आज उपराष्ट्रपति पुन म्याग्दी राम्चेको करबाकेली मन्दिरमा आउने

विकल्प / म्याग्दी
मंसिर ८ गते । आज उपराष्ट्रपति नन्द किशोर पुन म्याग्दीको राम्चे गाविस–७ काफलडाँडामा पुनमगरहरूको कुल देवता करबाकेली मन्दिरमा आउनुहुने भएको छ । मन्दिरमा हुने कुलपुजामा प्रमुख अतिथिका रुपमा उपराष्ट्रपति आउन लागेको करवाकेली बाबा संरक्षण समितिका अध्यक्ष आश बहादुर पाईजाले जानकारी दिनुभयो ।

SAM_8588
हामीले पुजालाई भब्य बनाउने तयारीमा जुटेका छौ पाईजाले भन्नुभयो ।
उहाँका अनुसार मंसिर ७ गते राती १२ बजेबाट पुजा सुरू हुनेछ । कुलपुजामा सहभागि हुने विभिन्न जिल्लाका साथै विदेशमा रहेको पुनमगरहरू समेत आउने समितिले जनाएको छ । मगर समुदायबाट उपराष्ट्रपति जस्ता हैसियतामा पुगेलगत्तै प्राथमिकतामा राखेर मन्दिरमा आउने खवरले स्थानीय समेत उत्साहित भएका छन् । पुन आउने भएपछि जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
स्मरण रहोस् पुन माओवादीको जनयूद्धमा प्रमुख सैन्य कमाण्डरका रुपमा २०६० साल चैत्र ७ गते म्याग्दी आक्रमणको नेतृत्व गर्नुभएको थियो ।
कुलपुजामा बलीका साथै विभिन्न खेल समेत सञ्चालन गरिने छ । ताराखेल, पुख्यौली नृत्य सहित अन्य कार्यक्रम समेत रहेको छ । पुनमगर समुदायको कुलदेवता करबाकेली बाबाको अवसान भएको स्थान मानिने काफलडाँडामा स्थानिय तथा विदेशमा रहेका पुन समुदायको सक्रियतामा एक करोडको लागतमा मन्दिरको निर्माण गरिएको थियो । समुन्द्रि सहतदेखि २ हजार २ सय मिटरको उचाईमा अवस्थित मन्दिरबाट धौलागिरी, निलगिरी, माछापुच्छ्रे, अन्नपूर्ण, टुकुचे लगायत १० वटा हिमश्रृङखलाको अवलोकन गर्नुका साथै मगर समुदायको धार्मीक आस्थाको केन्द्र तथा पर्यटकीय हिसावले महत्वपुर्ण रहेको छ ।

प्रसिद्ध धार्मिकस्थल गलेश्वरधामबाट केवलकार लैजाने महत्वकांक्षी योजनाका कारण समेत चर्चामा रहेको थियो । स्थानीय प्रबिधी र सिपको प्रयोगबाट निर्माण गरिएको मन्दिरमा बहुमूल्य धातुका जलप लगाइएको मगर समुदायका देवीदेवता करबाकेली, बिमला, फिमला, रामचन र कुलचनका मुर्ती राखिएका छन् ।