ताजा समाचार:
Search

सुन्तलाका दाना झर्न थालेपछि कृषक चिन्तित

सन्तोष गौतम /विकल्प
म्याग्दी, मंसिर ५ गते ।
बजारमा लैजाने तयारी भएको सुन्तलाका दाना कुहीएर झर्न थालेपछि म्याग्दीका कृषक चिन्तित भएका छन् ।

दानाभित्र किरा लागेर झरेको हो । बगैचामा पतेरो र ‘फ्रुट फ्लाइ’ रोगको प्रकोपले नपाक्दै दाना पँहेलो भएर झर्ने समस्या बढेको कृषकहरुले बताएका छन् । बोटमा फल राम्रो लागेपनि एक महिनादेखि लगातार दाना झर्ने समस्या देखिएको भकिम्ली ५ राखुका कृषक मनकुमारी पुनले बताउनुभयो ।

suntala-tipdaiकृषकहरुका अनुसार बोटबाट बिस प्रतिशत भन्दा धेरै दाना भुईमा झरेको छ । प्रतिकुल मौसम र जलवायु परिवर्तनको असरका कारण सुन्तलामा दाना कुहीएर झर्ने समस्या देखिएको बेनी नगरपालीका १३ बास्कुनाका कृषक भिमबहादुर थापाले बताउनुभयो ।
‘बिक्री गर्ने अवस्थामा सुन्तलाको दाना झर्न थालेपछि कृषकहरु चिन्तित भएका छन’ उहाँले भन्नुभयो ‘सुन्तला बजारमा लैजान नपाउँदै दाना झरेर रुख रित्तिने चिन्ता छ ।’ म्याग्दीको भकिम्ली, बास्कुना, बरंजा, अर्मन, देविस्थान, ताकम, बिम, मुदी, घतान, दोसल्ले, घार, भुरुङ तातोपानी, नारच्याङ र दाना गाविसको ५५६ हेक्टर जमिनमा ब्यवसायीक सुन्तला खेती भएको छ ।

जिल्लाको सबै बगैचामा पतेरो र फ्रुट फ्लाई रोगको समस्या देखिएको बरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद रिजालले बताउनुभयो । दाना झर्ने समस्या थप बढ्न नदिन कृषकहरुलाई झरेका दाना पानीको पोखरीमा राखेर नष्ट गर्न र पासो थाप्न अनुरोध गरिएको छ । बिषादीको पनि प्रयोग गर्ने तयारी भएको अधिकृत रिजालले बताउनुभयो ।

दाना झर्ने समस्याको दिर्घकालीन समाधानका लागि बगैचाको गोडमेल र सरसफाईमा ध्यान दिनुपर्ने कृषी प्राबिधिकहरुको भनाई छ । बोटमा राम्रो फल लागेपनि झरेकाले यस वर्ष जिल्लाको मुख्य फलफुल बाली सुन्तलाको उत्पादनमा हस आउने देखिएको छ ।
गत वर्षको तुलनामा २० प्रतिशत सम्म सुन्तलाको उत्पादन घट्ने कृषकहरुले बताएपनि कृषि विकास कार्यालयले क्षत्तीको विवरण र तथ्याङ्क संकलन गर्ने काम भैरहेको जनाएको छ । गत वर्ष म्याग्दीमा २६५ हेक्टरमा लगाइएको उत्पादनयोग्य सुन्तलाको बोटबाट एक हजार ९४५ मेट्रिक्टन सुन्तला उत्पादन भएको थियो ।

जस मध्य एक हजार ३१६ मेट्रिक्टन जिल्लाभित्र खपत भएको थियो । ५३१ मेट्रिक्टन सुन्तला पोखरा र काठमाडौको बजारमा निकासी भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । विगतका वर्षमा नपाक्दै सुन्तला खरिद गर्न आउने ब्यापारीहरु यसपाली ईन्धन अभाव र ढुवानीको समस्याले गर्दा सम्र्पकमा नआएका बरंजाका कृषक कृष्णलाल सापकोटाले बताउनुभयो ।