म्याग्दीमा संकटापन्न वन्यजन्तु हाब्रे भेटियो

सन्तोष गौतम /विकल्प
म्याग्दी,मंसिर ९ गते ।
म्याग्दी जिल्लामा संकटापन्न अवस्थामा रहेको जंगली जनावर हाब्रे (रेडपाण्डा) भेटिएको छ ।
विश्व बन्यजन्तु कोषको सहयोगमा हरियो वन कार्यक्रम र रेडपाण्डा नेटवर्कका साथै हिमाले संरक्षण मञ्चले हालैमात्र गरेको अध्ययनका क्रममा म्याग्दीमा हाब्रेको उपस्थिती भेटिएको हो ।
लुलाङ गाविसको मरेनी सामुदायीक वन, ढोरपाटन शिकार आरक्षको जलजला, गुर्जा र मुदी गाविसको जंगलमा हाब्रे भेटिएको रेडपाण्डा नेटवर्कका अनुसन्धानकर्ता बद्री बरालले जानकारी दिनुभयो ।

gallery-redpanda-03

बरालका अनुसार लज्जालु स्वभावको वन्यजन्तु मानिने हाब्रेको दिसा भेटिएका आधारमा बसोबास रहेको पुष्टि भएको हो । चौडापात र कोडदारी भएको मिश्रीत जंगल र निगालोको झाडीमा बस्ने हाब्रेलाई स्थानीयबासीले ओक्रा भन्ने गरेका छन् ।

समुद्री सतहबाट दुई हजार देखि चार हजार ८०० मिटरको उचाईमा १० देखि २५ डिग्री सेल्सीयस तापक्रममा बसोबास गर्ने हाब्रेलाई सरकारले राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण ऐन २०२९ले संरक्षण गरेको छ ।
म्याग्दीका साथै चितवन, अन्नपूर्ण भूपरिधिमा रहेका अन्य नुवाकोट, रसुवा, धादीङ, लमजुङ, र बागलुङ जिल्लामा पनि रेडपाण्डाको बसोबास रहेको भेटिएको अनुसन्धानकर्ता सरोज श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार रेडपाण्डाको बसोबास रहेको पुष्टि भएपछि यसको संरक्षणका लागि समुदाय र विद्यालय स्तरमा जनचेतनामुलक कार्यक्रम सुरु गरिएको छ ।

हाब्रे अथवा रेडपाण्डाको महत्व, अहिलेको अवस्था, संरक्षण गर्नुपर्ने आवश्यकता, चोरी शिकारी गरेमा हुने कानुनी कारबाही लगायतका विषयमा जानकारी गराउन पहिलो चरणमा गुर्जा, लुलाङ र मुनामा चेतनामुलक कार्यक्रम सञ्चालन गरिने श्रेष्ठले बताउनुभयो ।

मरेनी सामुदायीक वनको कार्ययोजनामा रेडपाण्डाको संरक्षण सम्बन्धि योजना थप गरिने भएको छ । सो क्षेत्रलाई रेडपाण्डामा आश्रीत पर्यापर्यटकीय स्थलको रुपमा विकास गर्न सकिने सम्भावना रहेको अनुसन्धानकर्ता बराल बताउनुभयो ।

निगालोको टुसालाई आहराको रुपमा प्रयोग गर्ने हाब्रेको संख्या नेपालमा पाँच सय देखि एक हजार वटा रहेको अनुमान गरिएपनि २३७ वटाको मात्र एकिन भएको छ । विश्वमा नेपाल, चिन, भारत, भुटान र म्यानमारमा मात्र हाब्रेको बासस्थान छ । नेपालमा एलुरेन्स फ्युजन्स जातको हाब्रे रहेको छ ।