तराईलाई पहाडबाट अलग गर्ने माग पुरा हुँदैन – उपप्रधानमन्त्री केसी

सन्तोष गौतम/विकल्प SG_Myagdi DPM Chitra BDR KC 2
मंसिर ७ गते । उपप्रधान, सहकारी तथा गरिवी निवारण मन्त्री चित्रबहादुर केसीले तराईलाई हिमाल र पहाडबाट अलग गराउने आन्दोलनरत मधेशी मोर्चाको माग पुरा गर्न नसकिने बताउनु भएको छ ।

म्याग्दीको बेनीमा सोमबार बिहान आयोजित कार्यक्रममा मन्त्री केसीले मधेशी मोर्चाले उठाएका धेरै माग संबिधान र संसोधन प्रस्ताव मार्फत सम्बोधन भएको बताउनुभयो ।

वार्ताको माध्यमबाट मधेशमा देखिएको समस्या समाधान गर्न सरकारले पहल गरेको जानकारी गराउदै मन्त्री केसीले तराईका २२ जिल्लालाई हिमाल र पहाडबाट अलग गराउने मोर्चाको माग पुरा गर्न नसकिने स्पष्ट पार्नुभयो ।
मधेश आन्दोलन त्यहाँका पिछडिएका जनताका लार्गि खसी देखाएर फर्सी पकाएको’ जस्तो भएको मन्त्री केसीले टिप्पणी गर्नुभयो । उहाँले नाकाबन्दीको समस्या समाधानका लागि सरकारले वार्ता र कुटनिटक पहल गरिरहेको बताउँदै संकटको सबैले मिलेर सामना गर्न आव्हान गर्नुभएको छ ।

देशलाई संकट परेको अवस्थामा सुशासन कायम गर्न, तस्करी र कालोबजारी नियन्त्रण गर्न आग्रह गर्नुभयो । सरकारले भारतसंगको ब्यापार परनिर्भरताको अन्त्य गर्न पहल गरिरहेको जानकारी दिनुभयो ।

भारतसंग मात्र परनिर्भर रहनुपर्ने नितिका कारण नाकाबन्दीपछि संकटको अवस्था सिर्जना भएकोले यसबाट पाठ सिकेर राष्ट्रियता, अखण्डता, स्वाधिनता र स्वाभिमानको रक्षा गर्न सबै नेपाली एक हुनुपर्ने राष्ट्रिय जनमोर्चाका अध्यक्ष समेत रहनुभएका केसीको भनाई थियो ।
मन्त्री केसीलाई राष्ट्रिय जनमोर्चा म्याग्दीका कार्यकर्ताहरुले बेनीमा स्वागत गरेका थिए । उहाँले कर्मचारी मिलन केन्द्रमा भएको कार्यालय प्रमुखहरुसंगको भेटघाटमा सुशासन कायम गर्दै, सहज, छिटो छरितो र प्रभावकारी रुपमा सेवा प्रवाह गर्न निर्देशन दिनुभयो । यसैगरी मन्त्री केसीलाई म्याग्दी उद्योग वाणिज्य संघले स्वागत तथा भेटघाट कार्यक्रमको आयोजना गरि जिल्लाको विकासका लागि पहल गर्न ध्यानाकर्षण गराएको छ ।

संघका अध्यक्ष जिवन बहादुर विश्वकर्माको अध्यक्षता र महासचिव राजेश शाक्यको सञ्चालनमा भएको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य प्रमोद श्रेष्ठले मुस्ताङ स्थित कोरला नाका सञ्चालनमा ल्याउन सडक लगायतका पुर्वाधार तयार गर्न आवश्यक रहेकोमा ध्यानाकर्षण गराउनुभयो ।

मन्त्री केसीले सरकारले कोरला नाका सञ्चालनका लागि दु्रतरुपमा काम र आवश्यक प्रक्रिया अघि बढाएको जानकारी गराउनुभयो । धौलागिरी अञ्चलबाट पहिलो पटक सरकारको उच्च पदमा पुग्नुभएका केसी तिन दिनसम्म गृहजिल्ला बागलुङमा आयोजित विभिन्न कार्यक्रममा सहभागि भएर सोमबार राजधानी फर्कनुभएको छ ।