तस्विर र भिडियोमा हेर्नुहोस् मुस्ताङको ढुम्बा ताल
ठाकुरप्रसाद आचार्य /मुस्ताङ
जेठ ३ गते ।
विहानीपख निलगिरि हिमालको छायाँ टलक्क टल्किने । तालको पश्चिम तिर धौलागिरि र मानापाथी हिमालका साथै हिउँले ढाकिएका सेताम्मै पहाडको दृश्य ।
तालबाट देखिने जोमसोम बजारको सुन्दरता । यो हो हिमालपारीको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका ५ स्थित प्राकृतिक सुन्दरताले भरिपूर्ण ढुम्बा तालको दृश्य ।
पछिल्लो समय मुस्ताङको भ्रमणमा आउने स्वदेशी तथा विदेशी पर्यटकको रोजाईमा पर्न थालेपछि ताल पर्यटनको केन्द्र बन्न थालेको हो ।
मुस्ताङ जाने जो कोही ढुम्बा ताल नपुगी फर्किदैनन् । तालको सुन्दरतामा रमाउने र तस्विर खिचेर सामाजिक सञ्जालमा पोष्ट गर्ने धेरैको रहर हुन्छ ।
तालको सुन्दरता देखेर आफू मोहित भएको पहिलो पटक पुग्नुभएकी पर्वतकी सञ्चारकर्मी माया अधिकारीले अनुभव सुनाउनुभयो । ‘साच्चिकै स्वर्गको टुक्रा जस्तै लाग्यो कुनै शब्दमा बयान गर्न सक्दीन ।’
मुस्ताङको सदरमुकाम जोमसोमदेखि ५ किलोमिटर पूर्वमा पर्ने ढुम्बा ताल पछिल्ला केही वर्ष यता चर्चामा आउन थालेको हो ।
निलो रङमा देखिने ताल मुटु आकारको भएकाले मुस्ताङको भ्रमणमा आएका युवायुवतीहरु तालमा पुगेर एकआपसमा माया साटासाट गर्ने गर्दछन् ।
यातायात सञ्जाल सँग मुस्ताङ जोडिए सँगै पर्यटक आगमनमा वृद्धि भएको छ । उपल्लो मुस्ताङ,कोरला र मुक्तीनाथ पुग्ने अधिकांश पर्यटकहरु ढुम्बा ताल पुग्ने गर्दछन् । ढुम्बा ताल पुग्नका लागि सडक विस्तार गरिएको छ । भने बास वस्नका लागि होटल खोलिएको छ ।
तालको सुन्दरतालाई चलचित्रमा उर्तान पछिल्लो समय ढुम्बा तालको मनोरम दृश्य छायाँकन हुन थालेको छ । नेपाली चलचित्र ‘जेरी’ को पहिलोपटक यही तालमा छायाँङ्कन भएपछि तालको थप चर्चा हुन थालेको हो ।
तालले नयाँ पुस्तालाई आकर्षीत गरेको छ स्थानीय युवती रुपीका थकालीले भन्नुभयो ‘मुस्ताङ आउने प्रायःयुवायुवतीहरु ढुम्बा ताल पुग्छन् ।’ ढुम्बा तालको अवलोकन नगरी फर्किदा भ्रमण अपुरो हुने उहाँको भनाई छ ।
समुद्र सतहदेखि करिब ३ हजार मिटरको उचाइमा रहेको ढुम्बा तालको लम्बाइ १ सय ६० मिटर र चौडाइ एकसय ३० मिटर छ । १० मिटर गहिराई भएको ताललाई फन्को लगाउन १५ मिनेट लाग्छ ।
तालबाट पूर्वमा नीलगिरी र पश्चिममा धौलागिरी हिमाल दृश्यावलोकन गर्न सकिन्छ । तालको अवलोकनमा पुग्ने पर्यटकको बसोबासको व्यवस्थाका लागि होटल तथा लजको व्यवस्था गरिएको छ । यहाँ देनिक रुपमा एकसय देखि पाँचसय सम्म पर्यटकहरु आउने गरेको पत्रकार महासंघ मुस्ताङ शाखाका अध्यक्ष सुन्दरकुमार थकालीले बताउनुभयो ।
ताल सम्म पुग्नका लागि जोमसोमबाट सडक यातायात पुगेको छ । तालको संरक्षण र भौतिक पूर्वाधारको निर्माणका लागि घरपझोङ गाउँपालिकाले डिपिआर तयार पारेको छ ।
ताल मुस्ताङको नै गहना भएकाले यसको संरक्षण र प्रचारप्रसार गरी पर्यटनको केन्द्र बनाउन लागिएको घरपझोङ गाउँपालिकाकी उपाध्यक्ष सर्मिला गुरुङले बताउनुभयो ।
तालको सौन्दर्यलाई बढाउन भौतिक पूर्वाधारको निर्माण गर्न लागिएको उहाँले बताउनुभयो । तालको वरपरका क्षेत्रलाई समेटेर पार्क निर्माण र रातको समयमा लाइटको व्यवस्था गर्ने योजना रहेको उपाध्यक्ष गुरुङले बताउनुभयो ।
ढुम्बा ताललाई पर्यटनको केन्द्र बनाउँछौं
शर्मिला गुरुङ
उपाध्यक्ष
घरपझोङ गाउँपालिका मुस्ताङ
ढुम्बा ताल मुस्ताङको प्राकृतिक सम्पत्ति हो । तालको संरक्षण र प्रचाप्रसारका लागि गाउँपालिकाले योजना बनाएको छ । ताल संरक्षणका लागि गाउँपालिकाले डिपिआर तयार पारी ताल वरपर भौतिक पूर्वाधारको निर्माण गर्ने सोच राखेका छौं । पछिल्लो समय तालको प्रचारप्रसार भएकाले मुस्ताङ आउने पर्यटकहरु तालको अवलोकन गर्न पुग्ने गर्दछन । प्राकृतिक र धार्मिक हिसावले पनि तालको ठूलो महोत्व छ । 




प्रतिक्रिया राख्नुहोस्