संकट समाधानका लागि राष्ट्रिय एकताको आवश्यकता– उपराष्ट्रपति पुन

सन्तोष गौतम/विकल्प
कफलडाँडा(म्याग्दी) ८ मंसिर ।
उपराष्ट्रपति नन्दबहादुर पुनले देशको संकट समाधानका लागि राष्ट्रिय एकताको आवश्यकता रहेको बताउनु भएको छ ।

म्याग्दीको राम्चे गाविस ७ काफलडाँडाको करबाकेलीमा मंगलबार पुन समाज नेपालले आयोजना गरेको कार्यक्रममा मन्तब्य व्यक्त गर्नुहुदै उपराष्ट्रपती पुनले संकटको अवस्थामा आम नेपालीहरुमा धैर्यता, संयमता, आत्मविश्वास र एकताको आवश्यकता रहेको बताउनुभयो ।

SG_Myagdi Deupti President Nanda BDR Pun 2

मित्रराष्ट्र भारतसंग कुटनीतीक पहल गरी सिमा क्षेत्रमा देखिएको आपुर्तीको समस्या समाधान गर्नुपर्ने उपराष्ट्रपती पुनको भनाई छ । उहाँले मित्रराष्ट्रबाट अप्ठ्यारो अवस्थाको सृजना गरिदा अत्यावश्यक औषधि, ईन्धन लगायतको अभावले आम नेपाली समुदायले कष्ट ब्यहोर्न बाध्य भएकोमा दुख व्यक्त गर्नुभयो ।

‘मित्रराष्ट्रसंगको अप्ठ्यारालाई पनि सरकारले कुटनितीक रुपमा पहल गरेर समाधान खोजीरहेको छ’ पुनले भन्नुभयो ‘तराई क्षेत्रको समस्यालाई पनि वार्ता र छलफल गरि राजनितिक रुपमा समाधान खोजीनुपर्छ ।’

संबिधान जारी भएपश्चात नेपालमा राष्ट्रिय स्वाधीनताको प्रश्न गम्भिर रुपमा उठेको भन्दै पुनले सरकार, राजनितिक दल, नागरीक समाज र विश्वभर रहेका नेपालीहरु एकतावद्ध भएर अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो ।

भुकम्प गएको समयमा मित्रराष्ट्रहरुबाट भएको सहयोगको प्रशसा गर्दै उहाँले नेपाललाई पुननिर्माण र आर्थिक सम्बृद्धीको बाटोमा अघि बढाउन पनि सबै मित्रराष्ट्रबाट सक्दो सहयोग हुने विश्वास व्यक्त गर्नुभयो ।

म्याग्दीको जलविद्युत र पर्यटन क्षेत्रको विकासका लागि सरकारको ध्यानाकर्षण गराउने प्रतिवद्धता जनाउँदै उहाँले पुन समुदायको ऐतिहाँसीक तथा धार्मीक धरोहरको रुपमा रहेको करबाकेलीलाई प्रर्वद्धनमा सक्दो सहयोग गर्ने बताउनुभयो ।

त्यसैगरी भाषा, संस्कृती र पहिचानको संरक्षण गर्न सबै समुदायले चासो दिनुपर्ने उपराष्ट्रपति पुनले आग्रह गर्नुभयो । सोही कार्यक्रममा बोल्दै पुर्वमन्त्री तथा पुन समाजका संरक्षक उत्तम पुनले सामाजिक कामका लागि सबै एक भएर लाग्नुपर्ने बताउनुभयो । उहाँले पुन समुदायको छुट्टै भाषा, संस्कृती, रितीरिवाज रहेकाले मगर अन्तरगतको उपसमूहमा सुचिकृत गर्न माग गर्नुभयो ।

उपराष्ट्रपति पुनले करबाकेली थान परिसरमा स्थापना गरिएको सुनगिद्धको प्रतिमाको अनावरण गर्नु भएको थियो । उहाँले पुर्व गोर्खा सैनीक दलबहादुर पुनले लेख्नुभएको गोर्खा सैनीकमा नेपालीको दुई सय वर्ष नामक पुस्तकको बिमोचन गर्नुभयो ।

कार्यक्रममा उपराष्ट्रपति पुनलाई पुन समाज नेपाल, एकिकृत नेकपा माओवादी, सुर्योदय युवा कल्व र राम्चेका बासिन्दाहरुले अभिनन्दन सहित भब्य सम्मान गरेका थिए । सोही कार्यक्रममा स्थानीयबासीहरुले पुन मगर समुदायको जातीय पहिचान झल्कने पुख्यौली नृत्य प्रस्तुत गरेका थिए ।