हिदी गाउँमा पहिलो पटक गाडी पुग्दा गाउँमा खुसीयाली

सन्तोष गौतम /विकल्प
म्याग्दी मंसिर ५ गते ।
म्याग्दीको कुहुँ, बाबियाचौर र दरवाङ गाविसको ९ नम्बर वडामा पर्ने हिदी गाउँमा शनिबार पहिलो पटक गाडी पुगेको छ ।

कुहुँ, थाईवाङ हुदै कुहुँ ९ हिदीमा पहिलो पटक पुगेको गाडी र चालकलाई स्थानीयबासीहरुले अबिरजात्रा र फुलमालाले स्वागत गरेका त्यहाँबाट सिद्ध शान्ति माविका शिक्षक ठाकुरप्रसाद तिवारीले जानकारी दिनुभयो ।

DSC09469

स्थानीयबासी र हिदीका पुर्व गोर्खा सैनीकहरुको सक्रियतामा थाईवाङ हुदै हिदी जोड्ने सडकको ट्याक खोल्ने र मर्मत गर्ने काम भएपछि भौगोलिक रुपमा बिकट हिदी गाउँ सडक सञ्चालसंग जोडिएको हो ।

गत वर्ष स्थानीयबासीबाट तिन लाख रुपैयाँ चन्दा संकलन गरेर हिदी सम्म पु¥याइएको सडकलाई हालै गाउँका पुर्व गोर्खा सैनीकहरुको दुई लाख रुपैयाँ सहयोगमा मर्मत गरेर सवारी सञ्चालन हुन सक्ने बनाइएको उपभोक्ता समितिका अध्यक्ष योगबहादुर पुर्जाले बताउनुभयो ।

उक्त सडकबाट हिदीका एक सय ५० घरधुरीलाई सदरमुकाम बेनी आउन जान, आलु, मुला लगायत कृषी उपज निकासी र दैनिक उपभोग्य सामान ढुवानी गर्न सुबिधा पुग्ने जनाइएको छ । उक्त थाईवाङदेखि हिदीसम्म जोडिएको उक्त सडकलाई सल्लान भरजुला, थाईवाङ निर्माणाधिन सडक योजना पुरा भएमा छोटो हुने जनाइएको छ ।

जिविसद्धारा सञ्चालित उक्त योजनाको काम अहिले ईन्धन र आर्थिक अभाव तथा भौगोलिक बिकटताले गर्दा अघि बढ्न सकेको छैन् । हिदी गाउँको दरवाङ र बाबियाचौर तर्फका बस्तीमा पनि सडक विस्तार गर्ने तयारी भएको छ ।