनि नतिजा आफ्नो पक्षमा पार्ने प्रतिस्पर्धामा उत्रिएका उम्मेदवार भ्याइनभ्याइ दौडधूप गरिरहेका छन् । एकै दिन धेरै वस्ती र टोलहरुमा उम्मेदवारहरु पुगिरेहका छन् ।
फागुन ४ गते अघि चुनावी प्रचारप्रसारको कार्यक्रम गर्न नपाइने भएकाले अहिलेलाई उम्मेदवार सहित घरदैलो र भेटघाट कार्यक्रमलाई तिव्रता दिएको नेकपा एमाले म्याग्दीका उपाध्यक्ष प्रमोद श्रेष्ठले बताउनुभयो । उम्मेदवारसँगै घरदैलोमा पुग्नुभएका श्रेष्ठले मतदाताहरुले विकास निर्माण भन्दा पनि राजनीतिक स्थिरता र सुशासनका मुद्दाहरु उठाएको उहाँले बताउनुभयो । मतदाताले देशमा राजनीतिक स्थिरता नभएका कारण समस्या उत्पन्न भएकाले यसका लागि दलहरुले ध्यान दिनुपर्ने सुझाव दिएको उहाँको भनाई छ ।
नेपाली कांग्रेसले पनि यतिखेर उम्मेदवार सहितको चुनावी अभियानलाई तिव्रता दिएको छ । कांग्रेसका उम्मेदवार कर्णबहादुर भण्डारीले विशेष महाधिवेशन पछि कांग्रेसले सांगठानिक रुपमा आमुल परिवर्तन गरेर चुनावमा आएकाले मतदान गर्न मतदाता समक्ष अनुरोध गर्दै घरदैलो गरिरहनुभएको छ ।
कांग्रेस उम्मेदवार भण्डारीले भन्नुभयो, ‘‘म अहिले दैनिक रुपमा मतदाताहरुको घरघरमा पुगेको छु । मतदाताहरुले मुलुकमा सुशासन कायम,भ्रष्टाचार नियन्त्रण,राजनीतिक स्थिरता र विकासका मुद्दाहरु उठाउनुभएको छ ।’’ चुनावप्रति मतदाताको उत्साहपूर्ण चासो देखिएको उहाँको भनाई छ ।
एक निर्वाचन क्षेत्र रहेको म्याग्दी बेनी नगरपालिकामा २२५७८,मंगलामा १३४४६,मालिकामा १३३५५,रघुगङ्गामा १४१५८,अन्नपूर्णमा १२०२९ र धवलागिरीमा १०८३१ गरेर ८६ हजार तीन सय ९७ मतदाता छन् । ४२ हजार तीन सय ३२ जना पुरुष, ४४ हजार ६४ जना महिला र एक जना यौनिक तथा लङ्ैगिक अल्पसङ्ख्यक समुदायका मतदाता रहेका छन् ।
जिल्लामा ८२ वटा मतदानस्थल र १ सय २० वटा मतदान केन्द्र कायम गरिएको छ । जिल्ला निर्वाचन सुरक्षा समितिले भौगोलिक अवस्था र सुरक्षाका हिसाबले १५ वटा अतिसंवेदनशील,५८ वटा संवेदनशील र ८ वटा मतदानस्थल लाई समान्य भनेर बर्गिकरण गरेको छ ।



प्रतिक्रिया राख्नुहोस्