बेनीमा परम्परागत शैलीमा प्रतिक्षालय निर्माण
ठाकुरप्रसाद आचार्य
म्याग्दी,साउन १७ गते ।

बेनीमा कलात्मक शैलीमा यात्रु प्रतिक्षालय (फल्चा) निर्माण गरिएको छ । सामाजिक जमघट र विश्राम स्थलका लागि सदरमुकाम बेनी बजार स्थित पुस्तकालय चोकमा परम्परागत शैलीमा प्रतिक्षालय –फल्चा) निर्माण गरिएको हो । भक्तपुरे इट्टा र काठको प्रयोग गरेर परम्परगत नेवारी वास्तुकला शैलीमा निर्माण गरिएको प्रतिक्षालय(फल्चा) आकर्षक छ ।
चोकमा रहेको खाली ठाउँको सदुपयोग गर्दै बेनी नगरपालिकाले निर्माण गरेको प्रतिक्षालयले बेनी बजार घुमफिरका लागि आएका सर्वसाधारण तथा पर्यटकहरुलाई विश्राम गर्न सहज हुने विश्वास गरिएको छ ।

नगरपालिकाले गत आर्थिक वर्षमा विनियोजन गरेको १३ लाख रुपियाँ बजेटबाट प्रतिक्षालय निर्माण गरेको हो । प्रतिक्षालय निर्माण भएपछि बजारवासीको दैनिक आवागमन, विश्राम तथा सामाजिक जमघटका लागि सहज हुने अपेक्षा गरिएको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बताउनुभयो ।

प्रतिक्षालय बनाउनका करिब २० लाख रुपियाँ लागत लाग्ने अनुमान गरेका छौं बेनी नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष रमेश कुमार श्रेष्ठले भन्नुभयो, ‘‘ प्रतिक्षालय बनाउन गत आवमा वडाबाट विनियोजन भएको १३ लाख रुपियाँ खर्च भइसकेको छ । पूर्णता दिन अझै ६ देखि ७ लाख रुपियाँ आवश्यक पर्दछ । चालु आवमा बजेटको व्यवस्थापन गरेर पूर्णता दिने योजना छ । प्रतिक्षालयमा आँखीझ्याल लगायतका पूर्वाधार बनाउन बाँकी नै छ ।’’ प्रतिक्षालय बनेसँगै गाउँबाट बजार आएकाहरूका लागि विश्राम गर्न सहज हुने उहाँले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्